सभापति जयपुरी घर्तीको डा. केसीलाई आग्रह– धैर्य गर्नुस्, तत्काल अनशन नथाल्नुस्
संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले चिकित्साशिक्षा विधेयक संसदीय समितिबाट टुंगिनेक्रममा रहेको भन्दै थप केही दिन अनशन नबस्न डा. केसीसँग आग्रह गरेकी छिन् ।
उनले डा. केसी अनशनका लागि इलाम पुगिसकेको भन्ने सुन्नमा आएको भन्दै थप केही दिन पर्खिन आग्रह गरेकी हुन् ।
विचाराधीन रहेको चिकित्साशिक्षा विधेयक उपसमितिमा सहमतिको नजिक पुगिसकेको भन्दै घर्तीले संसदीय विधि र प्रक्रियालाई ध्यानमा राखेर केही दिन धैर्य गर्न आग्रह गरेकी हुन् । बुधबारको समितिको बैठकलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै सभापति घर्तीले समितिबाट विधेयक टुंगिँदा सरकार र डा. केसीबीचको सम्झौताको भावना र मर्मअनुरूप नै मूल संसद्मा विधेयक पठाउनेसमेत बताइन् ।
‘संसद्को समिति पनि मिनिसंसद् नै हो, यहाँ घनीभूत रूपमा छलफल भइरहेको छ,’ उनले भनिन्, ‘विधि र प्रक्रियालाई बुझेर केही दिन अनशनको कार्यक्रम सुरु नगर्नुस् ।’
उनले विधेयक स्वास्थ्यशिक्षासँग सम्बन्धित गम्भीर विषय भएकाले छलफल लम्बिएको र उपसमितिले थप केही समय माग गरेकाले शुक्रबारसम्म विधेयक टुंगिने विश्वास लिइन् । ‘संसद्को समिति पनि मिनिसंसद् नै हो, यहाँ घनीभूत रूपमा छलफल भइरहेको छ,’ उनले भनिन्, ‘विधि र प्रक्रियालाई बुझेर केही दिन अनशनको कार्यक्रम सुरु नगर्नुस् ।’
उनले समितिले विधेयक टुंग्याउँदा समितिले डा. गोविन्द केसी र सरकारबीचको सम्झौतालाई मुख्य प्राथमिकतामा राखेको र राख्ने दोहोर्याइन् । उनले बुधबार उपसमितिले प्रतिवेदन दिएपछि बुधबारै समितिबाट टुंग्याएर बिहीबारको संसद्मा लैजाने आफ्नो योजना रहेको समेत सुनाइन् ।
उनले उपसमितिका यसअघिका छलफलमा भन्दा सहमतिनजिक आइरहेको समेत बताइन् । ‘उपत्यकाबाहिरका मेडिकल कलेजको सम्बन्धन, सिटिइभिटी र छात्रवृत्तिका चिकित्सकको करार अवधिको विषय टुंगिन बाँकी छ, तर पनि पहिला टाढा देखिएका धारणाहरू नजिक पुगिसकेका छन् ।’
उनले सिटिइभिटीको विषय पनि चिकित्साशिक्षा आयोगको कार्यक्षेत्रभित्र रहन्न कि भन्नेमा पनि शंका नगर्न आग्रह गरिन् । ‘समितिले डा. केसी र सरकारबीचको सहमतिलाई केन्द्रविन्दुमा राखेर काम गर्छ,’ उनले भनिन्, ‘समिति भनेको मिनिसंसद् हो, यसले निष्कर्ष ननिकाल्दासम्म कुरिदिनुस् ।’