बेड खाली छन् भनेर स्वास्थ्य मन्त्रालयले यसरी झुक्यायो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा तथ्यांक सार्वजनिक गर्यो, त्यसमा उपत्यकाभरि १०४० वटा बेड खाली रहेको भन्ने जानकारी थियो।
यो तथ्याङ्ककै आधारमा मिडियामा समाचार आए ‘काठमाडौं उपत्यकामा १०४० बेड (आइसियु र भेन्टिलेटरसहित)खाली…।’
बेड नपाएर छटपटाइरहेका संक्रमितका लागि यो एउटा आशाको वत्ती थियो।
मन्त्रालयले उक्त सूचनामा अस्पतालका सम्बन्धित चिकित्सकको फोन नम्बर पनि राखेका थियो।
एक—दुई फोन मात्र होइन, सयौं फोन आउन थाल्यो चिकित्सकहरूलाई। अन्नत चिकित्सकले फोन समेत अफ गर्नुपर्यो।
यही विषयमा हेल्थपोस्ट टिमले केही अस्पतालसँग बुझेको छ।
सबै सरकारी अस्पतालहरू, निजी अस्पतालमा गरी कुल २३८६ वटा आइसोलेसन बेड रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
जसमध्ये हाल १६३६ जनामात्रै बिरामीहरु आइसोलेसनमा छन्।
यसको अर्थ उपत्यकाका अस्पतालहरुमा ७५० वटा आइसोलेसन बेड खाली छन्।
त्यसैगरी, उपत्यकाका सबै अस्पतालमा गरी कुल ४६४ वटा आईसीयू बेड रहेकोमा जम्मा २४३ जना मात्रै बिरामीहरु आईसीयूमा रहेका छन्।
यसअनुसार उपत्यकामा २२१ वटा आइसीयु बेड खाली छन्।
उपत्यकामा रहेको २०२ वटा भेन्टिलेटरमध्ये हाल १३३ वटा मात्रै बिरामी राखिएको तथ्यांकमा उल्लेख छ।
मन्त्रालयको विवरणमा उल्लेख गरेअनुसार ६९ भेन्टिलेटर खाली नै छन्।
मन्त्रालयले सो विवरण सोमबार २ बजेसम्मको आधारमा प्रकाशित गरेको जनाएको छ।
मन्त्रालयले कसरी गलत सूचना सार्वजनिक गर्यो?
बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा कुल १७० आइसोलेसन बेडको क्षमता छ।
तर त्यहाँ सोमबारसम्म १६१ जना बिरामी रहेको स्वास्थ्यको तथ्यांकले देखाउँछ।
त्यस्तै, सोही अस्पतालमा २० वटा आईसीयू बेड रहेकोमा अहिले ११ जना बिरामी मात्रै छन्।
यसको मतलव त्यहाँ ९ वटा आईसीयू बेड खाली छ। सोही अस्पतालमा रहेका नौवटै भेन्टिलेटरमा बिरामी रहेको तथ्यांकमा देखिन्छ।
यस विषयमा हामीले अस्पतालका कोरोना फोकल पर्सन डा. प्रवीण नेपाललाई सोध्यौं।
‘डाक्टर साप हिजो मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार अस्पताल बेड खाली छ?’
उनले जवाफ फर्काए– ‘भेन्टिलेटर आइसियु बाहिर चलाउन मिल्छ र? खै मन्त्रालय नै के गरी तथ्यांक निकाल्छ?’
उनका अनुसार हिजो सबै बेड भरिएका थिए। मन्त्रालयले भनेअनुसार त्यहाँ कुनै पनि बेड खाली थिए।
‘अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएमा मात्रै आइसियु बेड खाली हुन्छ। त्यहि पनि अर्को बिरामी पालो कुरेर बसिरहेको हुन्छ,’ डा. प्रवीणले भने, ‘खै के गरी तथ्यांक खाली भएको निकाल्यो मन्त्रालयले थाहा भएन।’
डा. प्रवीणका अनुसार उक्त तथ्यांक मन्त्रालयले सोमबार ११ बजे नै लिइसकेको थियो।
‘११ बजे एक, दुई बेड खाली थिए होला। तर, हामीसँग ९–९ वटा बेड खाली थिएन,’ उनले भने।
त्यस्तै, मन्त्रालयले निकालेको भक्तपुर अस्पतालको तथ्यांकमा ६ बेड आइसियु र ८ भेन्टिलेटर छन्। ६ जना आइसियुमा बिरामी रहेको एक जना मात्रै भेन्टिलेटरमा रहेको तथ्यांकले देखाएको छ।
भेन्टिलेटर भनेको आइसियुबाहेक हुँदैन। भेन्टिलेटर आइसियुसँगै हुन्छ। तर मन्त्रालयले भेन्टिलेटर र आइसियुलाई छुट्टाछुट्टै देखाएको छ।
भक्तपुरको अस्पतालको तथ्यांकमा आइसियु बेड भन्दा भेन्टिलेटरको संख्या बढी छ। तर बेड भएन भने भेन्टिलेटर मात्रै भएर केही काम हुँदैन।
त्यस्तैगरी, मन्त्रालयको तथ्यांकमा निजामति अस्पतालमा ७० आइसोलेसन बेड छन्। निजामतिमा सोमबारसम्म ६८ बिरामीको रहेको देखिन्छ। यो अनुसार दुईवटा आइसोलेसन बेड खाली नै छ।
त्यसैगरी, २४ आइसियु बेड छन्। जसमध्ये १४ वटामा बिरामी छन्। १० वटा आइसियु खाली नै छ। त्यसैगरी, ३ भेन्टिलेटर रहेकोमा एउटा मात्रै बिरामी छन्।
मन्त्रालयले निकालेको यो तथ्यांकमा वास्तविकता नभएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुमन बाबु मरहठ्ठाले बताए।
अहिले अस्पतालमा १५ बेड आइसियु छन्। २१ बेड एचडियू छन्। २१ वटा जनरल बेड छन्। २४ वटा बिरामी आकस्मिक कक्षमा व्यवस्थापन गरेका गरिएको छ। सम्रगमा हिजो सोमबार ८१ संक्रमितको उपचार भएको थियो।
‘हिजो सबै बेड भरिएको थियो। तर, कसरी मन्त्रालयले यो तथ्यांक निकाल्यो थाहा भएन,’ डा. मरहठ्ठाले भने, ‘भेन्टिलेटरको राख्नका लागि बेड चाहियो नि! बेड नै नभएपछि भेन्टिलेटर कसरी खाली हुन्छ?’
मन्त्रालयले यसरी सूचना निकालेपछि दवाव खेप्न नसकेर कतिपय अस्पतालका फोकल पर्सनहरूले त फोनै अफ गरेका छन्।