सुत्केरी हुन किन शल्यक्रिया नै रोज्छन् महिला?
भरतपुर महानगरपालिका–२८ साझापुरकी अस्मिता ढुंगेलको परिक्षणका आधारमा चिकित्सकले सुत्केरी हुने मिति मंसिर १ गते तोकिदिएका थिए।
सोहीअनुसार उनी भरतपुर अस्पतालमा कार्तिक ३० गते भर्ना भईन् । चिकित्सकको सल्लाहअनुसार नै ढुंगेलले भरतपुर अस्पतालमा भिडियो एक्सरे पनि गराइन्।
गर्भमा रहेको शिशु एक्सरेमा स्वस्थ देखिए । मिति तोकिएको दिन सुत्केरी हुन उनलाई चिकित्सकले नर्मल सुत्केरी हुन् सल्लाह दिएपनि उनले शल्यक्रिया रोजीन ।
‘एलर्जी थियो, अहिले पनि औषधी खाईरहेको छु,’ उनले भनिन्, ‘प्रसव पीडा सहन नसक्ने जस्तो लागेर शल्यक्रिया गर्न रोजेकी हुँ ।’
उनको यो पहिलो सन्तान हो ।
भरतपुर महानगरपालिका–२३ साझापुरकी अन्जु पौडेल बच्चा जन्माएर अहिले भरतपुर अस्पतालमा उपचार गराइरहेकी छन् । उनको पनि चिकित्सकले शल्यक्रिया गरेर बच्चा जन्माइदिएका हुन् । ‘भरतपुर अस्पतालमा आएर पटक पटक गर्भ परीक्षण गरेकी थिए ।
त्यतिखेर डाक्टरले सबै ठिक छ भन्नुभयो । २१ बर्षिय पौडेलले भनिन्, ‘मंसिर १ का लागि बच्चा जन्मने दिन भनिएको थियो त्यही सल्लाह बमोजिम शल्यक्रिया गर्ने योजना बनाएर अस्पताल आएका थियौँ । घर परिवारकै सल्लाहमा शल्यक्रिया गरेको उनले बताईन् ।
पछिल्ला वर्षहरूमा भरतपुर अस्पतालमा शल्यक्रियाबाट प्रसूति हुनेक्रम बढ्दै गएको छ । भरतपुर अस्पतालमा प्रसूति हुनेमध्ये ३३ प्रतिशतको शल्यक्रिया हुने गरेको छ ।
भरतपुर अस्पतालका तथ्यांक शाखाका प्रमुख नारायणप्रसाद रिजालका अनुसार चालू आर्थिक वर्षको ४ महिनामा मात्रै १ हजार १ सय ७७ जनाको शल्यक्रियाबाट प्रसूति भए ।
शाखाका अनुसार चालू आर्थिक वर्षमा भरतपुर अस्पतालमा आएर ३ हजार ६ सय ७६ जनाले प्रसूति भए । त्यसमध्ये २ हजार ४ सय २९ जनाले स्वाभाविक रूपमा बच्चालाई जन्म दिएका छन् । ७० जनाको भने जटिल प्रसूति भएको छ ।
गत आर्थिक वर्षमा ३ हजार १ सय १७ जनाले शल्यक्रियामार्फत बच्चा जन्माएका थिए ।
अस्पतालको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५÷०७६ मा भरतपुर अस्पतालबाट १३ हजार ५ सय ४५ जनाले प्रसूति सेवा लिएका थिए । गत आर्थिक वर्षमा ९ सय ३ जना घटेर १२ हजार ८ सय ४२ जनाले प्रसूति सेवा लिएका छन् । लकडाउन र कोरोना संक्रमणका कारण अस्पतालमा सुत्केरी हुन आउनेको दर घटेको हुन सक्ने बाल रोग विशेषज्ञ डा.युवानिधि बसौलाले जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनका अनुसार कुल प्रसुतिमध्ये ५ प्रतिशतलाई अनिवार्य शल्यक्रिया अवश्यक पर्छ । । रेफरल सेन्टरहरुमा १५ प्रतिशतसम्म शल्यक्रयाबाट प्रसूति हुँदासम्म सामन्य मानिन्छ ।
भरतपुर अस्पतालमा भने प्रत्येक वर्ष शल्यक्रिया गर्नेक्रम बढिरहेको छ । विशेषगरी स्वास्थ्यकर्मीहरू नै प्रसूति पीडा बेहोर्न तयार नहुने गरेको भरतपुर अस्पतालका स्त्री रोग विशेषज्ञ डा. रामप्रसाद सापकोटा बताउँछन् । ‘बुझेका मानिसहरू नै शल्यक्रिया गराउन तयार हुन्छन्,’ डा. सापकोटाले भने, ‘ नर्मल प्रयास नगरी शल्यक्रिया गर्न खोज्ने स्वास्थ्यकर्मी नै बढी हुन्छन् ।’
दुईवटा मात्र बच्चा जन्माउने तयारी साथ शल्यक्रिया गर्ने गरेको उनको अनुभव छ ।
भरतपुर अस्पताल रेफरल अस्पताल भएकाले पनि यहाँ शल्यक्रिया बढी गर्नुपरेको अस्पतालका प्रसूती रोग विभाग प्रमुख डा. सुनिलमणी पोख्रेल । ‘हामीकहाँ देशका विभिन्न ठाउँबाट जटिल केसहरू प्रसूति गराउन आउँछन्,’ डा. पोख्रेलले भने, ‘त्यसकारण पनि शल्यक्रिया बढी भएको देखिन्छ ।’
अहिले कोरोना संक्रमणका कारण सामान्य प्रसूती बाहिर गराउने भएकाले भरतपुर अस्पतालमा जटिल केसहरु आएका कारण शल्यक्रिया गर्नुपरेको पोख्रेलको भनाई छ ।
कतिपय अवस्थामा बिरामी आफै सामान्य प्रसूती हुन नमान्ने गरेको उनको भनाई छ ।
भरतपुर अस्पतालमा दैनिक औसत १२ जनको शल्यक्रियाबाट प्रसूति हुने गरेको छ । यस अस्पतालमा प्रसूति वार्डमा २५ शय्या भए पनि दैनिक ४० देखि ५० जनाले
यहाँबाट प्रसूतिसेवा लिने गरेका छन् । सम्बन्धित परिवारले भनेका आधारमा नभई आवश्यक परेको खण्डमा शल्यक्रिया गर्न लगाइने भरतपुर अस्पतालको भनाइ छ ।
शल्यक्रिया निजि अस्पताललमा बढी हुने गरेको डा. पोख्रेलले बताए । ‘भरतपुर सामुदायिकमा पनि बिरामी हेर्ने गर्दछु,’उनले भने, ‘त्यहाँ आउने ८० प्रतिशतको शल्यक्रिया गरेर बच्चा निकालिन्छ ।’
कस्तो अवस्थामा गर्नुपर्छ शल्यक्रिया
प्रसूतिको समयमा बच्चाको घाँटीमा नाल बेरिएको अवस्था, बच्चाले पेटभित्रै दिसा गरेको अवस्था, प्रसव पीडा लम्बिँदै गएर बच्चा र आमाको जीवन नै जोखिममा रहेको अवस्थामा आकस्मिक अप्रेसन गर्नुपर्ने हुन्छ ।
गर्भमा जुम्ल्याहा बच्चा रहेको अवस्थामा र जुम्ल्याहा बच्चा जन्मने निश्चित भएको अवस्थामा, बच्चाको टाउको माथि फर्केर रहेको वा पाठेघरमा बच्चा उल्टो परेर बसेको अवस्थामा, तोकिएको समयभन्दा पहिले नै डेलिभरी हुन लागेको अवस्थामा, गर्भनाल थुनिएको अवस्थामा र गर्भवती एचआइभी, हेपाटाइटिस वा अन्य भाइरस संक्रमित भएको खण्डमा आकस्मिक शल्यक्रिबाट बच्चा जन्माउनुपर्ने हुन्छ ।
गर्भवती महिलाको नितम्बको साइज सानो भएको अवस्थामा अप्रेसन गरेर बच्चा जन्माउनुपर्ने चिकित्सकहरु बताउँछन् ।
सानो नितम्बका कारण आमा र बच्चा दुवैको जीवन खतरामा रहन सक्छ । यसकारण यस्ता गर्भवतीलाई बच्चा जन्माउन शल्यक्रिया गर्नुपर्ने भरतपुर अस्पतालका प्रसूति विभाग प्रमुख डा. पोख्रेलको भनाइ छ।
यस्ता महिलाले सामान्य तरिकाबाट बच्चा जन्माउँदा आमाको जिन (आनुवंशिक गुण) अर्को पुस्तामा सर्ने सम्भावना रहन्छ । तर, शल्यक्रिया गरेर जन्माउँदा यस्तो समस्या नहुने डा. पोख्रेलले बताए।
शल्यक्रिया गर्दाका जोखिम
शल्यक्रिया आफैँमा जोखिमपूर्ण अवस्था हो, जो बेहोस बनाएर गरिन्छ । चिरफार गर्नुपर्ने भएकाले घाउ पाक्ने, दुख्ने तथा अन्य संक्रमण हुने सम्भावना उत्तिकै रहन्छ ।
जसले गर्दा भविष्यमा घाउ फाट्ने डर पनि बढेर जाने जोखिम हुने पोख्रेलले बताए । महिलामा अर्कोपटक बच्चा जन्माउँदा समेत शल्यक्रिया गर्नुपर्ने हुन्छ । पटक–पटक शल्यक्रिया गर्दा महिलाको स्वास्थ्यमा असर पर्नुका साथै उनीहरू शारीरिक रूपमा पनि कमजोर हुने गर्दछन् ।
कुनै कारण दुईवटा बच्चा पछि शल्यक्रिया गर्नुपर्दा महिलालाई जोखिम बढी हुने उनको भनाई छ।
अस्पताल आउने कतिपय गर्भवती तथा उनका आफन्त प्राकृतिक बच्चा जन्माउन सक्ने अवस्थामा पनि शल्यक्रिया गरिदिन जोड दिने गर्छन् भने कतिपयले जटिल अवस्थामा पनि शल्यक्रिया गर्न इन्कार गरिरहेका हुन्छन् ।
शल्यक्रिया गर्दा विशेषगरी सुत्केरी आमाको रगत धेरै बग्ने, घाउ पाक्ने, शरीरका अन्य अंगमा असर गर्ने, शरीर कमजोर हुने र खर्च बढी हुने प्रसूति विभाग प्रमुख डा. पोख्रेलले बताए । तर, शल्यक्रिया गर्दा शिशुलाई जोखिम भने कम हुने चिकित्सकहरु बताउछन् ।