काठमाडौं महानगरले मेट्यो स्वास्थ्यकर्मीको सम्मानमा बनाइएको चित्र, विरुद्धमा लेखियो – ‘विद्यासुन्दर शाक्य मुर्दावाद’
काठमाडौं महानगरपालिकाले कोरोना महामारीविरुद्ध फ्रन्टलाइनमा रही काम गर्नेहरूको सम्मानमा कोरिएको चित्र बुधबार मेटेको छ।
महानगरपालिका वडा नम्बर २८ को अनुमतिमा रत्नपार्कको आकाशे पुलमुनि बनाइएको चित्रकला काठमाडौं महानगरले मेटेको हो।
फन्टलाइनमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र मेटिएको विरोधमा उनीहरुले महानगरपालिकाको विरुद्धमा नारा लेखेका छन् ।
नेविसंघ समर्थित विद्याथीहरुले ‘विद्यासुन्दर शाक्य मुर्दावाद र काठमाडौं महानगरपालिका मुर्दावाद’ भनी लेखेका छन्।
महानगरपालिकाले मेटाएको उक्त चित्रकलाप्रति अहिले सबैतिर विरोध भइरहेको छ।
चित्रमा मास्क लगाएर काम गरिरहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, प्रहरी, पाइलट, पत्रकार, शव व्यवस्थापकहरू समावेश गरिएको थियो। गत जेठ २५ देखि २७ गतेसम्म गरी ६ दिनमा ४ कलाकार र ३ जना स्वयंसेवकले सो चित्र बनाएका थिए।
कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ तथा स्वयंसेवकहरू कुञ्जाङ शेर्पा, अभिषेक पौडेल र मात्रिका तिमिल्सिनाले उक्त चित्र बनाएका थिए।
मेयर विद्यासुन्दर शाक्यकै निर्देशनमा यो चित्र मेटेको महानगरपालिकाले अब आफ्नै लाखौं खर्चेर अर्को चित्र बनाउने योजना छ।