काठमाडौंका यी स्थानमा आजदेखि टोल–टोलमा काेराेना परीक्षण गरिने

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमणको उच्च जोखिममा रहेका काठमाडौंका विभिन्न ठाउँमा आजदेखि एन्टिजेन्ट परीक्षण सुरु भएको छ।

महानगरपालिका र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्त रुपमा परीक्षण थालेका हुन्। यसको सुरुवात कालीमाटी तरकारी तथा फलफुल बजारबाट भएको हो।

‘स्वास्थ्य मन्त्रालय र सिसिएमसीले अहिलेसम्म संक्रमणको दर उच्च रहेका ठाउँहरुको पहिचान गरेको छ।

यसरी पहिचान भएका ठाउँहरुमा गएर बृहत परीक्षण हुनेछ’, महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले भने, ‘संक्रमणको सक्रिय अवस्था थाहा पाउनका लागि यो उपयुक्त विधि हो।’

‘परीक्षण गरिएका सबै व्यक्तिहरुलाई रिपोर्ट नआउञ्जेल आइसोलेसनमा बस्न भनेका छौं’, महाशाखाका ल्याब टेक्निसियन निरीक्षक भोला अधिकारीले भने, ‘परीक्षणबाट आएको नतिजाले लक्षणसहितका बिरामीलाई अस्पताल पठाउन र लक्षण नभएका बिरामीलाई होम आइसोलेसनमा बस्न तथा निगरानी गर्न सहज हुनेछ।’

उनका अनुसार कसैको शरीरमा भाइरसको प्रवेश भइसकेपछि लक्षण देखिन पाँच दिनसम्म लाग्न सक्छ। त्यसअघि (लक्षण देखिनुअघि) कसैमा संक्रमण छ कि छैन भनेर थाहा पाउन यो परीक्षण प्रभावकारी छ।

पहिलो चरणमा करिब १० हजार व्यक्तिको एन्टिजेन्ट परीक्षण गरिनेछ।

‘तरकारी बजारसहित अहिले पनि धेरै मानिसहरु भेला हुने ठाउँलाई पहिला प्राथमिकतामा राखेका छौं’, महानगरका कोभिड फोकल पर्सन ज्ञानबहादुर ओलीले भने,‘तरकारी बजारपछि धेरै संक्रमण देखिएका वडाहरुमा परीक्षण गराउने योजना छ।’

धेरै संक्रमित भएका असन, डिल्लीबजार न्यूरोड, वालुवाटार, कोटेश्वर तथा भक्तपुरको भक्तपुर दरबार स्क्वायर, ललितपुरको पाटन दरबार स्क्वायर लगायतका स्थानमा महानगरपालीकाकाे सहकार्यमा एन्टीजेन परीक्षण गरिने छ ।

परीक्षणका लागि १५ जना स्वास्थ्यकर्मीको टोली परिचालन भएको छ।



Leave a Reply

Your email address will not be published.