आधुनिक औषधिले संक्रमितको मृत्यु भएको भनेपछि रामदेवप्रति खनिए चिकित्सक

हेल्थपोस्ट नेपाल

 

 

चर्चित योगगुरु बाबा रामदेवको विवादित अभिव्यक्तिप्रति भारतीय चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आलोचना गरेका छन्। रामदेवले आधुनिक तथा एलोपेथी औषधि खाएकै कारण लाखौं कोरोना संक्रमितको ज्यान गएको अभिव्यक्ति दिएका थिए।

स्वास्थ्य मन्त्रालायले पनि उक्त भनाइप्रति आपत्ति जनाएपछि रामदेवले आफ्नो अभिव्यक्ति फिर्ता लिएका थिए। तर फेरि सोमबार उनले एलोपेथी औषधिले रोग निको नपारेको भन्दै अभिव्यक्ति दिएका छन्।

रामदेवकाे यस्तो अभिव्यक्तिमाथि आलोचना गर्दै चिकित्सकहरुले महामारीको समयमा योगगुरुले संवेदनहीन कुरा गरेको बताएका छन्।

भएको के थियो?
भारतमा अप्रिल र मे महिनामा अक्सिजनको कमी हुँदा बिरामीका आफन्तहरु अक्सिजनको खोजीमा लागेको भन्दै रामदेवले व्यंग गरेका थिए।

उनले, ‘प्रकृतिले नै हामीलाई निःशुल्क अक्सिजन दिएको छ, यसलाई नै हामीले किन स्वास फेर्दैनौ? भगवानले नै दिएको अक्सिजनमा कसरी कमी आउन सक्छ? मूर्खहरु मात्र अक्सिजनको खोजीमा छन्। प्राकृतिक अक्सिजनले स्वास फेर। किन अक्सिजन, शय्या र आर्यघाटको अभाव छ भनेर गुनासो गर्छौ,’ भनेर अभिव्यक्ति दिएका थिए।

कोरोना संक्रमित र उनका आफन्तहरुले उनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै क्षमा माग्नसमेत आग्रह गरेका थिए। चिकित्सकहरुले भने रामदेवलाई नै पक्राउ गर्न माग गरेका थिए।

चाैतर्फी आलोचनापछि स्वास्थ्यमन्त्री हर्षवर्द्धनले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो भनाइ फिर्ता लिन रामदेवलाई आग्रह गरेका थिए।

विज्ञप्तिमा भनिएको थियाे, ‘एलोपेथीकै सहारामा डाक्टरहरुले लाखौं मानिसहरुको ज्यान जोगाएका छन्। यसकै कारण मानिसको मृत्यु भएको बाबाको मुखबाट नराम्रो सुनिन्छ।’

‘स्वास्थ्यकर्मी, नर्स तथा चिकित्सकहरुले आफ्नो ज्यान हत्केलामा राखेर मानिसको ज्यान जोगाएका छन्। यो कार्य उदाहरणीय र प्रशंसालायक छ,’ मन्त्रालयले भनेको छ।

आइतबार आफ्नो भनाइ फिर्ता लिएका रामदेवले पुनः इन्डियन मेडिकल एसोसिएसनलाई एक पत्र पठाएर एलोपेथीले किन २५ वटा रोगको औषधि निकाल्न नसकेको भन्दै प्रश्न गरेका छन्, जसमा मधुमेह र हाइपरटेन्सन पर्छन्।

उनको अभिव्यक्तिले धेरै क्षति भएको बताउँछन् पल्मोनोलोजिष्ट डाक्टर फाथाहुदिन।

‘एक वर्षदेखि हामी बिरामीको उपचारमा युद्धमा जसरी नै संलग्न छौं। हामीले लाखौं मानिसहरुको ज्यान पनि जोगाएका छौं। हामीले काम गर्दै कति कुरा पनि सिकेका छौं। यस्ता अभिव्यक्तिले हामीलाई अपमान र चोट पुगेको छ,’ उनले भने।

रामदेवकाे पतन्जली आयुर्वेदले कोरोना संक्रमणको उपचारका लागि भनेर ‘कोरोनिल’ सार्वजनिक गरेकाे थियाे । तर कोरोनाको कुनै प्रकारको उपचार नभएको भन्दै कोरोनिलको मार्केटिङमा भारत सरकारले रोक लगाएकाे थियो। तर यो औषधिलाई प्रतिबन्ध भने गरिएको छैन। रोगसँग लड्ने क्षमता बढाउन सक्ने भएकाले बेच्न भने दिइएको छ।

आइएमले पठायो रामदेवलाई मानहानीको नोटिस
यसैबीच, इण्डियन मेडिकल एशोसियसन (आइएमए) ले रामदेवलाई मानहानीको नोटिस पठाएको छ। १५ दिनभित्र माफी माग्न आग्रह गर्दै त्यसो नगरे १ हजार करोड क्षतिपूर्तिको माग गरिएको छ। आइएमई उत्तराखण्डले आफ्ना वकिलमार्फत् यो नोटिस पठाएकाे हाे।

बीबीसीको सहयोगमा



Leave a Reply

Your email address will not be published.