ईडीसीडीले भन्यो– पीसीआर परीक्षण गर्न आउनेको पूर्ण विवरण नहुँदा, व्यवस्थापन गर्न समस्या भयो
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले (ईडीसीडी) कोभिड १९ स्वाब परीक्षण गर्ने सम्पूर्ण प्रयोगशाला तथा अस्पतालहरुलाई पीसीआर पोजेटिभ भएकाहरुको पूर्ण विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।
रिपोर्टमा सम्बन्धित पीसीआर पोजिटिभ आएका व्यक्तिहरुको सम्पर्क नम्बरलगायत व्यक्तिगत विवरण पूर्णरुपमा उपलब्ध नहुने र गलत सम्पर्क नम्बरसमेत प्राप्त हुने हुँदा केस व्यवस्थापन तथा फलोअप गर्न गाहो भएको महाशाखाले जनाएको छ।
महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले परीक्षण गराउन आउने व्यक्तिहरुलाई अनिवार्य रुपमा सम्पर्क नम्बर उल्लेख गर्न लगाउने, नम्बर उल्लेख गराउँदा पूरा अंकसहित उल्लेख गराउने र सम्बन्धित व्यक्तिको मात्र सम्पर्क नम्बर उल्लेख गर्न अनुरोध गरे।
‘संक्रमित भएका व्यक्तिलाई पहिलो कलबाट गरिने तथा घरमै आइसोलेनसमा बसेकालाई आइसोलेसनको अवधि पुरा नहुँदा सम्म फलोअप गरिने भएकाले प्रयोगशालाबाट पोजिटिभ रिपोर्ट आएका व्यक्तिको सम्पर्क नम्बर र व्यक्तिगत विवरण पूर्णरुपमा उपलब्ध नहुने र गलत नम्बर उपलब्ध हुने हुँदा व्यवस्थापन समस्या भइरहेको छ,’ डा. पौडेलले भने।
सबै प्रयोगशालालाई पिसिआर परीक्षण गराउँन आउने व्यक्तिहरुलाई अनिवार्य रुपमा सम्बन्धित व्यक्तिकै सम्पर्क नम्बर उल्लेख गर्न ईडीसीडीले अनुरोध गरेको छ।