स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सार्वजनिक गरे १०० दिनको कार्ययोजना, माघभित्र ५ करोड खोप ल्याउने
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप खरिद तथा वितरण आफ्नो प्राथमिकता रहेको बताएका छन्। आफ्नो १०० दिनको कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले आगामी माघभित्र ५ करोड २२ लाख खोप प्राप्त हुने जानकारी दिए।
उनले हालसम्म नेपालमा अनुदान, कोभ्याक्ससुविधा र खरिद गरि ९७ लाख डोज खोप नेपाल आएको र त्यसमध्ये आइतबारसम्म ६२ लाख १७ हजार ९९२ डोज खोप लगाइसकिएको जानकारी दिए।
मन्त्री श्रेष्ठले हाल केन्द्रीय स्टोर टेकुमा ३ लाख ५० हजार डोज, प्रदेशका स्टोरहरुमा १३ लाख र ७७ वटै जिल्लामा १८ लाख डोज खोप मौज्दात रहेको भन्दै हाल प्रत्येक दिन दुई लाखदेखि तीन लाख डोजसम्म खोप लगाउने काम भइरहेको बताए।
वयस्क तथा किशोर–किशोरीलाई लक्षित गरी मोडर्ना खोप ४० लाख र जोनसोन एण्ड जोनसोन खोप ५० लाख, फाइजर ४० लाख र अस्ट्राजेनिका २० लाख गरी कुल १ करोड ५० लाख मात्रा खरिद प्रक्रिया सुरु गरेको पनि उल्लेख गरे।
उनले केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा खोपका लागि सम्झौता भएको भए पनि आफू मन्त्रालय आईसकेपछि १ करोड ५० लाख खोप खरिदका लागि हस्ताक्षर गरेको दाबी गरेका छन्।
साथै १ करोड १० लाख खोपको भुक्तानी प्रक्रियामा रहेको र बालबालिका लक्षित फाइजर कम्पनीबाट ६० लाख खोप गरी ३ करोड २३ लाख डोज खोप खरिद प्रक्रियामा रहेको बताए।