
अमेरिकाको फाइजर कम्पनीले कोरोना भ्याक्सिनका लागि ‘बुस्टर डोज’ को अनुमति माग गर्ने भएको छ। कम्पनीले आफूले बनाएको भ्याक्सिनलाई अझ प्रभावकारी बनाउन थप एक डोज (बुस्टर डोज) का लागि अनुमति माग गर्न लागेको हो।
फाइजरले आगामी अगस्टमा अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) सँग तेस्रो डोजका लागि आपतकालिन अनुमति माग गर्ने योजना बनाएको हो।
कम्पनीले १२ महिनाभित्र तेस्रो डोज लगाए इम्युनिटीलाई यसले नाटकीय रुपमा बढाउने दाबी गरेको छ। उसले खतरनाक बनेको डेल्टा भेरियन्टविरुद्ध यो सबैभन्दा बढी प्रभावकारी हुनेसमेत बताएको छ। त्यसो त यसअघि गरिएका थुप्रै अध्ययनमा पनि फाइजरको खोपले डेल्टा भेरियन्टविरुद्ध प्रभावकारी रहेको देखाइएको थियो।
अहिले डेल्टा भेरियन्टले विश्वभर आतंक मच्चाइरहेको छ। अमेरिकामा पनि यसका सबैभन्दा बढी संक्रमित फेला परेका छन्।
अहिले उपलब्ध अधिकांश खोप दुई डोज लगाउनुपर्ने भनिएको छ। जुन कोरोनाका सबै भेरियन्टका लागि प्रभावकारी हुने बताइएको छ। सबै खोपले कोरोनाविरुद्ध लड्न शरीरमा एन्टिबडी तयार गर्छन्। तर, विस्तारै हाम्रो शरीरमा खोपका कारण विकसित एन्टिबडी कम हुँदै जान्छ। तसर्थ फाइजरले नयाँ-नयाँ भेरियन्टविरुद्ध खोपलाई अझ प्रभावकारी बनाइराख्न बुस्टर डोजको आवश्यकता महसुस गरेको र यसका लागि एफडिएसँग अनुमति माग गर्ने निर्णय गरेको हो।
फाइजरका डा. मिकेल डोलस्टेनले तेस्रो डोजले दोस्रो डोज लगाइसकेकाहरुमा पाँचदेखि १० प्रतिशतसम्मले एन्टिबडी बढाउने दाबी गरे।