स्यानिटाइजरको अधिक प्रयोगले छालामा समस्या
कोरोना भाइरसको संक्रमण विश्वभर नै फैलिएपछि विश्व स्वास्थ्य संगठनले मास्क लगाउन, साबुनपानीले हात धुन, भौतिक दुरी कायम गर्न तथा स्यानिटाइजरको नियमित प्रयोग गर्न आग्रह ग¥यो।
धेरैले कोरोना संक्रमण फैलनुअघि नसुनेको स्यानिटाइजर गाउँदेखि सहरसम्म प्रयोगमा आयो। कतिपयले त स्यानिटाइजर लगाउँदा कोरोनाले छुनै नसक्ने सम्मसमेत भन्न भ्याए।
यसक्रममा बजारमा थुप्रै गुणस्तरहिन स्यानिटाइजरसमेत बजारमा आए। कतिपयले सरकारले अनुगमन गर्दै मापदण्ड विपरीत रहेको बन्दै उत्पादनमा नै रोक लगायो।
स्यानिटाइजरले संक्रमणबाट बच्न केही हदसम्म सहयोग गर्ने भएपनि बारम्बारको प्रयोग छालाका लागि नराम्रो हुनसक्छ।
डा. अनुपमा कार्की पनि स्यानिटाइजरको अधिक प्रयोगले छालामा समस्या आउने सक्ने बताउँछिन्।
वीर अस्पतालमा करिब ११ वर्षदेखि चर्म तथा यौन रोग विशेषज्ञ विभागको प्रमुख भएर काम गर्दै आइरहेकी उनै डा कार्कीसँग हेल्थपोस्टकर्मी रेणु त्वानाबासुले गरेको कुराकानी–
स्यानिटाइजरको प्रयोगले छालालाई असर गर्छ कि गर्दैन?
स्यानिटाइजरले छालालाई असर गरिरहेको हुन्छ। यसको अधिक प्रयोगले छालामा सुख्खापन बढाउने, चिडचिडापन ल्याउने, चिलाउने, जलन, एलर्जी हुन सक्छ। जाडो मौसममा यसले झन् बढी असर पार्छ। जाडोमा त्यसैपनि छाला सुख्खा हुन्छ, त्यसमा स्यानिटाइजर लगाउँदा झन् बढी छाला सुख्खा बनाउँछ।
स्यानिटाइजरको धेरै प्रयोगले छालाबाट निस्किने प्राकृतिक तेल उडेर जान्छ। जसले छाला नरम बनाइराख्न सहयोग गरेको हुन्छ।
छाला सुख्खा भए के हुन्छ?
छाला धेरै सुख्खा भएको खण्डमा हात फुट्ने, खटिराजस्तो एलर्जीहरु हुने गर्दछ। स्यानिटाइजरले एक्जिमाको जोखिम पनि बढाउन सक्छ। यसले छालामा सामान्यतया रातोपन, ड्राईनेस, व्रmयाक्स ल्याउन सक्छ। छाला चिलाउने वा दुख्ने हुन्छ।
स्यानिटाइजरले कसरी छालामा चिडचिडापन ल्याउन सक्छ?
इथाइल वा आइसोप्रोपाइल रक्सी हो। कहिलेकाँही रक्सीको कडा गन्ध कम गर्नका लागि बास्ना आउने गरी तयार गरेको हुन्छ। यस्ता बास्ना आउने रसायनले छालामा नराम्रो असर गर्ने गर्छ। जसको कारण छालामा जलन हुने वा छाला सुख्खा हुन सक्छ।
कस्तो खालको छालामा यसले धेरै असर गर्छ?
सबैको छाला एउटै किसिमको हुँदैन। कसैको एकदम संवेदनशील हुन्छ। संवेदनशील छालामा चाँडै असर गर्छ। त्यस्तै हातमा घाउ भएको, फुटेको, चिरा परेको छ भने त्यस्तो छालामा स्यानिटाइजर प्रयोग गर्नु हुँदैन। यसले घाउमा इन्फेक्सन हुने डर हुन्छ। स्यानिटाइजरमा रक्सी हुने भएकोले जलन हुने समस्या हुन्छ। साथै पहिलेदेखि छालाको रोग छ भने स्यानिटाइजरको प्रयोगले अझ बढाउन सक्छ।
स्यानिटाइजर दिनको कति पटकसम्म लगाउँदा असर कम गर्न सकिन्छ?
अब यतिउति भनेर त हुँदैन। सकेसम्म कम लगाउँदा राम्रो। एक घन्टामा एकचोटि लगाउन सकिन्छ भनिएको छ। स्यानिटाइजर भन्दा पनि साबुनपानीले हात धुँदा राम्रो। स्यानिटाइजरले साबुनपानीको जति नै काम गर्दैन।
कसरी जोगाउने त छालालाई?
जाडो महिनामा स्यानिटाइजरको सट्टा न्यानो पानी र साबुनले हात धुँदा राम्रो हुन्छ। नियमित बाहिर जानुपर्ने काम छ भने स्यानिटाइजरको साथसाथै मोइस्चराइजिङ क्रिम एउटा आफूसँग राख्दा हुन्छ। स्यानिटाइजर लगाइसकेपछि क्रिम लगाउँदा पनि हातलाई सुख्खा हुनबाट जोगाउन सकिन्छ। जसरी हुन्छ, छालालाई सुख्खा हुनबाट बचाउनुपर्छ। छालालाई नरम बनाइराख्न सकेको खण्डमा यी सबै पीडाहरुबाट मुक्त हुन सक्छौं।