इपिडिमियोलोजी महाशाखाले भन्यो–नेपालमा कोरोनाको नयाँ भाइरस फैलिसक्यो
नेपालमा कोरोनाको नयाँ भाइरस फैलिँदो क्रममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
महाशाखा प्रमुख डा. कृष्ण पौडेलले केही दिनयता कोरोनाको संक्रमण संख्या बढ्नुमा नयाँ भेरियन्ट जिम्मेवार रहेको संकेत गरे।
स्वास्थ्य मन्त्रालयको प्रेस बिफिङमा डा. पौडेलले ‘युके भेरियन्ट’ नेपालमा देखिसकेको पुष्टि गरे।
‘नमुना परीक्षणमा युके भेरिन्यटसँग मिल्दोजुल्दो भाइरस देखिएका छन्। यसले ६ हप्ताभित्र संक्रमण संख्या बढ्ने निश्चित छ,’ डा. पौडेलले भने।
हाल विश्वभर तीन प्रकारका कोरोनाका प्रकार चर्चामा छन्। बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा देखिएका भाइरस बढी संक्रामक रहेको पाइएको छ।
तिनै भेरिन्यट भारतमा फैलिएको हुँदा नेपालमा पनि थप जोखिम रहेको डा. पौडेलले बताए।
‘यी भाइरसले छिट्टो संक्रमण फैलाउछ। कम उमेरका व्यक्तिमा पनि बढी जटिलता हुने देखिएको छ,’ डा. पौडेलले भने, ‘जसले गर्दा अस्पतालमा भर्ना हुने दर बढी हुने र अक्सिजन आवश्यकता बढी हुने देखिएको छ।’
डा. पौडेलले सामाजिक दुरी प्रयोग, व्यक्तिगत सरसफाई तथा मास्कको प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरे।
‘समयमै भीडभाड हुने ठाउँमा कडाइ गर्न सकेनौ भने भोलि स्थिति विकराल बन्दै गएपछि लकडाउन गर्नुको विकल्प छैन,’ डा. पौडेलले भने, ‘त्यसैले जनस्वास्थ्यको मापदण्ड सबैले पालना गरौँ।’
पछिल्लो हप्तामा विद्यालय जाने उमेरका विद्यार्थीमा संक्रमण भइ अस्पताल भर्ना भएको उनले बताए।
विद्यालय तथा भीडभाड हुने ठाउँमा संक्रमण बढ्दो छ। बेलैदेखि नै जनस्वास्थ्य मापदण्ड नअपनाउने हो भने संक्रमण विकराल हुने डा. पौडेलले बताए।