टिचिङ अस्पतालमा बिरामीको पुकार : बरु बेड चाहिँदैन, अक्सिजन देउ

हेल्थपोस्ट नेपाल

त्रिवि शिक्षण अस्पताल (टिचिङ)को आकस्मिक कक्षमा पाइला हाल्ने ठाउँ छैन।

संक्रमितलाई समेत बस्ने ठाउँ छैन। बेड त परैको कुरा।

कोरोना संक्रमण भएर आएका उनीहरू टुसुक्क बसेका छन्।

शरीर कमजोर छ। हात—खुट्टाले काम गर्न छाडेका छन्।

आकस्मिक कक्षको भुईमा लखतरान छन्, पल्टिरहेका छन्। कोही बसिरहेका।

दृश्य देख्दा लाग्छ ‘अझै ठूलो विपत्ति भोग्न बाँकी छ।’

बिरामीका आफन्त बेड तथा अक्सिजन मिलाउन भौतारिइरहेका छन्।

चिकित्सकसँग हात जोडिरहेका छन्– जसरी भए पनि आइसियूको व्यवस्था गरिदिनुहोस् न।

हेल्थपोस्टकर्मी टोली आकस्मिक कक्ष बाहिर पुग्दा केही स्वास्थ्यकर्मी बिरामीका आफन्तसँग कुरा गर्दै थिए।

‘आइसियू बेड पाउन मुस्किल छ। भइरहेको बिरामीलाई निकाल्न सकिँदैन।अहिले त अक्सिजन नै ‘रामवाण’ हो।’

टिचिङमा अहिले ३० भन्दा संक्रमित भर्ना हुने पालो कुरेर बसेका छन्। तर, उनीहरूलाई राख्ने बेड छैन।

भूईमा उनीहरू जीवन–मृत्युसँग लडिरहेका छन्।

‘बरू यहीँ भूईमा राखेपनि हुन्छ। बिरामीलाई बेड चाहिँदैन। छिट्टो अक्सिजन दिन पाए हुन्थ्यो,’ संक्रमितका एक आफन्तले हामीसँग दु:ख पोखे।

डाक्टर तथा स्वास्थ्यकर्मी हतासमा छन्। यता–उति दौडिरहेका छन्।

‘सकेजति गरिराखेका छौं। श्रोत—साधन तत्कालै व्यवस्थापन गाह्रो हुँदो रहेछ,’ अस्पतालका उपनिर्देशक प्रा.डा. सुवास आचार्यले भने, ‘ दैनिक बेड थप्दै गएका छौं। तर, पुगेको छैन।’

हाल टिचिङमा मात्रै २ सय ३० जना संक्रमितको उपचार भइरहेको छ।

‘बेड नभएर बिरामीलाई ‘होल्ड’ गरेर राखेका छौं। अवस्था झ्न झ्न भयावह बन्दै गएको छ। आकस्मिक कक्षको बाहिर ३० जना भर्ना हुने पालोमा बस्नु भएको छ,’ डा. आचार्यले भने।

अस्पतालले तत्काल नै ५० बेड थप्ने तयारी गरेको छ। उपचारत सबै बिरामीलाई अक्सिजनको आवश्यकता परेको छ।

अस्पतालले सुरेश वाग्ले भवनमा ‘कोल्डवार’ वार्ड निमार्ण गरेको छ। जसमा अक्सिजन नचाहिने र अरु बिरामीलाई राख्न सकिने छ।

‘हिजो बेलुका ‘राउन्ड’मा हेर्दा अक्सिजन नचाहिने बिरामी नै फेला परेनन्। बिरामीलाई अक्सिजन नचाहिने बित्तिकै घर पठाइहाल्छौं,’ डा. आचार्यले भने।

हाल अस्पतालमा २२ बेड आइसियु छ। तर, ति सबै बेड पूरै भरिएका छन्। अस्पतालमा अक्सिजनको समस्या भइरहेको डा. आचार्य बताउँछन्।

‘दुई हजारको ‘अक्सिजन प्लान्ट’ फूल फेजमा चलिरहेको छ। त्यसका साथै ८०–९० ठूला सिलिन्टर थप लागिरहेको छ,’ उनले भने।

अस्पतालका फोेकल पर्सन डा. सन्तकुमार दास अब कोरोनाको भयावहलाई सामना गर्न नसक्ने अवस्था आएको बताउँछन्।

अहिले एकातर्फ आइसियू बेडको अभाव छ भने अर्को तिर अक्सिजन।

अक्सिजन सिलिण्डरको व्यवस्था गरेका छ। बेड खाली छैन, भुईमा राखेर उपचार गरिरहेको छ।

‘बिरामीलाई व्यवस्थापन गर्न एकदमै गाहे छ। आइसियू चाहिने बिरामीलाई अक्सिजन दिएर मात्रै राखेका छौं,’ डा. दासले भने।

भर्ना भएका २ सय ३० केसमध्ये २ सय १० जना हाई फ्लो अक्सिजनमा उपचार भइरहेको छ।

उनका अनुसार अझै भयावह अवस्था आउन बाँकी नै छ।

दैनिक रूपमा बेड नपाएर मात्रै टिचिङमा ४–५ जनाले ज्यान गुमाइरहेका छन्।

‘हाम्रो आँखा अगाडी नै बिरामीले ज्यान गुमाइरहेका छन्। आकस्मिक कक्षमा कुर्सी तथा म्याटमा राखेर उपचार गरिरहेका छौं,’ डा. दासले भने, ‘ सबैतिर बेडको हाहाकार छ। भूईमा राखेर भएपनि उपचार त गर्ने पर्र्यो।’

टिचिङले मुख्य भवनमा कोभिडका बिरामी राखेको छ।

हाल प्रमुख समस्याको रूपमा अक्सिजन भएको डा. दास बताउँछन्।

‘अस्पतालमा भएको अक्सिजन प्लान्टले धान्न सकेको छैन। सप्लार्यसले भनेको बेला उपलब्ध गराउँदैन। अक्सिजनको मात्रै सहज व्यवस्थापन गर्न सकेको भए, बिरामीलाई बचाउन सकिन्थ्यो,’ उनले भने।

२४ घन्टा आकस्मिक कक्षमा स्वास्थ्यकर्मी खटिरहेको छ।

एकै पटक दशौंको संख्यामा बिरामी आउँछन्। अधिंकाश गम्भीर प्रकृतिका हुन्छन्। उनीहरूको अक्सिजन लेभल ८५ भन्दा तल आइसकेको हुन्छ।

‘बिरामीको अवस्था हेर्दा आइसियू वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ,’ डा. दास भन्छन्, ‘ बिरामी छट्पटाइरहेका हुन्छन्। अस्पतालमा बेड छैइन। सिकिस्त बिरामीलाई आइसियूबाट झिकेर मर्न पनि दिनुभएन नि।’

जनशक्तिको अभाव उत्तिकै झेलिराख्नु परेको छ।

आइसियू बाहिर भएका बिरामीको कियरको लागि कुरूवा राख्नुपर्ने बाध्यता छ।

‘गम्भीर बिरामीलाई हेरचाह गर्न जनशक्ति पाएका छइनौं। अक्सिजन दिएर मात्रै राखेका बिरामीको कियर आफन्तले गर्नुपर्ने बाध्यता छ,’ डा. दासले भने।



Leave a Reply

Your email address will not be published.