काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस नजिक
काठमाडौं उपत्यकाको तापक्रम १ डिग्री सेल्सियस नजिक पुगेको छ। आज उपत्यकाको तापक्रम यो वर्षकै न्यून १ दशमलव १ डिग्री मापन गरिएको हो।
यसअघि गत शनिबार यो वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको थियो। शनिबार काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव ३ रहेको थियो। त्यसअघि पुस ३ गते न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री मापन गरिएको थियो।
मौसमविद्का अनुसार राति बादल नलागेर मौसम सफा भएकोले बिहान चिसो बढेको हो।
आज काठमाडौंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
आज पश्चिमी वायुको सामान्य प्रभाव रहेको र पहाडी भूभागमा मौसम सफा रहेपनि तराईमा हुस्सु लागेको महाशाखाले जनाएको छ।
तापक्रम चिसो रहिरहने तथा तराई र पहाडी भूभागका केही स्थानमा बिहानीपख हुस्सु÷कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।