उज्वल थापाको परिवारले भन्यो–दुर्गा प्रसाईंकाे सहयोग आवश्यक छैन
कोरोना संक्रमण भई मेडिसिटी अस्पतालमा उपचाररत विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्वल थापाका परिवारले दुर्गा प्रसाईंको सहयोग आवश्यक नभएको जनाएको छ।
थापाको परिवार, साथी र शुभेच्छुकका तर्फबाट आज विज्ञप्ति जारी गर्दै प्रसाईंको सहयोग आवश्यक नभएएको जनाइएको हो।
‘उपचार खर्च आफूले व्यहोर्ने भनी दुर्गा प्रसाईंले भन्नुभएको भन्ने खबर हाम्रो जानकारीमा आएको छ। हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकाले दुर्गा प्रसाईंलाई सद्भावका लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ।
चिकित्सकको सल्लाहमा थापालाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यसका लागि लाग्ने खर्च व्यहोर्न परिवारको सहमतिमा साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइएको जनाइएको छ।
यस क्रममा हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब २६ लाख ५० हजार जम्मा भएको उल्लेख गर्दै विज्ञप्तिमा त्यस खातामा सहयोग गर्ने साथी, शुभेच्छुक तथा आफन्तजन सबैप्रति कृतज्ञता व्यक्त गरिएको छ।
२ सातादेखि कोरोना संक्रमित भएका थापाको अहिले नेपाल मेडिसिटी अस्पतालमा एक्मो प्रविधिबाट उपचार भैरहेको जनाइएको छ।