काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल
आज काठमाडाैं उपत्यकाको तापक्रम यसवर्षकै न्यून मापन गरिएको छ। आज तापक्रम १ डिग्री सेल्सियसभन्दा तल आइपुगेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान उपत्यकाको न्यूनतम तापक्रम ०.८ डिग्री सेल्सियस पुगेको जनाएको छ। यो यसवर्षकै न्यून हो।
महाशाखाले काठमाडौंको तापक्रम अझै तल झर्नसक्ने अनुमान गरेको छ। तराईका केही क्षेत्रमा हुस्सु लागेपनि बाँकी ठाउँमा भने मौसम सफा रहने महाशाखाको अनुमान छ।
तराईका केही स्थानहरुमा बिहानी पख लागेको हुस्सु अपरान्हसम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने देखिन्छ।
हुस्सु लागेको स्थानहरुमा राम्रोसँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउन तथा यात्रामा पर्नसक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
आज जुम्लाको तापक्रम माइनस ८.५ डिग्री सेल्सियसमा झरेको छ। यस्तै दिपायलको ०.४, वीरेन्द्रनगरको १.९ डिग्री सेल्सियस मापन गरिएको छ।
नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले पहाडी क्षेत्रमा बादल लाग्नुका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।