डा. केसीसँगको सम्झौताप्रति सरकार इमानदार हुनुपर्छ : स्वास्थ्यमन्त्री यादव
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डा. केसीसँग राज्यले गरेको सहमतिप्रति सरकार इमानदार हुनुपर्ने बताएका छन् । मन्त्रालयमा बुधबार आयोजित पत्रकारसम्मेलनमा मन्त्री यादवले आफू आन्दोलनबाटै आएको भन्दै डा. केसीसँगको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
‘राज्यले गरेको सम्झौता इमानदारीसाथ पालना गर्नुपर्छ,’ मन्त्री यादवले भने, ‘कार्यान्वयन गर्नुपर्छ ।’
चिकित्साशिक्षामा जनशक्ति उत्पादन शिक्षाले गरे पनि त्यसको खपत, व्यवस्थापन र असर स्वास्थ्यले भोग्नुपर्ने अवस्थामा विधेयकका विषयमा किन मौन भन्ने पत्रकारको प्रश्नमा उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । ‘मेडिकल शिक्षा गुणस्तरीय हुनुपर्छ, डाक्टर पढ्न र उपचारका लागि अर्बौं बाहिरिनेक्रम रोक्नुपर्छ,’ यादवले भने । उनले स्वास्थ्य र शिक्षाका विषय एकअर्कासँग जोडिएको भन्दै विधेयकका धेरै विषयमा शिक्षाले जवाफ दिन सक्ने तर बिग्रिएपछि स्वास्थ्यमा आउने प्रतिक्रिया दिए ।
कार्यक्रममा स्वास्थ्यराज्यमन्त्री डा. सुरेन्द्र यादवले डा. केसीले उठाएको एउटा मात्रै विषय एउटा विश्वविद्यालयले पाँचवटाभन्दा बढी सम्बन्धन दिन नसक्ने विषयमा अड्किएको बताए । ‘अहिलेसम्म २ वटा विश्वविद्यालयले मात्रै सम्बन्धन दिन सक्छन्, तर ती दुईवटैले पाँचवटा कलेजलाई सम्बन्धन दिइसकेका छन्,’ राज्यमन्त्री यादवले भने । त्यही प्राविधिक कुराले सरकार अप्ठ्यारोमा परेर सम्बन्धन खोलिएको भनाइ उनको थियो ।