प्रधानमन्त्री ओलीको दाबी : पर्सिदेखि चाहिनेजति भ्याक्सिन आउँछ, क-कसले पाउँछन् ?
प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना भाइरसविरुद्धको खोपको अभाव नहुने दाबी गरेका छन्।
शुक्रबार नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अब खोपको समस्या नहुने दाबी गरेका हुन्।
‘अब भ्याक्सिन उपलब्ध हुन समस्या हुँदैन। पर्सिदेखि चाहिनेजति भ्याक्सिन आउँछ,’ उनले भने।
प्रधानमन्त्री ओलीले भारतबाट आउने कोभिसिल्ड खोप नआउँदा दोस्रो डोज दिनमा समस्या भएको बताए।
उनले केही दलका साथिहरूले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनू भनेर लबिङ गरिरहेको आरोप समेत लगाए।
चीनबाट आगामी जुलाई ८ तारिखका दिन खोप ल्याउने प्रयोजनका लागि जहाज तयारी अवस्थामा राख्न निर्देशन भएको छ।
पहिलो चरणमा १० लाख आउने अनुमान गरिएको छ। सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि नन डिस्क्लोजर एग्रीमेन्ट गरेको छ।
‘नन डिस्क्लोजर एग्रिमेन्ट’मार्फत ल्याएकाले खोपको मूल्यलगायत धेरै कुरा खुलाइएको छैन।
सरकारले चीनबाट खोप खरिद गर्ने भनेपछि त्यहाँको कम्पनीले नै ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ अनुसार भएमात्र खोप दिने भनेपछि सोही अनुसार नेपालले पनि सहमति जनाएको हो।
चीनबाट कूल ३० लाख खोप क्रमवद्ध रूपमा आउने स्वास्थ्य सेवा विभागले जनाएको छ।
आइतबारदेखि उडान तालिका नै तय गरेर खोप ल्याउने तयारी भइरहेको परिवार कल्याण महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले बताए।
उनले चीनबाट ल्याएको खोप उमेर समूह अनुसार लगाइने जानकारी दिए ।
‘५५ वर्षभन्दा माथिका मानिसलाई खोप लगाउने कार्यतालिका छ। त्यसैगरी, बढी जोखिमका भएका मानिसलाई पनि खोप दिइन्छ,’ डा. पोखरेलले भने, ‘खोप लगाउन बाँकी उमेर समूहका त्रमश लगाइन्छ।’
यसअघि सरकारले ६० वर्ष माथिका उमेर समूहलाई खोप दिएको थियो।
अब त्यो भन्दा कम उमेर समूहतिर खोप तयारी सरकारले गरेको छ।
६० वर्ष माथिका झन्डै ९ लाख जेष्ठ नागरिकले दोस्रो डोज भने लगाउन पाएका छैनन्।