कति खाने जाडोमा पानी ?

हेल्थपोस्ट नेपाल

हामीमध्ये अधिकांशले गर्ने गरेको गुनासो हो, जाडोमा तिर्खा लाग्दैन, कति पानी खानुपर्ला ?
हो, जाडोमा तपाईं तिर्खाको अनुभूति नगर्न सक्नुहुन्छ । तर, तिर्खा नलागे पनि तपाईंको शरीर सुक्खा हुन नदिन पानी बारम्बार पिउनु अति आवश्यक छ ।

पानी केका लागि ?
– शरीरका विकारहरू बाहिर निकाल्न ।
– शरीरको तापक्रम नियन्त्रण गर्न, सन्तुलित राख्न ।
– पानी पसिनाको स्रोत हो ।
– जोर्नीलाई लचिलो बनाउन ।
– शरीरका महत्वपूर्ण अंग तथा टिस्युलाई स्वस्थ राख्न ।

हामीले व्यायाम नगर्दा पनि पिसाब, दिसा तथा श्वासप्रश्वासको माध्यमबाट ६० प्रतिशत पानी नष्ट हुन्छ । र, पसिना निकाल्ने गरी एक्सरसाइज गर्यौँ भने ९० प्रतिशत पानी नष्ट हुन्छ ।
पसिना कति जाने भन्ने वातावरण र कति समय कडा व्यायाम ग-यौँ भन्नेमा भर पर्छ । बढी जाडोमा सामान्य व्यायाम गर्नुभएको छ र पसिना आइरहेको छैन भने पनि पानी बारम्बार खाइरहनु आवश्यक छ ।

व्यायाम गर्नेका लागि विशेष
व्यायाम गर्नेले केही सावधानी अपनाउनुपर्छ । जस्तै, व्यायामले एक पाउन्ड तौल घट्यो भने व्यायामपछि २–३ कप पानी पिउनुपर्छ ।

आवश्यक मात्रा कति ?
सामान्यतया १९ वर्ष पुगेपछि महिलालाई दैनिक २.७ लिटर र पुरुषलाई ३.७ लिटर पानी आवश्यक पर्छ । तर, याद गर्नुपर्छ कि– यो व्यक्तिपिच्छे फरक हुन्छ, उमेर, शारीरिक गतिविधि, वातावरण मौसमलगायतमा भरपर्छ । यदि तपाईं बेलुकी जिम वा व्यायाम गर्ने गर्नुहुन्छ भने तपाईंलाई दैनिक अझ धेरै पानीको आवश्यकता पर्छ । त्यस्तै, लामो समय कम्प्युटरमा काम गर्नेका लागि पनि बढी पानी पिउनु आवश्यक हुन्छ ।

शारीरिक गतिविधि नगर्नेका लागि
पुरुष : दैनिक खाने फलफूल, तरकारी, चिया सुप छोडेर करिब १० गिलास पानी पिउनुहोस् । यदि शारीरिक गतिविधि गर्नुहुन्छ भने कम्तीमा १२ गिलास पिउनुहोस् ।
महिला : दैनिक खाने फलफूल, तरकारी, चिसा सुप छोडेर कम्तीमा ७–८ ग्लास, यदि शारीरिक व्यायाम गर्नुहुन्छ भने १० ग्लाससम्म पानी पिउनुहोस् ।
स्तनपान गराउने महिलाले भने अझै धेरै पानी पिउनुपर्छ ।



Leave a Reply

Your email address will not be published.