‘क्यान्सर सर्भाइभर -याम्प सो’ गर्दै नेपाल क्यान्सर अस्पताल

हेल्थपोस्ट नेपाल

क्यान्सररोगबारे जनमानसमा व्याप्त भ्रम चिर्दै नियमित स्वास्थ्यपरीक्षणमार्फत समयमै रोग पहिचान गरी उचित उपचार गराएमा क्यान्सररोग पूर्णतः निको हुनेतर्फ सचेत गराउने उद्देश्यले राजधानीमा सर्भाइभर र्याम्प सो गरिने भएको छ । नेपाल क्यान्सर सहयोग समूह र नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले ‘सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प सो’को आयोजना गर्न लागेका हुन् ।

कार्यक्रमबारे सर्वसाधारण तथा सम्बन्धित विभिन्न पक्षलाई जानकारी गराउन मंगलबार आयोजित पत्रकारसम्मेलनमा आगामी शुक्रबार (११ जनवरी) सो आयोजना गर्ने जानकारी दिइयो । सोमा २४ महिला तथा ४ पुरुष सहभागी रहने कार्यक्रम संयोजक स्वरूपा श्रेष्ठले जानकारी दिइन् । यस प्रकारको सो दोस्रोपटक पनि सञ्चालन गर्न नाम संकलन भइरहेको उनले बताइन् ।

काठमाडौं उपत्यकाभित्र सोले सकारात्मक प्रभाव पारेको खण्डमा उपत्यकाबाहिर पनि यस्ता सो सञ्चालन गरिने श्रेष्ठ बताउँछिन् । सुरुकै अवस्थामा नियमित स्वास्थ्यपरीक्षण गराएको खण्डमा क्यान्सररोग निको हुन्छ भन्ने सन्देश जनमानसमा पुर्याउनु नै सोको प्रमुख उद्देश्य रहेको उनी बताउँछिन् ।
‘क्यान्सररोगसम्बन्धी नेपाली समाजमा रहेको नकारात्मक भ्रम चिर्न र नियमित स्वास्थ्यपरीक्षणबाट समयमै क्यान्सररोग पत्ता लगाई सही उपचार गराउन सकेको खण्डमा क्यान्सररोग पूर्ण रूपमै निको हुन्छ भन्ने सन्देश दिनका लागि सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प सोको आयोजना गरिएको हो,’ नेपाल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. बीजेशराज घिमिरेले बताए । उनका अनुसार नेपालमा करिब ५० हजार क्यान्सररोगी छन् ।

‘विकसित मुलुकहरूमा क्यान्सररोगसम्बन्धी जनचेतना र समयमै स्वास्थ्यपरीक्षण गराउने र उपचारमा जाने परिपाटी बसेकाले क्यान्सररोगको वृद्धिदरमा अंकुश लगाउन विकसित मुलुकहरू सफल भएका छन्,’ उनले भने, ‘तर, गरिबी पछौटेपन, शिक्षा–दीक्षाको कमीका कारण नेपालजस्ता अल्पविकसित मुलुकमा भने समाजमा प्रचलित विभिन्न किसिमका भ्रम र अन्धविश्वासका कारण अधिकांश जनता क्यान्सररोगको परीक्षणका लागि उत्सुक देखिँदैनन् ।’

विश्वमा क्यान्सररोग महामारीकै रूपमा फैलिरहेको र नेपालमा पनि यसले महामारीको रूप लिएका कारण जनस्तरसम्म क्यान्सरबारे चेतना फैलाउने लक्ष्यका साथ सो आयोजना गरिएको घिमिरेले बताए । ‘विकसित मुलुकहरूमा क्यान्सररोगसम्बन्धी जनचेतना र समयमै स्वास्थ्यपरीक्षण गराउने र उपचारमा जाने परिपाटी बसेकाले क्यान्सररोगको वृद्धिदरमा अंकुश लगाउन विकसित मुलुकहरू सफल भएका छन्,’ उनले भने, ‘तर, गरिबी पछौटेपन, शिक्षा–दीक्षाको कमीका कारण नेपालजस्ता अल्पविकसित मुलुकमा भने समाजमा प्रचलित विभिन्न किसिमका भ्रम र अन्धविश्वासका कारण अधिकांश जनता क्यान्सररोगको परीक्षणका लागि उत्सुक देखिँदैनन् ।’

उनका अनुसार समाजमा क्यान्सररोगीलाई हेर्ने हेयात्मक दृष्टिकोणका कारण कतिपय क्यान्सररोगीहरू उपचारका लागि भारतलगायत अन्य देशमा जाने गरेका छन् । नेपालमा क्यान्सरका कारण मृत्यु हुनेको संख्या अकल्पनीय वृद्धि भइरहेको छ । केही शिक्षित र सम्पन्न परिवारमा समेत क्यान्सररोग लागेमा बाँचिन्न र बाँचे पनि क्यान्सररोगपछिको जीवन बेकार हुन्छ भन्ने सोच व्याप्त रहेको निर्देशक घिमिरे बताउँछन् ।

नियमित स्वास्थ्यपरीक्षणले प्राथमिक तहमै क्यान्सरपछिको जीवन स्वाभाविक र स्वस्थ रहन्छ भन्ने जानकारी दिनु नै र्याम्प सो कार्यक्रमको मुख्य लक्ष्य भएको आयोजकले जनाएको छ । सोमा क्यान्सरको उपचार गराएर निको भएका व्यक्तिहरूले समेत भाग लिनेछन् । क्यान्सररोगमाथिको विजेताहरूको सहभागिताले सो प्रभावकारी हुने आयोजकको अपेक्षा छ । गरिब तथा आर्थिक रूपमा विपन्न बिरामीहरूका लागि विशेष प्रकारको आर्थिक कोष सिर्जना गर्नु पनि सोको लक्ष्य छ ।



Leave a Reply

Your email address will not be published.