चितवनमा १८९३ एचआइभी संक्रमित, १६ जनाकाे मृत्यु
चितवनमा यो वर्ष ६७ जना नयाँ एचआइभी संक्रमित फेला परेका छन्। भरतपुर अस्पतालको एआरटी सेन्टरमा सन् २०२० को १० महिनामा ६ हजार ७ सय ६ जनाको परीक्षण गर्दा ६७ जना नयाँ संक्रमित फेला परेका हुन्। चितवनमा हालसम्म संक्रमितको कूल संख्या १ हजार ८ सय ९३ रहेको छ।
यहि अवधिमा एचआइभीविरुद्धको औषधि सुरु गर्ने बिरामी १ सय १६ जना छन्। ४० जना अन्य जिल्लाबाट स्थानान्तरण भएका हुन्। एआरभी औषधि खाने बिरामीको संख्या ९ सय रहेको छ। एचआइभी संक्रिमित भइसकेपछि भाइरस फैलिन नदिन नियमित एआरभी औषधि दिने गरिन्छ।
एड्स हेल्थ केयर फाउन्डेसन ९एचएफ० नेपालको भरतपुर अस्पतालमा सञ्चालित परियोजनाका कार्यक्रम प्रमुख कृष्णहरि सापकोटाका अनुसार १० महिनामा १६ जना संक्रमितको ज्यान गएको छ। ज्यान जानेमा १० पुरुष र ६ महिला छन्। एकजना संक्रमितको कोरोनाका कारण ज्यान गएको थियो।
सापकोटाले १० महिनामा ६ सय ९३ जनाको भाइरल लोड परीक्षण गरिएको बताए। ५ सय ४४ जनाको परीक्षण लडाउनकै समयमा गरिएको उनले जानकारी दिए।
एआरभी औषधि लिन सुरु भएको १ वर्षपछि र त्यसपछिको हरेक ६ महिनामा भाइरल लोड परीक्षण गर्नुपर्छ। भरतपुर अस्पताल एआरटी सेन्टरका स्रोत व्यक्ति डा। युवानिधि बसौलाले लकडाउनका बेलासमेत संक्रमितलाई घरदैलोमै पुगेर एआरटी सेवा दिइएको बताए।
उनले १ हजार १ सय ४४ जनाको घरमै पुगेर सेवा दिइएको छ। एआरभी औषधि, मास्क, सेनिटाइजर, पोषण युक्त खानेकुरा लिएर स्वयमसेवक संक्रमितको घरदैलोमै पुगेको उनले बताए। १२ जनाले एआरभी औषधि लिन छोडेको उनको भनाइ छ। चितवनमा ८ जिल्लाका संक्रमितले एआरटी सेवा लिने गर्छन्।
भरतपुर अस्पतालका कोभिड क्लिनिकल संयोजक डा। प्रमोद पौडेलले एचआइभी संक्रमित कोरोनाको उच्च जोखिममा रहेकाले नियमित एआरभी औषधि लिन र नियमित चेकजाँच गर्न आग्रह गरे। चितवनमा तीनजना एचआइभी संक्रमितलाई कोरोना संक्रमण भएको थियो।
कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। जगन्नाथ तिवारीले एचआइभी संक्रमित पहिचान तथा उपचारलाई अस्पतालले उच्च प्राथमिकता दिएको बताए। भरतपुर अस्पतालका अध्यक्ष डा। भोजराज अधिकारीले चितवनमै भाइरल लोड परीक्षण गर्ने मेसीन ल्याउन पहल गरिने बताए।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले चितवनका २५ वटा सरकारी स्वास्थ्य संस्थाबाट एचआइभी एड्स परीक्षण तथा सेवा दिँदै आइरहेको बताए। चितवन एचआइभी संक्रमितको उपचार धेरै हुने देशकै ५औं जिल्ला हो।