दुई हप्तादेखि भरतपुरमा फोहोर उठ्न सकेन, बजार क्षेत्रमा दुर्गन्ध फैलिदै

हेल्थपोस्ट नेपाल

नारायणगढ स्थित लायन्स चोकका नेत्र आचार्यको घरमा फोहोर लिन नआएको २० दिन भइसक्यो। चार जनाको परिवारबाट दैनिक निस्कने फोहोर व्यवस्थापन गर्न उनीहरूलागि निकै कठिन छ।

‘हिजोआज फोहोर लिने गाडी आउँदैन, थुपारेको फोहोरले दुर्गन्धित भैसक्यो’, आचार्यले भने, ‘फोहोर लिन नआएपछि जहाँ फोहोर थुप्रेको छ त्यहि लगेर फाल्ने गरेका छौँ ।’

फोहोरको दुर्गन्धले रोग फैलिने हो कि भन्ने त्रास आचार्यको परिवारलाई छ। ‘अहिले बजार नै दुर्गन्धित भएको छ। बाटामा मरेका कुकुरहरु त्यतिकै छन्,’ उनले भने, ‘फोहोरको दुर्गन्धले बाहिर निस्कन सक्ने अवस्था छैन ।’

फोहोरको समस्या झेल्दै आएका उनी एक प्रतिनिधिपात्र मात्रै हुन्। उनी जस्तै थुप्रै नारायणगढ र भरतपुर क्षेत्रका परिवारहरू फोहोर नउठेर आक्रान्त छन्।

महानगरपालिकामा दुई साता याता फोहोरले विकराल रूप लिएको छ। तैपनि महानगरपालिकाले काममा तदारुकता देखाएको छैन।

घरमा फोहोर लिन नआएपछि नारायणगढ बजार बासीले सडकमा फोहोर फाल्न थालेका छन् । जसको असर बटुवा देखि व्यवसायीलाई समेत पर्न गएको छ ।

‘नारायणगढ क्षेत्रमा हिड्न सक्ने अवस्था छैन। एटिएममा लाईन बसेका शिव पाध्याले महानगरपालिका प्रति प्रश्न गर्दै भने, ‘स्थानीय सरकारले के हेरेर बसेको छ यस्तो हुँदासम्म?।’

भरतपुर महानगरपालिकामा वातावरणीय सुन्दर नेपाल प्रालि र वेष्ट म्यानेजमेन्ट नेपाल प्रालिले फोहोर उठाउने जिम्मा पाएको छ । तर, फोहोर लगेर फाल्ने ठाउँ नहुँदा उठाउन नसकिएको वेष्ट म्यानेजमेन्ट प्रा.लिका प्रवन्धक देवप्रसाद घिमिरेले बताए।

‘फोहोर संकलनमा अवरोध हुन थालेको एक महिना पुग्यो। बिचमा एक साता कुरा मिलाएर फोहोर उठाएका थियौँ। अहिले फोहोर व्यवस्थापन गर्ने स्थानमा जनताले नदिएपछि हामीले फोहोर उठाएका छैनौँ,’ उनले भने।’

भरतपुर महानगरपालिका वडा नम्बर १ देखि ११ सम्मको फोहोर यी दुई संस्थाले संकलन गर्ने गर्दछन्। त्यहाँको फोहोर नारायणी नदीको किनारमा व्यवस्थापन गर्दै आएका थिए।

अहिले नदीमा पानीको सतह बढेका कारण फोहोर संकलनमा कठिनाई आएको महानगरपालिका बरिष्ठ इन्जिनियर बिराट घिमिरेले बताए। ‘अहिलेसम्म नारायणी नदीको किनारमा नै फोहोर व्यवस्थापन गर्ने गरेका थियौँ । नदीमा पानीको सतह बढेपछि वडा नम्बर २४मा लाने गरेका थियौँ,’ घिमिरेले भने, ‘त्यहाँ जनताले फोहोर फाल्न नदिएपछि नारायणगढ र भरतपुर क्षेत्रको फोहोर उठाउन सकेका छैनौँ ।’

महानगरले सरसफाई शुल्क प्रति फल्याट ५० रुपैयाँदेखि १ सय ६० रुपैयाँसम्म लिने गरेको छ। दैनीक फोहोर उठाउने क्षेत्रमा प्रति फल्याट १ सय ६०, हप्तामा तीन दिन उठाउने क्षेत्रमा १ सय ३०, हप्तामा दुई दिन उठाउने ठाउँको ८० र हप्तामा एक दिन उठाउने क्षेत्रको प्रति फल्याट ५० रुपैयाँ शुल्क उठाउने गरेको छ।

महानगरपालिकामा एक हप्तायता फोहोरले विकराल रूप लिएको छ। तैपनि महानगरपालिकाले काममा तदारुकता देखाएको छैन। भरतपुर महानगरपालिकाबाट दैनिक ७० टन फोहोर उठ्छ। त्यसको ७० प्रतिशत फोहोर १देखि ११ नम्बर वडामा निस्कन्छ। तर, यो फोहोर तत्काल व्यवस्थापन गर्न नसकिने घिमिरेले बताए।

‘हामीले उठाएर फाल्ने ठाउँ छैन । फोहोर फाल्ने ठाउँमा जनताले नै अवरोध गर्दै आउनुभएको छ। हाम्रो तर्फबाट प्रयास गरेका छौँ केही दिनमा विकल्प आउला,’ उनले भने।’

भरतपुरमा दिर्घकालिन फोहोर व्यवस्थापन गर्न ल्याण्डफिल्ड साईट नहुँदा समस्या आएको हो । महानगरपालिकाले केही बर्षदेखि निति तथा कार्यक्रममा नै ल्याण्डफिल्ड साईटको विषय समावेश गर्दै आएको छ । तर, अहिलेसम्म काम हुन सकेको छैन।

‘दक्षिण कोरियाको सुडोनान ल्याण्डफिल साईट म्यानेजमेन्टको सहयोगमा महानगरको वडा नम्बर ११को जलदेवि सामुदायीक वनमा ल्याण्डफिल्ड साईट बनाउने योजना बनाएका छौँ । यसको डिपिआर पनि अन्तिम चरणमा छ’–वरिष्ठ इन्जिनियर घिमिरेले भने । यसका लागि एक अर्वभन्दा बढी खर्च लाग्ने उनले बताए ।

 



Leave a Reply

Your email address will not be published.