जहाँ शिक्षकले नै सिलाईदिन्छन् विद्यार्थीलाई मास्क
कपिलवस्तुको एक विद्यालयले आफै कपडाको मास्क तयार गरि विद्यालय संचालन गरेको छ ।
विद्यालयमा रहेका शिक्षकले खाली घण्टीमा विद्यालयमै सिलाएको मास्क विद्यार्थीलाई प्रदान गरी कक्षा संचालन गरेका हुन् ।
महाराजगंज नगरपालिकाको वडा नं. ८ मा रहेको चुडाकुमारी आधारभुत विद्यालय कजरहवाले विद्यालयमा नै माक्स सिलाई गरि बालवालिकालाई वितरण गरेको हो ।
जिल्लाको पश्चिम, दक्षिणमा पर्ने उक्त विद्यालय भारतको सीमा क्षेत्रमा रहेको विद्यालय समेत हो ।
विद्यालयमा दरबन्दीको १, राहतको २, बालविकासको १ र नीजी स्रोतको २ गरी ६ शिक्षक महिला मात्रै छन् ।
विद्यालय आंशिक रुपमा खुलेपछि बालबालिकालाई कोरोना संक्रमणबाट जोगाउन विद्यालयमै मास्क निर्माण गरी वितरण गरेको विद्यालयकी प्रधानाध्यापक विष्णु पाण्डेले बताइन ।
विद्यालयमा दुइ सय २० जना बालबालिका रहेका छन् ।
तिहारपछि विद्यालयमा ६ जना महिला शिक्षकले खाली कक्षाको सदुपयोग गर्दै मास्क सिलाएको प्रधानाध्यापक विष्णु पाण्डेको भनाई छ । उक्त विद्यालयमा सबै शिक्षक महिला छन् ।
मास्क सिलाउनका लागी विद्यालयका शिक्षक विद्यावती मिश्रा र सालिया खातुनको घरमा रहेको सिलाई मिसिन विद्यालयमा ल्याइ सहयोग गरेका थिए ।
विद्यालयमा रहेका सबै महिला शिक्षक सिलाई जानेको हुँदा मास्क सिलाउने काम भने सबै शिक्षकले पालैपालो सिलाएका हुन् ।
विद्यालयमा प्रधानाध्यापकको रुपमा विष्णु पाण्डे, शिक्षकको रुपमा विद्यावती मिश्र, पुजा चौवे, सुनिता गिरी, सालिया खातुन र पुनमकुमारी चौवे रहेका छन् ।
विद्यालयले बजारबाट मास्क बनाउनका लागि आवश्यक ७ मिटर कपडा र ईलास्टिकका लागि २ हजार खर्च गरेको छ ।
आधा घण्टामा १५ थान मास्क सिलाउन सकिएको शिक्षकहरुको अनुभव छ । बलियो बनाउनका लागि ३ पटकसम्म सिलाइएको प्रधानाध्यापक पाण्डेले बताइन । त्यसरी मास्क बनाउँदा सस्तो मात्रै नभई बलियो पनि बनेको छ ।
भारतको सीमाक्षेत्रको नजिक रहेको विद्यालय भएको हुँदा नेपाल भारत आवतजावत हुने हुँदा कोरोनाको जोखिम छ ।
विद्यालयमा मास्क पाउन थालेपछि बालबालिका नियमित आएका विद्यालयले जनाएको छ ।
बालबालिका र शिक्षक सबैले मास्क प्रयोग गरी आंशिक रुपमा कक्षा संचालन भएको हुँदा कोरोनाको जोखिम कम भएको छ । विद्यालय परिसरमा हात धुनका लागि साबुन पानीको समेत व्यवस्था गरिएको छ ।
उक्त विद्यालय महिला शिक्षकले मात्रै सञ्चालन गरेको विद्यालय हो ।
विद्यालयकी प्रअ पाण्डेले शिक्षकको सिलाई सीप विद्यालयमा प्रयोग गर्न पाउँदा सबैबाट सकारात्मक प्रतिक्रिया आएको बताइन ।
महाराजगंज नगरपालिकाका शिक्षा प्रमुख रेश्मीराज अर्यालले पालिकाभित्र रहेका ६९ वटा सामुदायिक विद्यालय, ५ वटा संस्थागत विद्यालय र ३२ वटा धार्मिक विद्यालयमध्ये चुडा कुमारी आधारभूत विद्यालयले नौलो अभ्यास गरेको बताए ।
विद्यालयले आफैले मास्क बनाएर पालो गरेर कक्षा संचालन गर्नुले अरु विद्यालयका लागि पनि उदाहरण बनेको अर्यालको भनाई छ ।
उनले नगरपालिकाले विद्यालयका सबै प्रधानाध्यापकहरुलाई विद्यालयमा रहेको व्यवस्थापन खर्चबाट मास्क, सेनिटाइजर, साबुनको व्यवस्थापन गरी सिकाई सहजीकरण गर्न भनिएकोमा उक्त विद्यालयले कपडा र इलास्टिक किनी शिक्षकको घरको सिलाई मेशिन प्रयोग गरी मास्क बनाएको बताए ।
ईच्छा भए एउटै काम पनि फरक तरिकाले पनि गर्न सकिन्छ । महामारीसँग डराएर होइन सतर्कता अपनाएर पनि बालबालिकालाई सिकाई सहजीकरण गर्न सकिन्छ भन्ने उदाहरण चुडा कुमारी आधारभूत विद्यालयलका शिक्षकहरुले दिएका छन् ।