प्रसाईको आरोपमा डा. गिरी भन्छन् : आयोगले निष्पक्ष काम गरेको छ, पदाधिकारीलाई धम्की नदिइयोस्

हेल्थपोस्ट नेपाल

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले झापास्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले लगाएको आरोपको खण्डन गरेका छन्।

शनिबार प्रसाईले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मेडिकल कलेजलाई सम्बन्धन दिन डा. गिरीले व्यक्तिगत फाइदा लिन खाजेको आरोप लगाएका थिए।

आइतबार डा. गिरीले विज्ञप्ति जारी गर्दै उक्त आरोपको खण्डन गरेका छन्।

डा. गिरीले आयोगका पदाधिकारीप्रति लाञ्छना लगाउने, कपोकल्पित भ्रामक कुराहरू फैलाउने, आयोगका पदाधिकारीको योग्यता, कार्यक्षमता र नैतिकतामाथि अनावश्यक गैरआधार प्रश्न उठाएर प्रचारप्रसार गरी आयोगको कार्यलाई प्रभावित पार्न खोज्नु खेदपूर्ण रहेको बताए।

चिकित्सा शिक्षाजस्तो संवेदनशील विषयमा दबाब र प्रभावमा कुनै निर्णय गर्न वा गराउन खोज्नु आफैंमा गैरकानुनी भएको डा. गिरीले विज्ञप्तिमार्फत जनाएका छन्।

‘आयोग सक्षम प्राप्त जिम्मेवारी कानुन बमोजिम, प्रक्रिया पूरा गरी आएको बखत कानुनको अधिनमा रही आयोगले निष्पक्ष रूपमा अघि बढाई निर्णय गर्ने नै हुँदा आयोग र आयोगका पदाधिकारीहरू प्रति दवाब, प्रभाव र अफवाह फैलाउने कार्य आफैंमा दोषयुक्त देखिन्छ,’ उनले प्रेस विज्ञप्तिमार्फत भनेका छन्।

आयोग काम, कर्तव्य र अधिकारको प्रयोग गर्दै सक्षम, निष्पक्ष र पारदर्शी सेवाका लागि प्रतिबद्ध रहेको डा. गिरीले दाबी गरेका छन्।

 

 



Leave a Reply

Your email address will not be published.