‘सिनियर नर्स हामीलाई हेपेपनि मैले जुनियरलाई कहिल्यै हेपिनँ’
आफ्नो इच्छा र फेमिली प्रोफेसन भएकै कारण रेमिसा रत्नेले नर्स पेशा छानिन्। दिदीसँगै नर्स बनेर काम गर्ने अनि देश र जनताको सेवा गर्ने सपना बोकेर मेडिकल क्षेत्रमा प्रवेश गरिन्।
अहिले उनी विराट मेडिकल तथा शिक्षण अस्पतालमा मेडिकल डिपार्टमेन्टमै काम गर्छिन्।
गत वर्षको कोरोना संक्रमण र हालको दोस्रो लहरमा डटेर बिरामीको सेवा गरिन्।
यति मात्र होइन, आफ्नो काम सँगसँगै नयाँ आएका नर्सहरुलाई पनि सिकाउने गर्छिन्।
अस्पतालमा चाप उत्तिकै, त्यसमाथि महामारी र आफूमा थपिएको जिम्मेवारी। तर पनि उनले कहिल्यै हार मानिनन्।
न त बिरामीको हेरचाह गर्न छोडिन्, न त जुनियरलाई आफ्नो तनावको रिस नै पोखिन्।
अस्पतालमा नयाँ स्टाफका रुपमा काम सुरु गर्दाका अनुभव अहिले पनि उनको मानसपटलमा ताजा नै छ।
आफूभन्दा सिनियरले काम गर्न नजान्दा देखाएको छुद्र व्यवहारले अहिले पनि मनमा बिझाउँछ उनको।
पढाई सकेर पहिलो पटक अस्पतालमा काम गर्न आएको दिन अझै ताजाजस्तो लाग्छ उनलाई। उनी एकदमै आत्तिएकी र नर्भस पनि भएकी थिइन्। सिनियर नर्सहरुले जे–जे काम अह्राउँछन्, त्यही नै गर्नुपर्ने थियो। सबै काम राम्ररी गर्छु भनेर अठोट लिएर काम गर्दा पनि उनले त्यस दिन गाली खाइन्।
‘पहिलो दिनमै मैले सिनियर नर्सको गाली खाएँ। सुरुमै मलाई गम्भीर खालको बिरामी हेर्न लगाइएको थियो। बिरामीको अवस्था देखेरै आत्तिएकी थिएँ। सिनियरले भनेकोजस्तो भएन। काम गर्नै जानेन भन्दै कराउनु भएको थियो,’ उनले भनिन्।
यतिमात्र नभइ उनले यसपछिका यात्राहरुमा पनि धेरै कठिनाईहरु भोग्नुपर्यो।
‘एकदिन मैले सिनियर नर्सलाई सोध्दै नसोधी एक बिरामीलाई खाना खान अनुमति दिएँ। खाना खानुअघि ती बिरामीलाई औषधी चढाउनुपर्ने थियो। बिरामीले भोक लाग्यो खाउँ भनि अनुमति माग्दा मैलो हुन्छ भनिदिएँ। पछि सिनियर नर्स भिजिटमा आउँदा मेरो निर्देशनमा बिरामीले खाना खाएको थाहा पाएर बेस्सरी गाली गर्नुभयो,’ उनले भनिन्।
अलिकति काम बिग्रिएपनि डाक्टर तथा नर्सको एकदमै गाली सुन्नुपर्थ्यो। तर, यस्तो व्यवहार उनले दोहोर्याएर जुनियरलाई नगरेको बताउँछिन्।
‘मैले जस्तो भोगेँ, त्यही पीडा सानालाई किन दिने भनेर जुनियरहरुलाई कहिल्यै गाली गरिनँ। उनीहरुलाई सम्झाउने र राम्रोसँग सिकाउने गरेको छु,’ उनले भनिन्।
उनी भन्छिन्, ‘ पढ्दा सिक्नका लागि गरिने प्रयोगात्मक शिक्षा र जागिर खाएर गरिने काम धेरै फरक छ। कलेजमा शिक्षकहरुको निगरानीमा बिरामी हेर्दा कुनै किसिमको डर–त्रास हुन्न। सिक्न पनि रमाइलो। तर, जागिर खाएर नर्सको काम गर्न एकदमै कठिन छ।’
‘काम गर्दा आफूलाई निक्कै जिम्मेवारी थपिएको तथा हरेक कुराको ख्याल आफैंले लिनुपर्दो रहेछ। पढ्दा त्यस्तो जिम्मेवारी नै बोध भएन,’ उनले भनिन्।
‘यो पेशालाई अँगालेपछि जिम्मेवारी बोध हुने र सोहीअनुसार काम गरिँदो रहेछु, रेमिसाले भनिन्।