नयाँ मेडिकल कलेजको सम्बन्धन नदिन काठमाडौं विश्वविद्यालयलाई डा. केसीको चेतावनी
काठमाडौं विश्वविद्यालयको सिनेट बैठकमा नयाँ मेडिकल कलेजको सम्बन्धनको विषयले प्रवेश पाएकोमा डाक्टर गोविन्द केसीले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
चिकित्सा शिक्षा ऐनमा प्रस्टसँग एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था गरेको छ। काठमाडौं विश्वविद्यालयअन्तर्गत अहिले नै झण्डै दर्जन मेडिकल र डेन्टल कलेज सञ्चालनमा रहेकोमा नयाँ मेडिकल कलेजका लागि अनुमति दिन नहुने डा. केसीले बताए।
‘मेडिकल शिक्षाको गुणस्तर लत्याउँदै व्यापारमा मात्र ध्यान दिएकाले गुणस्तर कायम गर्नका लागि त्यस्ता केही मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने विषय यस अगाडिका सिनेट बैठकमा समेत उठेको छ। अर्कोतिर त्रिविले पनि चिकित्सा शिक्षा ऐन जारी हुनु अगाडि नै पाँचभन्दा बढी कलेजलाई सम्बन्धन दिइसकेको छ’, डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्रिवि वा काठमाडौं विश्वविद्यालयले थप मेडिकल कलेजलाई सम्बन्धन दिने अवस्थाको कल्पनै गर्न सकिँदैन।’
यसैबीच चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई धम्क्याउने तथा गुण्डागर्दी गर्ने व्यक्तिले काठमाडौं विश्वविद्यालयका नयाँ पदाधिकारीलाई प्रधानमन्त्री र शिक्षामन्त्रीमार्फत अनुचित दबाबमा पारेर सम्बन्धन लिने चोर बाटो खोजेको प्रष्ट भएको उनले दावी गरेका छन्। यो गैरकानुनी काम भएको भन्दै उनले काठमाडौं विश्वविद्यालयका पदाधिकारी यस कार्यमा संलग्न नहुन चेतावनी दिएका छन्।