कर्णाली प्रदेश सरकारले आफ्ना नागरिकको कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने

हेल्थपोस्ट नेपाल

कर्णाली प्रदेश सरकारले आफ्ना नागरिकको पिसिआर परीक्षण र कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने भएको छ। संघीय सरकारले नागरिकलाई कोरोना परीक्षण र उपचार आफैं गर्न भनिरहेका बेला प्रदेश सरकारले भने आफ्ना नागरिकको जीउधनको रक्षाको दायित्व लिँदै परीक्षण र उपचार निःशुल्क गर्ने बताएको छ।

शनिबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन्।

उनका अनुसार मन्त्रीपरिषद्को बैठकबाट कर्णाली प्रदेशमा कोभिड-१९ को लक्षणसहितका विरामीहरूको परीक्षण तथा उपचार प्रदेश सरकारको तर्फबाट निशुल्क रूपमा गर्ने, सुर्खेत विमानस्थलको विकास विस्तार स्तरोन्नतिका लागि कर्णाली प्रदेश सरकार र नेपाल नागरिक उड्यन प्राधिकरणकाबीच भएको समझदारी पत्र अनुमोदन गर्ने, कर्णाली सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापना सम्बन्धी व्यवस्था गर्न बनेको विधयेक प्रदेशसभा सचिवालयमा दर्ता गर्ने स्वीकृत प्रदान गर्ने निर्णय गरिएको छ।

त्यस्तै शनिबारको बैठकले विपद् जोखिम विमासम्बन्धी कार्यविधि २०७७ स्वीकृत गर्ने, कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली २०७७ स्वीकृत गर्ने, उपभोक्ता संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक २०७५ फिर्ता लिने अनुमतिका लागि कर्णाली प्रदेशसभामा पेश गर्ने स्वीकृत प्रदान गर्ने, दस्तुर र जरिवाना प्रचलित कानूनबमोजिम हुने गरी प्राइभेट फर्मको नविकरणको समायवधि २०७७ पौष मसान्तसम्म थप गर्ने निर्णय भएको प्रवक्ता केसीले जानकारी दिइन् ।



Leave a Reply

Your email address will not be published.