प्रधानमन्त्री ओलीले भनेजस्तो ‘कन्ट्रोल’मा छैन नेपालमा संक्रमण
प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुराकानी गर्दै भने– अवस्था अहिले नियन्त्रणमै छ।
नेपालको कोरोना संक्रमणको बारेमा प्रधानमन्त्रीले सिएएन इन्टरनेशनसँग प्रत्यक्ष कुराकानी गरेका थिए। उनले अहिले कोभिडविरुद्धको लडाइँ नियन्त्रणमै रहेको दाबी गरे। तर भविष्यमा आइपर्ने संकटसँग जुध्नका लागि उनले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल पनि गरे।
‘सिचुएसन राइट नाउ इज अन्डर कन्ट्रोल’ अर्थात् ‘अहिलेको अवस्था नियन्त्रणमै छ’ उनले भनेका छन्।
उनले अघिल्लो वर्ष ‘लगभग’ नियन्त्रण भइसकेको संक्रमण जनताको लापर्वाहीले गर्दा फेरि दोस्रो लहरमा प्रवेश गरेको पनि बताए।
तर, महामारीको अवस्था प्रधानमन्त्रीले भनेजस्तो ‘अन्डर कन्ट्रोल’, अर्थात् नियन्त्रणमै भने छैन।
नेपालको अवस्था के हो?
शनिबार मात्रै नेपालमा ८ हजार २ सय ८७ संक्रमित फेला परेका छन् र ५३ जना मानिसको मृत्यु भएको छ।
अहिलेसम्म ३ हजार ६ सय ३२ जनाको निधन भइसकेको छ। मन्त्रालयका अनुसार ८३ हजार ४ सय ९३ सक्रिय संक्रमित छन्।
राजधानी काठमाडौंकै अस्पतालहरूमा बेड छैन। आइसियु, भेन्टिलेटर खाली छैनन्। अक्सिजन नपाएर संक्रमितले ज्यान गुमाइरहेका छन्।
निषेधाज्ञा लगाउनअघि स्वास्थ्य मन्त्रालयले नै एउटा विज्ञप्ती निकालेर अवस्था नियन्त्रणभन्दा बाहिर गइसकेको र अस्पतालम बेडहरू उपलव्ध गराउन नसक्ने अवस्था भइरसकेको बताएको थियो।
दिनहुँ बढिरहेका मृत्युका कारणा घाटहरू पनि अब साँघुरा हुन थालेका छन्। निषेधाज्ञाका कारणा आधा देश लगभग बन्द अवस्थामा छ।
मन्त्रालय भन्छ : धेरै बढेको छैन, केही दिनदेखि एउटै रेन्जमा छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतम पनि अहिले केही दिनयता संख्यात्मक अवस्था स्थिर भएको बताउँछन्।
‘अहिलेको संक्रमणको अवस्था हेर्दा धेरै बढेको छैन। तीन–चार दिन यता एउटै रेन्जमा आइरहेको छ। हामीले निषेधज्ञा अब १० दिन जति गर्यौं भने संक्रमण घट्छ। अहिले एकदमै बढेको छैन। पहिला बढेको थियो। दुई चार दिन यता स्थिर नै छ’ उनले भने।
उनका अनुसार संक्रमण दर घटेको छ वा बढेको छ भनेर यकिन गर्नका लागि कम्तीमा २१ दिनको ट्रेन्डलाई मूल्याङ्कन गर्नुपर्नुपर्ने हुन्छ। त्यसैले संक्रमणको चेन ब्रेक गर्नका लागि कम्तीमा २१ दिन प्रतिवन्धात्मक अवस्था लागु गर्नुपर्ने हुन्छ।
‘२१ दिन लकडाउन गरेपछि संक्रमण् घट्न थाल्छ। कति घट्छ, त्यो आकंलन गर्न सकिँदैन। बाहिर पो त लकडाउन गरिएको छ। घरभित्र कति संक्रमित भएका छन् त्यो त थाहा छैन नि’ उनले भने ‘घरमा बसेर मानिसले जनस्वास्थ्यको मापदण्ड पालना गरेमा निषेधज्ञा लगाएको तीन हप्तामा संक्रमण घट्न थाल्नुपर्छ। तीन हप्तामा घटन् थालेन भने अर्को तीन हप्ता निषेधज्ञा लगाउनुपर्छ। ६ हप्तामा जरूर घट्छ।’
उनले महिनौंअघि देखि सावधानी अपनाउन आग्रह गरे पनि लापर्बाही भएका कारण अहिले संक्रमण बढेको दाबी पनि गरे। र, अहिले संक्रमण दर उच्च देखिनुमा एउटा प्राविधिक कारण रहेको पनि उनले बताए।
‘संक्रमणदर उच्च देखिनुको एक कारण छ। अहिले हामीले संक्रमितको सम्पर्कमा आएका मात्रै परीक्षण गरिरहेका छौं। त्यसैगरी, लक्षण भएकाहरूको गरेका छौं। यसमा संक्रमणदर अलि उच्च नै आउँछ’ उनले भने ‘जनरल जनसंख्यामा गर्दा संक्रमणदर घट्न सक्छ।’
उनका अनुसार अब सरकारले एन्टिजेन किटको व्यवस्थापन गर्दै छ। सुरूमै किनेको १ लाख ५० हजारमध्ये अहिले ३० हजार बाँकी छ। अब, १ लाख ५० हजार जति किट ल्याएर ठूलो जनसंख्यामा परीक्षण गर्न थालेपछि संक्रमण दर कम देखिनसक्ने उनको दाबी छ।
सरकारले उपकरणहरू अनि प्रविधि थप्दै गए पनि सबैजना अस्पतालै आउन थाले भने त्यसले धान्न सक्ने अवस्था भने हुँदैन।
‘सरकार उपकरण थप गर्दै छ। तर, जति पनि मान्छे अस्पताल आएको खण्डमा उपलब्ध हुन्छ भन्ने हुँदैन। उपकरण भएर मात्र हुँदैन। उपकरण चलाउने दक्षजनशक्ति चाहिन्छ। पोजेटिभ देखिएर अस्पताल आउँदा आइसियू,भेन्टिलेटर पाउन सकिएन भन्नुको कारण यही हो’ उनले भने ‘इटली, स्पेनमा कोरोना फैलिदा भेन्टिलेटर पाएनन नि। उनीहरूसँग साधन—स्रोत नभएर हैन नि१ विस्तारै संक्रमणदर घट्दै गयो भने उपकरणले धान्छ। एकैपटक धेरै संक्रमण भएमा उपचार दिन कठिन नै हुन्छ।’
विज्ञहरू के भन्छन् ?
‘प्रधानमन्त्रीले अन्तर्वार्तामा भनेको कुरा त मैले ठ्याक्कै सुन्न पाएको छैन। तर, समाचारहरूमा उहाँको भनाइअनुसार साँच्चै नेपालमा कोरोना संक्रमण नियन्त्रणमा छ भन्नु भएको भए, प्रधानमन्त्री बस्ने नेपाल र म बस्ने नेपाल फरक रहेछ’ संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी भन्छन्।
डा. सुवेदी अघिल्लो वर्षदेखि नै कोरोनासँग लडिरहेका अग्रपंक्त्तिका योद्धा हुन्।
‘धेरै मानिस अक्सिजन कम भएर पनि घरमै बसिराख्नु भएको छ। अस्पतालमा चाप बढेपछि सिलिण्डर ल्याएर अक्सिजन दिइरहेका छौं। बेड पनि खाली छैनन्। अक्सिजनसमेत पुर्याउन सकिएको छैन’ उनले भने ‘नेपालमा पहिलो कोरोनाको लहरमा सामान्य अक्सिजन दिएर र अन्य उपचार पद्धति मार्फत निको गर्न सकिएको थियो। अहिले अक्सिजन नपाएर नै मृत्युको मुखमा पुगिरहेका छन्। सुरूवात मा नै अक्सिजन दिँदा आइसियूको आवश्यकता नपर्ने सक्छ। तर, समयमा नै अक्सिजन दिन नसक्दा आइसियु नै चाहिने मृत्यु भइरहेको छ।’
उनका अनुसार नेपालमा कोरोना संक्रमणको अवस्था नियन्त्रणमा छ कि छैन भन्ने कुरा यिनै दृश्यले प्रष्ट पार्छन्।
‘अहिले जुन संक्रमितको चाप देखिरहेका छौं, विशेषगरी अस्पतालमा अक्सिजन चाहिने बिरामी आजभन्दा एकहप्ता अगाडी वा त्यो भन्दा पहिला संक्रमित भएका व्यक्ति हुन्’ उनले भने ‘यो एक हप्तामा संख्या झन्–झन् बढिरहेको छ। दैनिक रूपमा संक्रमितको संख्या घट्दै गएको देख्दैनौं। त्यसो हुँदा अहिले भन्दा अगाडीको परिस्थिति झन् भयावह छ भन्ने नै बुझ्नुपर्छ’ उनले भने।
जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीअनुसार प्रधानमन्त्रीले भनेजस्तो अवस्था नियन्त्रणमा छैन। बरु भयावह भइसकेको छ।
यो बीचमा सरकारले संक्रमण नियन्त्रणका लागि केही गर्न सकेन। तर सरकारले गरेको एउटै काम हो– रुघा, खोकी लाग्यो भने पिसिआर गराउनु भनेको छ।
‘यहाँ पनि उहाँले भन्न जान्नु भएन। प्रधानमन्त्रीले खुला सिमाना कारण थप समस्या भयो भनेर भनेको भए अन्तराष्ट्रिय सहयोग आउन सक्थ्यो। तर, नियन्त्रणमा राखेका छौ भनेर भन्दा त्यही अन्तराष्ट्रिय सहयोग पनि आउँदैन’ मरासिनी भन्छन्।
उनका अनुसार सरकार संक्रमण नियन्त्रणका लागि एक्टिभ सर्वेलेन्स, निगरानीको काम, व्यवहार परिर्वतन गर्नतर्फ लागेकै छैन। जस्तो कि चीनले एक्टिभ सर्वेलेन्स गरेर संक्रमणलाई रोकेको थियो।
उनका अनुसार सरकारले मास्क लगाउनुपर्छ भनेर कहिले आम नागरिकले बुझ्ने भाषामा भन्न सकेन। र, त्यसैको प्रतिफल अहिले दोस्रो लहरको मार खेप्नुपरेको छ।
दक्षिण एशियामै नियन्त्रणमा छैन महामारी
नेपालमात्रै होइन, पूरै दक्षिण एशियामै कोरोना भाइरसको महामारी अहिले नियन्त्रणमा छैन।
यसैसाता विश्व स्वास्थ्य संगठनले भनेको थियो विश्वको आधाभन्दा धेरै संक्रमित भारतमै भइरहेका छन् अनि मृत्युको एक चौथाइ भारतमै छ।
महामारीको दोस्रो लहरको संकटसँग जुधिरहेको भारतमा वितेको २४ घण्टाको अवधिमा चार लाखभन्दा धेरै नयाँ सङ्क्रमित फेला परेका छन्।
भारतमा यो सहित कूल संक्रमितको संख्या दुई करोड १८ लाख ९२ पुगेको छ।
भारतमा लगातार तेस्रो दिन चार लाखभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा थप चार हजार १८७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित
भारतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या दुई लाख ३८ हजार २७० पुगेको छ।
हाल विश्वमै कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या संयुक्तराज्य अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा छ। भारतमा अझै पनि ३७ लाख २३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन्।
दोस्रो लहरका कारण जनजीवन अस्तव्यस्त भए पनि भारत सरकारले देशव्यापी पूर्ण लकडाउन नगर्ने बताएको छ। कतिपय भारतीय राज्यहरुमा रात्रिकालीन निषेधाज्ञा वा आंशिक लकडाउन गरिएको छ।
राजधानी नयाँ दिल्लीमा आगामी मे १० सम्मका लागि लकडाउन गरिएको छ। गत जनवरीमा देशव्यापी खोप अभियान सञ्चालन गरिएको भारतमा हालसम्म करिब १६ करोड ७४ लाख व्यक्तिलाई कोभिड–१९ को खोप दिइसकिएको छ।
दक्षिण एशियाको अनियन्त्रित यो महामारी अहिले थाइल्यान्ड, कम्बोडिया र इन्डोनेशियामा समेत उसैगरी फैलिन थालेको छ।
नेपालको सरकारी तथ्याङ्कअनुसार रेडक्रसले यहाँ परीक्षण गरिएका मध्ये औसतमा ४० प्रतिशतभन्दा धेरैमा कोरोना संक्रमण देखिने गरेको छ।
पूर्वदेखि पश्चिमसम्मै भारतसँग जोडिएको नेपालमा पनि संक्रमण र मृत्युको संख्याले हरेक दिन ‘रेकर्ड’ बनाइरहेको छ।
भारतसँगै बङ्गलादेशमा पनि गत मार्चदेखि नै संक्रमण बढ्न थालेको हो। अप्रिल पहिलो सातादेखि बङ्गलादेशले लकडाउन गरेको छ।
नेपालमा भने बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित देशका ५० भन्दा धेरै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।
पाकिस्तानमा पनि पछिल्ला दिनमा संक्रमण बढिरहेको छ। त्यहाँका प्रधानमन्त्री इमरान खानले अवस्था नियन्त्रणमा आउन कठिन भइरहेको र
यस्तै अवस्था रहे भारतकै जस्तो अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिइसकेका छन्।
पाकिस्तान सरकारले मानिसलाई स्वास्थ्य मापदण्ड पालना गराउनका लागि सेना नै परिचालन गरेको छ।