‘बुस्टर डोज’ नलगाएर गरिब देशलाई खोप दिन डब्लुएचओको आग्रह
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले धनी देशलाई कोरोनाविरुद्ध लगाइन लागिएको बुस्टर डोज तत्कालका लागि रोक्न आग्रह गरेको छ। दुई डोज लगाइसकिएका आफ्ना नागरिकलाई केही देशले बुस्टर डोज दिने तयारी गरिरहेका बेला डब्लुएचओले तत्कालका लागि यो अभियान रोक्न आग्रह गरेको हो।
डब्लुएचओका प्रमुख डा. टेड्रोस एडहानमले ग्याब्रियससले बुस्टर डोज रोक्न आग्रह गर्दै गरिब देशलाई खोप प्रदान गर्न आग्रह गरे। बुस्टर डोज अभियान रोक्दा खोप लगाउन बाँकी रहेका विश्वका सबै देशका करिब १० प्रतिशत नागरिकले खोप पाउने उनले बताए।
इजरायल, जर्मनी, बेलायतलगायतका अन्य मुलुकले कोरोनाविरुद्धको खोपको बुस्टर डोज दिने तयारी गरिरहँदा टेड्रोसले यसमा चिन्ता व्यक्त गर्दै यसले गरिब राष्ट्रलाई खोपमा अझै पछाडि पार्ने बताए। उनले कम्तिमा पनि सेप्टेम्बरको अन्त्यसम्म बुस्टर डोज अभियानलाई रोक्दै गरिब देशलाई खोप प्रदान गर्न आग्रह गरे।
डब्लुएचओका अनुसार गरिब देशका नागरिकले अझै पर्याप्त खोप पाइसकेका छैनन्। उनीहरु निकै पछि छन्। १०० जनामा १.५ जनाले मात्र अहिलेसम्म खोप पाएका छन्। गरिब देशमा पर्याप्त मात्रामा खोप नपुर्याइएको डब्लुएचओले जनाएको छ। टेड्रोसले अब अधिकांश खोपको निर्यात गरिब देशमा हुनुपर्ने बताए।
‘आफ्ना प्रत्येक नागरिकलाई कोरोना संक्रमणको जोखिमबाट बचाउन चाहने म अधिकांश देशका सरकारको चाहनालाई बुझ्छु। तर, हामी ती देशहरुलाई स्वीकार गर्न सक्दैनौं, जसले पहिले नै भ्याक्सिन को विश्वव्यापी आपूर्ति को धेरै भन्दा धेरै प्रयोग गरिसकेका छन्।’, डा. टेड्रोसले भनेका छन्।
हाइटी र कन्गोका कुनै पनि नागरिकले हालसम्म खोपको दोस्रो डोज पाउन सकेका छैनन्। यस्तै केही समयअघि कोरोना महामारीको चपेटामा परेको इन्डोन्सियाले ७.९ प्रतिशत नागरिकलाई मात्र पूर्ण मात्रामा खोप लगाएको छ।