आज कुन-कुन प्रदेशमा वर्षाको सम्भावना?
आजपनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर मनसुनी वायुको प्रभाव जारी रहेको र हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकोले वर्षा आज पनि जारी रहने महाशाखाले जनाएको छ।
आज विशेष गरी प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहने प्रक्षेपण महाशाखाले गरेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान र लुम्बिनी प्रदेश, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।
अहिले देशका अधिकांश भूभागहरूमा सामान्यदेखि पूर्ण बदली भई प्रदेश १ का केही स्थानहरुमा मध्यम वर्षा भईरहेको छ। साथै प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही भूभागमा भने हल्का वर्षा भइरहेको छ।
यसैबीच, आज नारायणीका स-साना सहायक नदीहरु तथा कन्काई, कमला, बागमती र तिनाउ जलाधारका सहायक नदीहरुमा बहाव केही बढ्ने र केही साना नदीमा आकस्मिक बहाब हुनसक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।