अस्पतालमा बेड लुकाउने र अक्सिजन कालोबजारी गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीले कसैलाई पनि नछोड्ने भन्दै सबै नागरिकलाई सावधान रहन आग्रह गरेका छन्।
‘महामारीलाई नियन्त्रण गर्न सरकारले सक्दो पहल गर्छ। धैर्य गरौं। सावधान होऔं। तर आतंकित नहोऔं’ उनले भने ‘महामारीले कसैलाई पनि छोड्दैन।’
देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निषेधाज्ञालाई थप कडा गरिने र विदेशबाट आउने जोसकुकैलाई पनि हरेकको स्वास्थ्य परीक्षण गरिने पनि बताए।
‘संक्रमणको चक्रा तोड्नका लागि विज्ञहरूले एक हदसम्म लकडाउन हुनुपर्छ भनेपछि हामीले निषेधाज्ञा लगायौं। यो प्रभाकारी हुँदैछ। अझैं कडा हुनेछ’ उनले भने ‘निषेधाज्ञा पालना गराउनका लागि हामीले टोलटोलमा सुरक्षाकर्मी परिचालन गरेका छौं। महामारी नियन्त्रणका लागि राज्य सबै संयन्त्र परिचालन गरेका छौं।’
उनले अस्पतालमा बेड लुकाउने र अक्सिजनको कालो बजारी गर्ने अनि भारतमा निर्यात गर्नेलाई कडा कारबाही हुने पनि बताए।
‘सबै अक्सिजन प्लान्टहरू सञ्चालन गरिनेछ। भारतमा अक्सिजन निर्यात गर्नेलाई कारबाही हुनेछ’ उनले भने ‘हरेक दिन सबै अस्पतालहरूलाई बेड अध्यावधिक गर्न भनिएको छ र बेड लुकाउने अस्पताललाई कारबाही गरिनेछ।’
उनले सबै नागरिकलाई खोप दिने अभियानमा सरकार लागिपरेको पनि बताए।
‘चीन रूस र कोभ्याक्ससँग समन्वय गरेर सबै नागरिकलाई खोप दिन सरकार लागिरहेको छ’ उनले भने ‘आफ्ना नागरिकलाई खोप लगाउनेमा भारतपछि नेपाल पहिलो राष्ट्र हो।’