प्रसुति अस्पतालले ५० बेडसहितको एचडीयू सञ्चालनमा ल्यायो
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले कोरोना संक्रमित महिला बिरामीका लागि ५० शय्याको हाई डिपेन्डेसी युनिट (एचडीयू) संचालनमा ल्याएको छ।
प्रसुति गृहकी निर्देशक डा. संगीता मिश्राले मंगलबारबाट एचडीयू सञ्चालनमा आएको बताइन।
‘हामीले महिला संक्रमित मात्रै लिन्छौ,’ डा. मिश्राले हेल्थपोस्टसँगको कुराकानीमा भनिन्, ‘५० शय्याको एचडियुमध्ये २० प्रतिशत शय्या भने गर्भवतीका लागि छुट्याएका छौं।’
संक्रमितको उपचारको लागि टेकु अस्पतालसँग सहकार्य गरिएको डा. मिश्राले जानकारी दिइन।
‘हामीले अक्सिजन मात्रै चाहिने मध्यम खालका बिरामीको उपचार गछौं। हामीसँग धेरै जनशक्ति उपलब्ध छैन। टेकुमा बेड नपाउने स्थिति भएपछि त्यहाँ आएका महिलालाई प्रसूतिमा ल्याएर उपचार गर्ने व्यवस्था मिलाएका छौं,’ उनले भनिन्।
डा. मिश्राका अनुसार अस्पतालका कर्मचारी र गर्भवतीलाई १८ बेड छुटाइएको छ।
‘सबै बेड संक्रमित महिलाका लागि मात्र राख्न सकिँदैन। भोलि गर्भवती आएको खण्डमा कहाँ राख्ने समस्या हुन्छ। त्यसकारण पनि हामीले बेड छुटाएका हौं,’ उनी भन्छिन्।
अस्पतालमा भएको अक्सिजन प्लान्टबाट सेवा उपलब्ध भइरहेको उनले जानकारी दिइन।