कोरोना खोप लिन ज्येष्ठ नागरिक लाइनमा (फोटो फिचर)
सरकारले ६० देखि ६४ वर्षका ज्येष्ठ नागरिकका लागि कोरोना भाइरसविरुद्धको (भेरोसेल) खोप मंगलबारदेखि दिन थालिएको छ ।
काठमाडौं उपत्यकामा ६० देखि ६४ र अन्य जिल्लामा ६२ देखि ६४ वर्षका नागरिकलाई खोप वितरण गर्ने गरी अभियान सुरू गरेको छ।
काठमाडौं महानगरपालिकाले मंगलबार ६४ वर्षका नागरिकका लागि खोप लगाउन वडास्तरमा खोप केन्द्र तोकेको छ ।
चीनले ८ लाख डोज भेरोसेल खोप दिएपछि ज्येष्ठ नागरिकलाई खोप दिइएको हो ।
खोप लगाउन धेरै खोप केन्द्रमा ज्येष्ठ नागरिक लामो लाइन बसेका छन्।
खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानु पर्नेछ। यदि यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर सिफारिस लिएर जानुपर्नेछ।
महानगरले खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एकदिन खोप दिने कार्यक्रम तय गरेको हो।
सहरी स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै आज ६४ वर्ष उमेर समूहलाई, जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउने तालिका सार्वजनिक गरेको हो।
यसअघि कोरोनाको संक्रमण भइसकेको भए एक महिना पूरा भए मात्र खोप लगाउन, तोकेका दिनमा मात्र खोप लगाउन र पहिलो मात्राका लागि मात्र खोप केन्द्रमा जान सूचनामा भनिएको छ।
सरकारले कोरोनाविरुद्धको खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिने पेशाकर्मी, दीर्घरोगी आदिलाई प्राथमिकताका आधारमा समूह विभाजन गरेर खोप दिँदै आएको छ।