कुन प्रदेशमा कतिले लगाए कोभिड १९ विरुद्धको खोप? 

हेल्थपोस्ट नेपाल

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म अनुदान तथा खरिद गरी ४२ लाख ४८ हजार डोज खोप नेपाल भित्रिएको छ।

जसमध्ये भारतीय कम्पनीले उत्पादन गरेको ‘कोभिसिल्ड’ र चिनियाँ कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ छन्।

मन्त्रालयको असार २० सम्मको तथ्यांकअनुसार अहिलेसम्म २६ लाख ११ हजार ८०७ जनालाई पहिलो डोज लगाइसकिएको छ। जुन कुल जनसंख्याको ९ प्रतिशत हो।

त्यस्तै, ७ लाख ५९ हजार ९५४ जनालाई दोस्रो डोज लगाइएको छ। अहिलेसम्म ३ प्रतिशत नेपालीले मात्रै दोस्रो डोज लगाएका छन्।

कोभिसिल्डको पहिलो मात्रा १८ लाख २८ हजार ४८४ जनाले र दोस्रो डोज ४ लाख ६० हजार ७३४ जनाले लगाएका छन्।

त्यसैगरी, भेरोसेल सात लाख ८३ हजार ३२३ जनाले पहिलो मात्रा र २ लाख ९९ हजार २२० ले दोस्रो मात्रा लगाएका छन्।

कोभिसिल्ड कुन प्रदेशमा कतिले लगाए? 

कोभिसिल्डको पहिलो मात्रा बागमती प्रदेशमा ४ लाख २१ हजार ४८४ जनाले र दोस्रो मात्रा १ लाख ६० हजार १५३ जनाले लगाएका छन्।

प्रदेश १ मा ३ लाख ७ हजार १८६ जनाले पहिलो डोज र ५२ हजार ८२५ जनाले दोस्रो डोज लगाएका छन्।

त्यसैगरी, प्रदेश २ मा ३ लाख २० हजार ५३२ जनाले पहिलो डोज र ४६ हजार १५८ जनाले दोस्रो डोज लगाएका छन्।

गण्डकी प्रदेशमा १ लाख ८७ हजार ९७४ जनाले पहिलो डोज लगाउँदा दोस्रो डोज ४९ हजार ६११ जनाले मात्रै पाएका छन्।

लुम्बिनी प्रदेशमा पनि पहिलो डोज २ लाख ७८ हजार ४७६ जनाले लगाएका भएपनि दोस्रो डोज ८४ हजार १२४ जनाले मात्रै पाएका छन्।

सुदूरपश्चिममा पनि २ लाख ५ हजार ५०६ जनाले कोभिसिल्डको पहिलो मात्रा लगाएका छन् भने ३७ हजार ९०६ जनाले मात्रै दोस्रो मात्रा पाएका छन्।

सबैभन्दा कम कर्णालीमा १ लाख ७ हजार ३२८ जनाले पहिलो डोज र २८ हजार ४ जनाले दोस्रो डोज लगाएका छन्।

१३ लाख ५० हजार ज्येष्ठ नागरिक र अन्य उमेर समूहकाले पहिलो मात्रा लगाएको तीन महिना नाघिसक्दा पनि दोस्रो मात्रा लगाउन पाएका छैनन्।

उनीहरूका लागि सरकारले एस्टेजेनेकाको खोप लगाउने निर्णय गरिसकेको छ।

‘कोभिसिल्ड दोस्रो मात्रा जेष्ठ नागरिकलाई दिन सकेका छैनौं। खोपको सुनिश्चिता भएको छैन,’ मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले भने, ‘कोभिसिल्डको दोस्रो मात्रा आउन समय लाग्छ।’

भेरोसेल खोप बागमती केन्द्रित

भेरोसेल खोप बागमती प्रदेश केन्द्रित भएको छ। देशभर लगाइएको भेरोसेलको पहिलो मात्रामध्ये ५० प्रतिशतभन्दा बढी बागमतीमा लगाइएको छ।

अहिलेसम्म देशभर ७ लाख ८३ हजार ३२३ जनाले पहिलो मात्रा र २ लाख ९९ हजार २२० जनाले दोस्रो मात्रा लगाएका छन्।

जसमा बागमतीमा पहिलो डोज ४ लाख ७० हजार ६०४ जनालाई र दोस्रो मात्रा २ लाख ९१ हजार १७७ जनालाई लगाइएको छ।

त्यस्तै, प्रदेश १ मा ७० हजार २६३ जनालाई पहिलो मात्रा र ३ हजार ३२८ जनालाई दोस्रो डोज लगाइएको छ।

प्रदेश २ मा पनि ७२ हजार ९५ जनाले पहिलो मात्रा पाउँदा १ हजार ६८ जनाले मात्रै भेरोसेलको दोस्रो मात्रा पाएका छन्।

गण्डकीमा पहिलो मात्रा पाउनेको संख्या ३१ हजार ९० छ भने दोस्रो मात्रा १ हजार ६८० जनाले पाएका छन्।

लुम्बिनीमा पहिलो मात्रा ७३ हजार ८८४ जनाले पाए पनि दोस्रो मात्रा भने ४९६ जनालाई मात्रै लगाइएको छ।

कर्णालीमा २३ हजार ९ जनाले पहिलो मात्रा लगाएका छन् भने ४१६ जनाले मात्रै दोस्रो मात्रा लगाएका छन्।

यस्तै, सुदूरपश्चिममा ४१ हजार ४८८ जनाले पहिलो मात्रा पाएपनि ५२५ जनाले मात्रै दोस्रो मात्रा पाएका छन्।

आजबाट ६० देखि ६४ उमेरसमूहका लागि भेरोसेलको दोस्रो मात्रा लगाइँदै छ।

३ लाख ७० हजार जेष्ठ नागरिक तथा दोस्रो मात्रा लगाउन छुटेका नागरिकलाई आजबाट दोस्रौ मात्रा लगाउन थालिएको हो।

 

अझै २ करोड बढी खोपको प्रतिक्षामा

स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणअनुसार अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइनेछ।

चीनबाट सरकारले थप खोप खरिद प्रक्रियाअगाडि बढाएको छ।

डा. पौडेलले २४ असारदेखि खोप आपूर्ति सुरु भई साप्ताहिक रूपमा विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको बताए।

यस्तै, सरकारले चीनबाट १५ दिनभित्र ४० लाख डोज कोभिड—१९ विरुद्धको भेरोसेल खोप ल्याउने तयारी गरेको छ।

स्वास्थ्य मन्त्रालयले चीनबाट प्राप्त भएको भेरोसेल खोप प्राथमिकताका आधारमा लगाउने भएको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमकाअनुसार अबको प्राथमिकतामा ६० वर्षमुनिका नागरिक पर्नेछन।

कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा ५५ वर्ष र माथिका नागरिक पर्नेछन्।

‘ठ्याक्कै को–कसलाई खोप दिने भन्ने निर्णय हुन बाँकी नै छ। खोप कार्यान्वयन योजनाअनुसार फलो गर्दै जान्छौं,’ डा. गौतमले भने, ‘कुन–कुन उमेर समूहसम्म जाने भन्ने कुरा खोप उपलब्धताको आधारमा हुन्छ।’



Leave a Reply

Your email address will not be published.