स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको दाबी– थप डेढ करोड खोप किन्दै छौँ
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्ध डेढ करोड खोप खरिद गर्न लागेको दाबी गरेका छन्।
रोटरी क्लब काठमाडौंद्वारा शुक्रबार आयोजित सम्मान कार्यक्रममा उनले खोप खरिद र व्यवस्थापन प्राथमिकतामा रहेको भन्दै थप डेढ करोड खोप खरिद गर्न लागेको बताएका हुन्।
खरिद गरिएकोमध्ये आठ लाख डोज खोप तत्काल आउन लागेको र एक सातामा थप १६ लाख खोप आउन लागेको पनि उल्लेख गरे ।
‘१२ वर्षभन्दा माथिका सबै नेपालीलाई करिब पाँच करोड ५० लाख डोज खोप तयारीा जुटेको छु। खोप व्यवस्थापन गर्न सक्छु भन्ने हिम्मतसाथ काम गरिरहेको छु,’ उनले भने।’
मन्त्री श्रेष्ठले तेस्रो लहरको व्यवस्थापन सरकार जुटिसकेको बताए। उनका अनुसार हालसम्म नेपालमा भारत, चीन र अमेरिकाबाट ९७ लाख डोज खोप आइसकेको छ । हाल सात लाख खोप मौज्दात रहेकोमा लगाउने कार्य धमाधम भइरहेको छ ।
आगामी एक सय दिनको कार्ययोजना तयार गरिरहेको पनि उनले जानकारी दिए। खोप आइसकेपछि पनि आपूर्ति प्रणाली र व्यवस्थापकीय सुधार हुन नसकेको भन्दै अहिले आफू त्यसमै केन्द्रित रहेको श्रेष्ठले बताए ।