बिपी प्रतिष्ठानका चिकित्सकहरू अनशनमा उत्रिए, भन्छन्– स्वास रहेसम्म अनियमितता विरुद्ध लड्छौं
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक सहित स्वास्थ्यकर्मीहरूले सोमबार बिहानैदेखि रिले अनशन सुरु गरेका छन्।
प्रतिष्ठानमा बढ्दै गएको अनियमितता विरुद्ध र आर्थिक, प्रशासनिक र शैक्षिक शुद्धीकरणको माग राख्दै उनीहरू रिले अनशनमा उत्रिएका हुन्।
पहिलो दिनको रेल अनशनमा डा विष्णु पोरखेलसहित डा. पदम नेपाली, सुवास बन्जाडे डा. अमृत जैसी र डा. ज्योति बोगटी बसेका छन्।
संयुक्त संघर्ष समितिका सह–संयोजक एवम् प्रतिष्ठानका फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. पोखरेलले तत्काल माग पुरा नभए आन्दोलनले झन चर्को रूप लिने बताए।
यसअघि १३ दिनसम्म आन्दोलनकारीले प्रतिष्ठान र धरान नगरमा जुलुस प्रदर्शन गर्दै आएका थिए।
‘हामीले १३ दिनसम्म धर्नाबाट आवाज उठायौं। तर, अस्पताल प्रशासनको कुनै ध्यान जान सकेन,’ डा. पोखरेलले हेल्थपोस्टसँगको कुरानकानीमा भने, ‘अनियमिताविरुद्ध बोल्दा उल्टै धम्की खेप्नुपर्यो।’
हाल प्रतिष्ठानका सबै कर्मचारीहरू अस्पताल प्रशासनको विरुद्धमा उत्रिएका छन्।
प्रतिष्ठानमा भएको बेथिति तत्काल रोकिनुपर्ने, प्रतिष्ठानका हरेक दिनको आयव्यय लगायतको कोरोबारको विस्तृत विवरण वेवसाइट मार्फत सार्वजनिक गर्नुपर्ने, बिरामी उपचार सम्बन्धि सम्पूर्ण सेवाहरु अनलाइन मार्फत हुनेगरी व्यवस्था गर्नुपर्ने, फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मिलाई गत वर्षको जोखिम भत्ता तत्काल उपलब्ध गराउनुपर्ने, प्रतिष्ठानका ल्याबहरुको क्षमता, गुणस्तर र प्रविधिको विकास गर्नुपर्ने लगायतका माग गरेका छन्।
त्यसैगरी, आवासीय चिकित्सकहरु र विद्यार्थीको छात्राबास निर्माण, छात्राबासको शुल्क, इन्टरनेट सर्भिस, बिद्युत, पानी लगायत समस्या तत्काल समाधान गर्नुपर्ने, प्रतिष्ठानसँग गाँसिएका अनियमितता र भ्रष्टाचारको मुद्दाहरुलाई छिटो टुंग्याउन प्रतिष्ठान, दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्नका लागि प्रतिष्ठानमा आवश्यक उपकरणहरु, डेन्टल चेयर, डिजिटल एक्सरे, सिटिस्क्यान, एमआरआई लगायतका अध्ययन अनुसन्धानका लागि आवश्यक पर्ने उपकरणको तत्काल व्यवस्था हुनुपर्ने लगायतका माग राखेका छन्।
‘हामीले अस्पतालको सेवा प्रभावित गरेका छैइनौं। हाम्रो आन्दोलनले बिरामीलाई स्वास्थ्य सेवालाई प्रभावित हुँदैन,’ डा. पोखरेलले भने।
लामो समयदेखि चलेको आन्दोलनलाई उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहितका पदाधिकारीले बेवास्ता गरेको उनीहरूको आरोप छ।
‘आन्दोलन नै उहाँहरूको जवाफदेही हुनुपर्ने भन्ने उदेश्यले भएको छ,’ डा. पोखरेलले भने, ‘अनियमिता विरुद्ध श्वास रहेसम्म लड्नेछौं।’
प्रतिष्ठानभित्रको बेथितिबारे लेख्दै बोल्दै पोखरेललाई उपकुलपतिले स्पष्टीकरण सोधेपछि त्यसको विरोधमा स्वास्थ्यकर्मीले आन्दोलन सुरू गरेका हुन्।
‘पारदर्शी हुँदा उहाँलाई अप्ठेरोमा पर्छ भन्ने लागेको छ। यिनीहरू स्वास्थ्यकर्मी हुन्। धेरै दिन आन्दोलन गर्न सक्दैनन्। यस्ता विषयलाई लत्याएर हिँड्न सक्छु भन्ने मानसिकता छ,’ डा. पोखरेलले भन्छन्, ‘उहाँको विरुद्धमा प्रतिष्ठानका सबै कर्मचारी उत्रिएका छन्। यो आन्दोलनल पक्कै विपीको मूहार र्फेने छ।’