चिकित्साशिक्षा आयोगका उपाध्यक्षलाई निरन्तर धम्की, गेटमा बम
चिकित्सा शिक्षामा देखिएका विकृतिको एकीकृत समाधान गर्ने उदेश्यले गठित चिकित्साशिक्षा आयोगका प्रथम उपाध्यक्ष डा. श्री कृष्ण गिरीले विभिन्न खालका दबाब तथा धम्की आइरहेको बताएका छन्।
आयोगले हालै सञ्चालन गरेको स्नातकोत्तर तह (पिजी) को प्रवेश परीक्षा तथा नयाँ कलेजलाई सम्बन्धनका विषयलाई लिएर भौतिक आक्रमणदेखि ज्यानै मार्नेसम्मको धम्की आइरहेको डा. गिरीले खुलासा गरेका छन्।
चिकित्साशिक्षा अभियान्ता डा. गोविन्द केसीले केही दिनअघि विज्ञाप्ति जारी गरेर आयोगका पदाधिकारीलाई धम्की दिएको र घर नजिक बमसमेत राखिएको भन्दै त्यस्ता कार्यमा संलग्नमाथि कारबाहीको माग गरेका थिए।
सोपश्चात् हेल्थपोस्टले डा. गिरीसँग प्रतिक्रिया लिएको छ।
‘पछिल्लो समयमा धेरै अज्ञात नम्बरबाट फोन आइरहेको छ,’ डा. गिरीले हेल्थपोस्टको विशेष कुराकानीमा भने, ‘८–१० दिन त फोन नै अफ गरेर राख्नुपर्यो।’
डा. गिरीले साझा प्रवेश परीक्षालाई व्यवस्थित गर्ने प्रयास स्वारुप पारदर्शी रूपमा परीक्षा गराउँदा नै आफूमाथि चौतर्फी आक्रमण भइरहेको बताए। ‘यही बाटो हिड्लास्’ भन्दै धम्क्याउने र चेतावनी दिनेगरेको डा. गिरीले गुनासो गरे।
धम्कीकै बीचमा गिरीको घरको गेटमा माघ ६ गते शंकास्पद बस्तु राखिएको थियो।
‘राति ८ बजेको थियो। गेटमा वियरको बोतलमा सुतली हालेर बम जस्तो बनाए राखिएको रहेछ। केही कपडामा पेट्रोल हालेर गेटमा फालिएको थियो,’ डा. गिरीले भने, ‘समयमा नै त्यस्तो बस्तु देख्नाले मेरो ज्यान जोगियो।’
डा. गिरीका अनुसार घटनास्थलको प्रकृति हेर्दा ज्यानै मार्नेसम्मको योजनासाथ नै पेट्रोल बम राखिएको आशंका छ।
घटनास्थलमा प्राप्त प्रमाण एवं पर्चाका आधारमा विजय थापा भनिने व्यक्तिले जिम्मेवारी लिएका छन्।
थापा तीनै व्यक्ति हुन् जो डा. गोविन्द केसीविरुद्ध विभिन्न समयमा काउन्टर अनशनका बसेका थिए।
उनले आइओएमका डिनमाथि दुर्व्यवहारको गरेको घटना सार्वजनिक भए पनि सरकारले उनीमाथि कारबाही गरिरहेको छैन्। थापा बि एण्ड सीका मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई र नेकपाका केही नेताको समर्थन र संरक्षणमा मेडिकल क्षेत्रमा भएका सुधार प्रयास र अभियानविरुद्ध लाग्दै आएका छन्।
‘घटनास्थलमा भेटिएको पर्चामा घटनाको जिम्मेवारी लिन्छु भनेर विजय थापाको नाम उल्लेख गरिएको थियो,’ डा. गिरीले भने ।
उनका अनुसार पर्चामा एक वर्षअघि बि एण्ड सीका सञ्चालकले डा. गिरीमाथि लगाएको झुठा आरोपको समेत विवरण उल्लेख गर्दै पिजी प्रवेश परीक्षामा बेथिती भएको आरोप लगाइएको थियो।
प्रसाईले मेडिकल कलेजलाई सम्बन्धन दिन अस्विकार गरेको भन्दै डा. गिरीमाथि २० करोड घुसमागेको आरोप लगाएका थिए। तर, गिरीले प्रसाईमाथि मुद्दा दायर गरेपछि प्रसाई फरार भएका थिए।
पछि उनले भक्तपुर जिल्ला प्रशासनमा उपस्थित भएसँगै नेकपाका नेताको पहलमा मुद्दा मिलाएका थिए।
डा. गिरीले घटना लग्तै नजिकैको प्रहरीलाई जानकारी गराएका थिए। तर, पनि प्रहरीले घटनाको छानविन र दोसीमाथि कारबाहीको तदारुकता देखाएको छैन्।
‘मैले राति नै नजिको पुलिसलाई खबर गरेको थिएँ। तर, त्यसको कारबाही के भयो अहिलेसम्म जानकारी छैन,’ उनले भने।
‘मेरो सुरक्षाकर्मीलाई पनि तेरो डाक्टरलाई मलाई जुन बेला मन लागे पनि कुटपिट गर्न सक्छु। भेटेरै भौतिक रूपमा आक्रमण गर्ने पनि धम्की दिएको छ,’ उनले भने।
उनले यस्ता घटना, निरन्तरको फोन कल घर वरपर शंकास्पद बस्तु राख्ने घटनाले आफूलाई निकै असुरक्षित महसुस भएको बताए।
अनियमित काम र बेथिति गरेर फाइदा उठाउने समूह चिकित्सा शिक्षा आयोगलाई अस्तव्यस्त पार्न लागिपरेका उनको आरोप छ।
‘यस्ता गतिविधि गरेर मलाई त्रास देखाउन खोजेका छन्। तर, यस्ता गतिविधि गरे भन्दैमा आयोग कानून बाहिर गएर काम गर्दिन,’ डा. गिरीले भने।
डा. गिरीसँगको विस्तृत अन्तरवार्ता केही बेरमा प्रकाशित हुँदै छ ।