क्यान्सर अस्पताल प्रशासन ! तटस्थ बसेर सेवा गर्ने चिकित्सकलाई नै दुःख दिने?
हालै केहि अनलाइन मिडियाहरुमा म र भक्तपुर क्यान्सर अस्पतालका बारेमा प्रकाशित सामाचार प्रति मेरो ध्यानाकर्षण भएको छ । उक्त सामाचारमा वास्तविक भनि प्रकाशित तथ्य पूर्वाग्रहित तथा निहित स्वार्थ लिई सम्प्रेषन गरेकोमा खेद प्रकट गर्दछु । यस बारेमा केहि तथ्यहरु स्पष्ट पार्न चाहन्छु ।
१. भक्तपुर क्यान्सर अस्पताल बिगतमा नेपाल अर्बुद रोग निवारण संस्था नेपाल क्यान्सर रिलिफ सोसाइटीद्घारा क्यान्सर अस्पताल व्यवस्थापन समिति मार्फत संचालित अस्पताल हो । विगत डेढ वर्षदेखि समिति र भक्तपुर नगरपालिका बीच संचालन सम्बन्धमा विवाद भएपछि, सम्मानित सर्वोच्च अदालतमा मुद्दा बिचाराधिन भएपनि, हाल सोसाइटीलाई नै बैधानिकता प्रदान गरेपनि, अस्पताल प्रशासन र संस्थाबीच सुमधुर सम्बन्ध छैन् ।
तथापी हालसम्म NCRS समिति मार्फत नै कर्मचारीहरुको वृत्ति विकास र तलब भुक्तानी हुदै आएको छ । २०७४ साल असोज २४ गते मेरो मेडिकल डाइरेक्टरको पदावधि सकिएपछि, तल्कालिन व्यवस्थापन समितिले निमित्त मेडिकल डाइरेक्टरको अस्थायी जिम्मेवारी दिएपनि हालसम्म अस्पतालमा बैधानिक रुपमा डाइरेक्टर नियुक्त भएका छैनन् । हालै मात्र नेपाल सरकारले कार्यकारी निर्देशक नियुक्त गरेपनि, विकास समितिले पुर्णता नपाउदा प्रशासनिक कार्य पूर्णरुपमा सरकारी कर्मचारीहरुले चलाएका छैनन् ।
२. विगतको अस्पताल नियमावलीमा अनिवार्य अवकास उमेर ५८ वर्ष भएको र नेपाल सरकारमा पनि प्राविधिकको उमेर ६० वर्ष छ । यी दुबै उमेर हद नाघेपनि केहि कर्मचारी हाल पनि अस्पतालमा कार्यरत रहेका छन। त्ससैले मेरो हकमा, केहिमहिना मात्र बाँकी भएकाले सो अवधिसम्म सेवा गर्न चाहन्छु ।
३. अस्पताल प्रशासन र नेपाल अर्बुद रोग निवारण संस्था व्यवस्थापन समिति बीच सहज सम्बन्ध नभएकाले, अस्पताल प्रशासनले कर्मचारीहरुलाई डर, त्रास, प्रलोभन देखाई आफुतिर तान्न खोजिरहन्छन र तटस्थ बसेर सेवा गर्नेलाई समेत विभिन्न बहानामा दु:ख दिने गरेकोछ । मेरो मेडिकल डाइरेक्टरको पदावधि सकिएपछि मैले सार्वजनिक रुपमै कुनै पनि प्रशासनीक पदमा नबसी चिकित्सकको रुपमा मात्र काम गर्छु भन्दा पनि केहि व्यक्तिको अमुक स्वार्थको लागि पटक पटक मेरो बारेमा डाइरेक्टर, सिइओ आदि बन्दैछ भनि अर्नगल प्रचार तथा पम्पल्टीङ गरेको कुरा सर्वविदितै छ ।
सोही सिलसिलामा मिति २०७६ र ७ र २५ देखि विना सूचना मेरो हाजिर अस्पताल प्रशासनले (समितिले होइन) बन्द गराएको हुदाँ, मैले स्वभाविक रुपमा तत्कालिन अधिकारिक समिति समक्ष निवेदन गर्दा (अस्पतालमा वैधानिक डाइरेक्टर नभएकाले) मलाई नेपाल अर्बुद रोग निवारण संस्था केन्द्रीय कार्यालय र चाहिएको वखत अस्पतालमा समेत काम गर्नेगरी नेपाल अर्बुद रोग निवारण संस्था केन्द्रीय कार्यालयमा काजमा खटाएको थियो । सोही अनुरुप मैले दुबैतिर काम गर्दे आएको थिएँ ।
४. हालै नेपाल सरकारले अस्पताल विकास समिति गठन गरेर नयाँ कार्यकारी निर्देशक नियुक्त गरेपछि नेपाल अर्बुद रोग निवारण संस्था व्यवस्थापन समितिले काज फिर्ता गरेकाले मिति २०७७ र ९ र १ गते अस्पतालमा हाजिर भई सेवागर्न निवेदन दिएको छु । पत्रमा हाजिर हुन मात्र निवेदन दिएको छु । अरु कुनै सर्त राखेको छैन, तलब माग वा दावी गरेको छैन (निवेदन पत्र तल हेर्नुहुन अनुरोध गर्दछु ) ।
तलब भत्ताबारे सम्बधित पदाधिकारीले गर्ने निर्णय मलाई मञ्जुर छ । यसमा अरुलाई बोल्ने, पत्र, पत्रिकामा लेख्ने लेखाउने अधिकार कस्ले दियो ? अस्पतालका केहि सिमित कर्मचारीहरुले आफ्नो कमजोरी ढाकछोप गर्न तथा प्रतिसोध साँध्न कपोलकल्पीत कुराहरु लिई अनलाइन मिडियामा गएका हुन, जुन ज्यादै निन्दनीय छ ।
५. आजको आवश्यकता अर्कै थियो । लामो समयदेखि एउटै तहमा काम गर्नेको तलबको विभेद अन्त्य गर्ने, कर्मचारीको समय सापेक्ष स्थायी तथा बढुवा गर्ने, वर्षैदेखि स्थायी भएका कर्मचारीहरुलाई करारमा परिवर्तन गरिएकाले उनीहरुलाई यथाशीघ्र पुन स्थायी गर्ने, कमचारीहरुलाई समयमै तलब भत्ता उपलब्ध गराउने आदी ।
अस्पताल संचालनमा व्यवस्थापन र विकास समिति, प्रशासन, चिकित्सक, नर्स तथा अन्य सबै कर्मचारीहरुको उत्तिकै योगदान रहन्छ । मेरो कार्यकालमा अस्पतालको भौतिक संरचना, मेडिकल सामाग्र, कर्मचारीहरुको वृत्तिविकास, आर्थिक सम्पन्नता तथा शैक्षिक वातावरण आदी के कस्तो भयो भनि मैले आफैले मुल्यांकन गर्नु भन्दा पनि उक्त अवधिको समग्र मुल्यांकन गर्ने जिम्मा अस्पतालमा कार्यरत कर्मचारी र बिरामीहरुलाई दिन चाहन्छु ।