ओलीलाई मन पर्यो तीन ब्राण्ड– मार्सी, माफिया र डन
दुर्गा प्रसाईं मेडिकल व्यवसाय क्षेत्रको एक विवादित नाम हो।
विवाद र आलोचना जति नै भए पनि उनी आफ्नो शैलीमा उत्तिकै चलायमान छन्।
र, आज प्रधानमन्त्री केपी शर्मा ओलीले नै उनको चरित्रलाई सदर गरिदिए–दुर्गा प्रसाईको ब्राण्ड नै आलोचना हो भनेर। मुलुकको कार्यकारी प्रमुखलाई आफनोबारे यो अनुमोदनजन्य अभिव्यक्ति दिन लगाउने उनी साना खेलाडी पक्कै होइनन्।
राजनीतिक पहुँचका आधारमा मेडिकल व्यवसायमा खेल्दै आएका प्रसाईं केही समय पहिले नेकपाका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ नजिक थिए।
नेकपा ध्रुवीकृत भएसँगै प्रसाईंले पनि बाटो फेरेका छन्। उनी अहिले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीनिकट देखिन्छन्।
कुनै बेला प्रधानमन्त्री ओली र नेता दाहाललाई झापास्थित आफ्नै घरमा एउटै डाइनिङ टेबलमा बसाएर मार्सी चामलको भात खुवाउँदै उनी चर्चामा आएका थिए।
त्यो प्रकरणपछि मार्सी चामल नै एउटा चर्चित बजारीया ब्राण्ड बन्न पुग्यो। त्यसैबाट हौसिएर उनले केही समयअघि मार्सी नामक वियरसमेत लन्च गरे।
…
दुर्गा प्रसाईंले मंगलबार प्रधानमन्त्री ओलीबाट झापाको बिर्तामोडमा पूर्वान्चल क्यान्सर अस्पतालको उद्घाटन गराए। उद्घाटनका लागि प्रसाईंले प्रधानमन्त्री ओलीलगायत थुप्रै विशिष्ट अतिथिहरूलाई झापा बोलाएका थिए। हेलिकप्टरबाट सन्चारकर्मी ओसारे।
उद्घाटन कार्यक्रममा प्रसाईंले ओलीको खुब तारिफ गरे। ओलीले त्यसको बदलामा विएण्डसी मेडिकल कलेजले छिट्टै सम्बन्धन पाउने घोषणासमेत गरे।
‘यो क्यान्सर अस्पताल मात्र हैन, बिएन्डसी टिचिङ अस्पताल अब शिक्षण अस्पतालको रूपमा अगाडि बढ्छ,’ उनले भने, ‘यो कुरा अघि बढिसकेको कुरा उहाँ दुर्गा प्रसाईंलाई थाहा छ।’
‘केही समयभित्रै शिक्षण अस्पतालका रुपमा अगाडि बढाउन हामीले प्रक्रिया अगाडि बढाइसकेका छौं। यसको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिँदै छ,’ ओलीले भने।
के राजनैतिक जोडबलले सम्बन्धन दिन मिल्छ?
मेडिकल कलेजको सम्बन्धननिम्ति अनिवार्य रूपमा चिकित्सा शिक्षा आयोगको सिफारिस चाहिन्छ।
तर, बिएन्डसी मेडिकलले सम्बन्धन पाउनका लागि आवश्यक केही पनि कागजात नपुगेका कारण आयोगले सम्बन्धन दिएको थिएन।
प्रसाईंले आयोगको उक्त अडानलाई चुनौती दिंदै सर्वोच्च अदालतमा चिकित्सा शिक्षा ऐन आउनुभन्दा अगाडिको मेडिकल कलेजका हकमा ऐन लागू नहुने भन्दै मुद्दा दर्ता गराएका छन्।
उक्त मुद्दा अझै अदालतमा विचाराधीन छ।
कानुनी रूपमा कलेजको अहिले सम्बन्धन नपाउने कारण प्रसाईंले राजनैतिक चाल चलिरहेको देखिन्छ।
यही सिलसिलामा प्रधानमन्त्री ओली स्वयं अग्रसर भएका छन्। हिजोका दिनमा प्रचण्डनिकट मानिएका, अझ प्रचण्डकै स्रोत चलाएको भनेरसमेत आरोपित प्रसाईंलाई च्याप्नु आज ओलीका लागि रणनीतिक रुपले अर्थपूर्ण छ।
प्रधानमन्त्री केपी ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको प्रत्यक्ष तजबिजमा गत बुधबार बालुवाटारमा बसेको काठमाडौं विश्वविद्यालयको सिनेटले एजेण्डामै नभएको सम्बन्धनसम्बन्धी निर्णयसमेत गरेको थियो।
ऐनबाहिर गएर सम्वन्धन असम्भवः माथेमा
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा चिकित्सा शिक्षा ऐनभन्दा माथिल्लो निर्णय–स्रोत अरु कुनै हुन नसक्ने बताउँछन्।
‘ऐन अनुसार सबै कुरा मिलेको छ भने सम्बन्धन दिन मिल्छ,’ माथेमाले हेल्थपाेस्टसँगको कुराकानीमा भने, ‘ऐन बाहिर गएर सम्बन्धन दिन मिल्दैन।’
‘ऐनभन्दा बाहिर गएर सम्बन्धन दिँदा सम्बन्धित पदाधिकारी बोल्न पर्यो नि। ऐन, नियमभन्दा बाहिर गएर काम गर्न मिल्छ र?,’ माथेमाले भने।
२०७५ मा चिकित्सा शिक्षा ऐन बन्नुपूर्व यो अधिकार विश्वविद्यालयलाई नै थियो।
विश्वविद्यालयका पदाधिकारीले प्रभावमा परेर जथाभावी सम्बन्धन दिलाएको आक्षेप लागेपछि सम्बन्धनलगायतका प्रक्रिया सबै ऐनमार्फत् आयोगमा ल्याइएको थियो।
मेडिकल कलेजको सम्बन्धनमा चिकित्सा शिक्षा आयोग सर्वाधिकारसम्पन्न छ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीका अनुसार मेडिकल कलेजले सम्बन्धन लिनका लागि सबै प्रक्रिया पूरा गर्नुपर्दछ।
‘आयोगले सिफारिस नगरीकन विश्वविद्यालयले सम्बन्धन दिन सक्दैन,’ डा. गिरीले भने, ‘कसले कहाँ के–के बोल्ले भन्ने कुराले महत्व राख्दैन। सम्बन्धन दिनका लागि आयोगका ऐन नियम अनुसार जानुपर्दछ।’
बिएण्डसीले सम्बन्धनका लागि भन्दै फागुन २०७६ मा आयोगमा निवेदन दिएको थियो । तर, आयोगले मनसायपत्र नवीकरण नभएको भन्दै त्योविना सम्बन्धन दिन नमिल्ने लिखित जवाफ दिएको आयोगका गिरी बताउँछन्।
‘बीएन्डसी कलेजको आसयपत्र नवीकरण पनि भएको देखिँदैन। त्यसमा विश्वविद्यालयको सहमित पत्र पनि देखिएको छैन,’ उपाध्यक्ष डा.गिरीले भने, ‘आसयपत्रका लागि कागजपत्र नपुगेका कारण हामी अनुगमनको पाटोमा छिरेकै छैनौं।’
के छ ऐनमा ?
बिएण्डसीले काठमाडौं विश्वविद्यालयमा २०७३ फागुन १५ गते एमबीबीएस कार्यक्रम सञ्चालन तथा सम्बन्धन स्वीकृतिका लागि निवेदन पेश गरेको थियो ।
चिकित्सा शिक्षा ऐन आउनुभन्दा अगाडि आसयपत्र लिएका र पूर्वाधार तयार गरेका संस्थाको हकमा पनि चिकित्सा शिक्षा आयोगले गरेको निर्णय अनुसार हुने व्यवस्था चिकित्सा शिक्षा ऐनको दफा १३ को उपदफा ६ मा छ।
ऐन अनुसार काठमाडौं र त्रिभुवन विश्वविद्यालयले थप नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिनसमेत पाउँदैनन्।
ऐनमा एक विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने कुरा उल्लेख छ।
काठमाडौं विश्वविद्यालयले ऐन आउनुभन्दा अगाडि नै ११ भन्दा बढी मेडिकल र डेन्टल कलेजलाई सम्बन्धन दिइसकेको छ। तर ऐनमा काठमाडौं उपत्यका बाहिरका अन्य शिक्षण संस्थाका हकमा आयोगले निर्णय गरे बमोजिम हुनेछ।
आयोगले निर्णय गर्दा यस ऐनको कुनै पनि कुराले बाधा पुग्ने छैन भन्ने उल्लेख छ।
यो आधारमा हेर्दा पनि आयोगले सम्बन्धनको सिफारिस गरेमा वा दिन सक्ने भन्ने निर्णय गरेमा मात्र काठमाडौं विश्वविद्यालयले थप नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन सक्ने बाटो खुल्छ।
आसय पत्र पाउनका लागि कलेज नवीकरण नभएका कारणले थप प्रक्रिया अगाडि बढ्न नसकेको आयोगले जनाएको छ।
प्रसाईंसँग किन लोभिए ओली?
मगंलबारको उद्घाटन सत्रमा बोल्दै प्रसाईंले प्रधानमन्त्री ओलीलाई ‘हजुरबुबा’ समेत भन्नभ्याए।
उनले ओलीलाई साक्षी राखेर कुनै पनि नेपालीले क्यान्सरको उपचारका लागि बाहिर जान नपर्ने दाबी गरे।
प्रसाईंले चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीलाई खिसी गर्दै दुई–चार झोला औषधि बोकेर बाड्ँदैमा नेपालको स्वास्थ्य सेवाको सुधार नहुने आरोपसमेत लगाए।
‘राज्यले कुनै व्यक्तिको मागको बन्धक कहिलेसम्म बन्नु पर्ने हो। हाम्रो चिन्तन र नीति के हो?’ प्रधानमन्त्रीसमक्ष प्रसाईंले प्रश्न गरे।
प्रसाईंको प्रशंसा
प्रधानमन्त्री ओलीले प्रसाईंको खुलेर प्रशंसा गरे। ओलीले कसैले आलोचना गर्दैमा प्रसाईं पछि नहट्ने मानिस रहेको बताए।
आलोचनालाई ब्रान्ड बनाउने प्रसाईंको विशेषता रहेको उनको भनाइ थियो।
‘भन्नेहरू भन्दै गर्छन, आलोचना गर्नेहरू गर्दै गर्छन,’ ओलीले भने,‘दुर्गा प्रसाईंको विशेषता छ। मार्सी चामल भनेर आलोचना भयो,उहाँले एउटा ब्रान्ड नै बनाइ दिनुभयो। माफिया व्हिस्की, डन इनर्जी ड्रिन्क। जे–जे गाली गर्या छन् , दुर्गा प्रसाईंले ब्रान्ड बनाइ दिनु भएको छ।’
डा. केसी भन्छन्–ओली मार्सी डनका नाइके
प्रसाईंले नै आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले विवादास्पद अभिव्यक्ति दिएपछि डा. गोविन्द केसी थप आक्रोसित बनेका छन्। उनले प्रधानमन्त्रीको अभिव्यक्ति चिकित्सा शिक्षा ऐनविपरीत भएको बताए।
‘आयोगको सिफारिसमा मात्रै विश्वविद्यालयबाट सम्बन्धन दिन पाइन्छ। त्यसका लागि थुप्रै प्रक्रिया छन,’ डा. केसीले भने, ‘विश्वविद्यालयको सिनेट बैठकले निर्णय गर्दैमा यो हुने कुरा होइन।’
डा. केसीले प्रधानमन्त्री ओली जनताको रक्षक नभई भक्षक बनिरहेको आरोप लगाए।
‘उनले जनताको मत कुल्चिरहेका छन्, के ठीक के बेठीक भन्ने कुराको ओलीलाई हेक्का नै छैन। ओलीले आफूलाई संविधानभन्दा माथि ठान्छन,’ डा.केसीले आक्रोस पोखे।
उनले ओलीलाई तानाशाह शासक भएको बताए। ‘ओली महाभ्रष्ट तानाशाह हुन्। उनमा आपराधिक मानसिकता छ। उनमा कुनै संवेदनशीलता छैन,’ डा. केसीले भने।
ओलीले भनेर केही नहुने भन्दै डा. केसीले नियममा भएका कुरामात्रै लागू हुने दाबी गरे।
उनले आफू सुशासनका लागि लडिरहेको बताउँदै ओलीको कुशासनविरुद्ध सधैं लडिरहने चेतावनी दिए।
उनले प्रधानमन्त्री ओली ‘मार्सीजस्ता माफियाको नाइके भएको’ आरोप लगाए। ‘कसैले सम्बन्धन चाहन्छन भने सम्बन्धन दिनुपर्छ। तर, त्यो विधि र प्रक्रियाअनुसार हुनुपर्छ। म सम्बन्धनको विरोधी होइन। विधि र प्रक्रियाको पक्षपोषक हुँ,’ डा. केसीले भने।
दुर्गममा गुणस्तरीय स्वास्थ्य सेवा पुगोस्, सबैले सुलभरूपमा चिकित्सा शिक्षा पढ्न पाउन भन्नेमै आफ्नो लडाइँ भएको उनले बताए।
उनले प्रदेश–प्रदेशमा मेडिकल कलेज खोलिनुपर्ने बताए।
पहिलाका सरकारले गरेका सम्झौता पनि ओलीले लुकाउने गरेको डा. केसीको आरोप छ। ओलीले जनताको मतमाथि कुठाराघात गरिरहेको बताए।
ओलीको उपचारका लागि जनताले करोडौं कर बुझाइरहेको भए पनि ओली जनतालाई सिटामोल दिन पनि जिम्मेवार नभएको आरोप डा. केसीले लगाए।
केसीले पहिलेका सरकारबाट सकारात्मक पहल भए पनि ओलीका पालामा ६ पटक अनसन बस्दा एउटा उपलब्धि नभएको बताए। उनले आफूसँगका सम्झौता रोकेर बिचौलिया र डनको नाइकेगिरी गरेको भन्दै ओलीको आलोचना गरे।
‘प्रसाईंले पैसा ख्वाएर ओलीलाई कार्यक्रममा लगेका हुन, डा. केसीले आरोप लगाए, ‘शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलगायत प्रधानमन्त्रीका सबै मन्त्री पनि उनीजस्तै भ्रष्ट छन।’