प्रत्येक प्रदेशमा एउटा स्वास्थ्यविज्ञान प्रतिष्ठान : मन्त्री यादव

हेल्थपोस्ट नेपाल

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्यसेवाको सहज प्रवाहका लागि प्रत्येक प्रदेशमा एउटा स्वास्थ्यविज्ञान प्रतिष्ठान र बहुविशेषज्ञ अस्पताल आवश्यक पर्ने बताएका छन् । यो विषयलाई सरकारले स्वास्थ्य नीतिमा समेत पारेर प्रतिष्ठान स्थापना र विकासको प्रक्रिया अगाडि बढाउने भनाइ उनको छ ।
‘प्रत्येक प्रदेशमा एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने, प्रत्येक अस्पतालमा आवश्यक जनशक्ति उपलब्ध गराउने सरकारको नीति हुन्छ,’ रिपोर्टर्स क्लबमा शुक्रबार आयोजित कार्यक्रममा उनले भने ।
सात प्रदेशमध्ये प्रदेश २ र सुदूरपश्चिममा मात्रै प्रतिष्ठान छैनन् । संघीय संरचनाअनुसार प्रदेश १ मा धरान, प्रदेश ३ मा न्याम्स, पाटन, प्रदेश ४ मा पोखरा, प्रदेश ५ मा राप्ती र प्रदेश ६ मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान छ ।

मन्त्री यादवले स्वास्थ्य क्षेत्र जहिल्यै उपेक्षामा परेको भन्दै अस्पतालहरू अभावग्रस्त अवस्थामा रहेको समेत बताए । ‘अस्पतालमा आवश्यक दक्ष जनशक्ति, प्राविधिक नहुने समस्या छ,’ उनले भने, ‘अस्पताल भएर मात्रै हुन्न, अस्पताल, स्वास्थ्य प्रतिष्ठानका लागि आवश्यक उपकरण, दक्ष जनशक्ति डाक्टर, नर्सको पर्याप्त आपूर्तिलगायत विषयमा ध्यान दिन सके मात्रै सर्वसाधारणले सेवा पाउँछन् र स्वास्थ्य क्षेत्र निकै अगाडि बढ्छ ।’

मानसिक स्वास्थ्यको क्षेत्रमा क्रियाशील संस्था कोसिसले आयोजना गरेको कार्यक्रममा उनले हरेक प्रदेशमा मानसिक स्वास्थ्यका लागि सेन्टर स्थापना गर्नुपर्ने बताए । मानसिक स्वास्थ्यसम्बन्धी चेतना र उपचारको दायरालाई अभियानका रूपमा स्थानीय तहसम्म लानुपर्ने मन्त्री यादवले बताए ।
उनले सरकारले नयाँ स्वास्थ्य नीति यही महिना ल्याउने तयारी गरिरहेको भन्दै यसमा मानसिक र शारीरिक स्वास्थ्यलाई बराबर प्राथमिकता दिइनेसमेत बताए ।

कार्यक्रमका सहभागी जानकारहरूले पछिल्लो समय नेपालमा मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गएको प्रति चिन्ता व्यक्त गरे । कोसिस नेपालका संस्थापक अध्यक्ष मात्रिका देवकोटाले १५ देखि ४९ वर्ष समूहका महिलामा मृत्युको प्रमुख कारण आत्महत्या भएको जानकारी दिएका थिए । गरिबी, अशिक्षा, टिनएजका समस्या, राजनीतिक अस्थिरता, बढ्दो बेरोजगारीको समस्या, भविष्यको अनिश्चिततालगायत कारणले मानसिक समस्या बढ्दै गएको सहभागीहरूको भनाइ थियो ।



Leave a Reply

Your email address will not be published.