काठमाडौं महानगरपालिकामा खोप कार्यक्रम सोमबारबाट पुनः सञ्चालन हुँदै, क–कसले पाउने ?
काठमाडौँ महानगरपालिकाले कोरोना खोप ( भेरोसेल) अभियान पुनः सञ्चालन गर्ने भएको छ।
महानगरपालिकाले एक सूचना निकाल्दै आगामी ३१ जेठ ९सोमबार० र १ असारमा खोप अभियान सञ्चालन गरिने जनाएको छ।
यसअभियानमा पहिलोमात्रा लगाएकाहरु, चिकित्सक तथा स्वास्थ्यकर्मी, फ्रन्टलाइनर तथा मेडिकल विद्यार्थीहरु प्राथमिकतामा रहनेछन्।
दुई दिन सञ्चालन हुने खोप कार्यक्रममा ६० र ६१ बर्ष उमेर समूहका व्यक्तिलाई पनि खोप दिइने छ।
महानगरका अनुसार वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप कार्यक्रम सञ्चालन गरिने छ।
यसअघि महानगरपालिकाले निर्धारित तालिकाभन्दा दुई दिन अगावै खोप कार्यक्रम स्थगित गरेको थियो। सरकारले तोकेको लक्षित समूह बाहिर गएर जनप्रतिनिधिले खोप वितरण गरेकाले यसपटक भने अस्पतालबाट खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
यसअघि ६४, ६३ र ६२ बर्ष उमेरकाले व्यक्तिले खोप लगाएका थिए।
खोप कार्यक्रम विहान १० देखि ४ बजेसम्म जारी रहने छ। खोप लिनका लागि अनिवार्य रूपमा नागरिकता वा अन्य सरकारी परिचयपत्र लिएर जानुपर्ने छ।