चिकित्साशिक्षा विधेयक प्रतिवेदन संसद्मा पेस भएपछि अस्ट्रेलिया भ्रमण छोट्याएर फर्के गगन

हेल्थपोस्ट नेपाल

डा. गोविन्द केसी र सरकारबीच भएको सम्झौताविपरीत शिक्षा तथा स्वास्थ्य समितिबाट बहुमतको बलमा पारित प्रतिवेदन संसद्मा पेस भएसँगै अस्ट्रेलिया भ्रमणमा रहेका प्रतिनिधिसभा सदस्य एवम् कांग्रेस नेता गगन थापा भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् ।

एक साता लामो भ्रमणतालिका बनाएर गएका थापा संसद्मा विधेयकमाथिको प्रतिवेदन पेस भएसँगै भ्रमण छोट्याएर सोमबार मध्याह्न १२ बजे नेपाल ओर्लिएका हुन् । संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट पारित विधेयकमाथिको प्रतिवेदन समितिकी सभापति जयपुरी घर्तीले आइतबार संसद्मा पेस गरेकी थिइन् ।

शुक्रबार नेपालबाट हिँडेका थापा शनिबार अस्ट्रेलिया ओर्लिएका थिए । आइतबार सिड्नीमा आयोजित एउटा फन्ड रेजिङ कार्यक्रम र सोही दिन मेलबर्नमा जनसम्पर्क समितिको कार्यक्रममा सहभागी भएर उनी नेपाल फर्किएका हुन् । थापाले चिकित्साशिक्षा विधेयक डा. केसीसित सरकारले गरेको सम्झौताबमोजिम नै पारित गर्नुपर्ने भन्दै संसदीय समितिमा फरक मत राखेका थिए । यस आधारमा विधेयकमाथि संसद्मा छलफल हुँदा उनले प्रतिवेदनमाथि धारणा राख्न समय पाउँछन् ।

थापा डा. केसीले उठाएका एजेन्डालाई संसद् र सरकारमा रहँदासमेत कार्यान्वयन गर्ने बाटोमा हरसम्भव लाग्दै आएका छन् । यसअघि पनि डा. केसी अनशन बसेको समयमा उनी विभिन्न देशको भ्रमण रद्द गर्दै र छोट्याउँदै फर्केका थिए । चिकित्साशिक्षा विधेयक संसद्मा पारित हुने अवस्थामै रहेकाले आफू भ्रमण छोट्याएर फर्किएको थापाले स्विकारे ।

आफ्नै नेतृत्वको सरकारले गरेको सहमति लत्याएर सत्तापक्षीय सांसदहरूले बहुमतको बलमा समितिबाट प्रतिवेदन पास गरेपछि डा. केसीले अनशन सुरु गरका थिए । पूर्ण संसद्बाट पनि समितिबाटै पारित प्रतिवेदन जस्ताको तस्तै पारित गर्न सक्ने सम्भावनालाई मध्यनजर गरेरै थापा भ्रमण छोट्याएर फर्किएको उनीनिकट स्रोतले बतायो ।

थापा डा. केसीले उठाएका एजेन्डालाई संसद् र सरकारमा रहँदासमेत कार्यान्वयन गर्ने बाटोमा हरसम्भव लाग्दै आएका छन् । यसअघि पनि डा. केसी अनशन बसेको समयमा उनी विभिन्न देशको भ्रमण रद्द गर्दै र छोट्याउँदै फर्केका थिए । चिकित्साशिक्षा विधेयक संसद्मा पारित हुने अवस्थामै रहेकाले आफू भ्रमण छोट्याएर फर्किएको थापाले स्विकारे ।

समिति सभापति घर्तीले प्रतिनिधिसभामा विधेयकमाथिको प्रतिवेदन पेस गरिसके पनि प्रतिवेदनमाथि छलफल सुरु भएको छैन । पछिल्लो समय डा. केसीसँग यही सरकारले नै १५औँ अनशनका क्रममा गरेको सहमतिविपरीत विधेयक पारित गर्न नदिने योजनामा कांग्रेस छ ।



Leave a Reply

Your email address will not be published.