दुर्गा प्रसाईंको अस्पताल उद्घाटन गर्न प्रधानमन्त्रीको झापा यात्रा

हेल्थपोस्ट नेपाल

प्रतिनिधिसभा पुनःस्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक गृह जिल्ला झापा जाने भएका छन्।

विभिन्न कार्यक्रमा सहभागी हुन प्रधानमन्त्री ओली झापा जान लागेका हुन्।

प्रधानमन्त्रीका स्वकीय सहसचिव होमबहादुर थापाका अनुसार फागुन १६, १८ र २१ गते ओली झापा जान लागेका हुन्।  पहिलो दिन अर्थात १६ गते प्रधानमन्त्रीले दमक नगरपालिका र कमल गाउँपालिकाका बिभिन्न योजनाको शिलान्यास र उद्घाटन गर्नेछन्।

जसअन्तर्गगत प्रधानमन्त्री ओलीले दमक र चुलाचुली जोड्ने रतुवा नदीमा मदन भण्डारी मार्गमा पर्ने पुलको शिलान्यास गर्ने कार्यक्रम छ भने मदन भण्डारी मार्ग धरान पूर्व सेक्टर अन्तर्गत पर्ने एक दर्जन भन्दा बढी पुलको एकैपटक शिलान्यास गर्ने छन्। यसबाहेक दमक १ बाट चुलाचुली जोड्ने रतुवा नदीमा निर्मित पुल, दमक ४ बाट उर्लाबारीको आमबारी जोड्ने मावा पुल, दमक १० बाट बालुवथान जोड्ने रतुवामा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

गौरादह, दमक र कमलमा २ हजार २ सय विगाहमा बन्ने चाइना नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्कको पनि प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने छन्। कमल गाउँपालिका ७ मा हुने कार्यक्रमपछि प्रधानमन्त्रीले त्यहाँ आयोजना गरिने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यस्तै, फागुन १८ गते प्रधानमन्त्री ओलीले पुनः झापा जानेछन्। उनले व्यवसायी दुर्गा प्रसाईँले सञ्चालन गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्नेछन् । दुर्गा प्रसाईँ उनै व्यक्ति हुन् जसले तत्कालिन नेकपा एमाले र नेकपा माओवादीबीच एकता प्रयास भइरहेका बेला नेकपा एमालेका अध्यक्षसमेत रहेका हालका प्रधानमन्त्री ओली र तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफ्नो निवासमा मार्सी चामलको भात खुवाएर चर्चामा आएका थिए।

यस्तै, २१ गते पनि ओली झापा जानेछन् जहाँ उनले सुखानी शहीद स्मृति दिवसका अवसरमा बिर्तामोडमा हुने सभालाई सम्बोधन गर्ने तयारी छ । प्रतिनिधिसभा पुनःस्थापनापछि नैतिक दवाबले घेरिएका ओलीको झापा दौडाहालाई अर्थपूर्ण रूपमा हेरिएको छ।



Leave a Reply

Your email address will not be published.