अनि निःसन्तानको कारक बन्छ पुरुष
दम्पतीले विवाहको एकदेखि दुई वर्षसम्म कुनै साधन नअपनाई यौनसम्पर्क राख्दा पनि गर्भ रहेन भने निःसन्तान भएको मानिन्छ । प्राथमिक प्रकारको निःसन्तानको समस्यामा विवाह (यौनसम्पर्क)देखि नै गर्भ रहेको हुँदैन भने दोस्रो प्रकारको निःसन्तानको समस्यामा पहिल्यै कुनै किसिमले गर्भ रहिसकेको हुन्छ ।
करिब १० प्रतिशत दम्पतीमा निःसन्तानको समस्या हुन सक्छ । निःसन्तान हुनुमा करिब ३० देखि ४० प्रतिशतमा पुरुषमा खराबी, ४० देखि ५० प्रतिशतमा महिलामा खराबी, १० प्रतिशतमा दुवैमा खराबी देखिन्छ भने बाँकी १० प्रतिशतमा कुनै कारण नै पत्ता लाग्दैन । यहाँ पुरुषजन्य निःसन्तानका कारणहरू, पुरुषका कारण हुने निःसन्तानको जाँचपडताल एवं उपचारको चर्चा गरिनेछ ।

अस्पतालमा दिनानुदिन बिरामी हेर्नेक्रममा एकपटक वा पटक–पटकको गर्भ तुहिने (अधिग्रो जाने) समस्या भएका महिलाको व्यथाजस्तै निःसन्तान भएका दम्पतीका समस्या पनि बढी टिठलाग्दो र कारुणिक हुन्छ । कतिपय अवस्थामा साधारण जाँचपडताल गरेपश्चात् सम्बन्धित दम्पतीसँग गर्भप्रक्रियाबारे राम्ररी छलफल गरेकै भरमा दुई–तीन महिनापछि फलोअपमा आउँदा गर्भ रहेका कारण खुसी भएका घटना पनि छन् ।
पुरुषजन्य निःसन्तानका कारण
शुक्रकीट बन्ने प्रक्रियामा समस्या, बनिसकेको वीर्य बाहिर आउने बाटोमा समस्या, योनिमा वीर्यस्खलन हुन समस्या तथा शुक्रकीटको बनावटमा समस्या पुरुषजन्य निःसन्तानका कारण हुन् ।
अण्डाशय अण्डकोषमा नझर्नाले, अण्डकोष सुन्निनाले, वंशानुगत वा कतिपय औषधि तथा इन्डोक्राइन (अन्तश्राव) ग्रन्थीको कार्यमा खराबीका कारणले शुक्रकीट बन्न अप्ठ्यारो पर्न सक्छ । त्यसैगरी, शुक्रकीटवाहिनी नली नै नहुने, शुक्रकीटको चाल नै ढिलो हुने एवं संक्रमण तथा चोटका कारणले शुक्रकीटवाहिनी नली थुनिने हुन सक्छ । मानसिक समस्या (लिंग नउठ्ने वा उत्तेजित नहुने, शीघ्र स्खलन हुने) तथा पुरुषमा पिसाब खुल्ने प्वाल बेठाउँमा भयो भने वीर्य योनिमा जम्मा हुन पाउँदैन । त्यस्तै, शुक्रकीटको चाल, संख्या, बनावटमा तथा यसमा पोसिलो पदार्थ अपुग भयो भने पनि निःसन्तानको समस्या हुन सक्छ ।
कुनै साधनको प्रयोगविना एक वर्षसम्मको नियमित सहवासपछि पनि गर्भ नरहेमा जाँचपडताल गराउनु राम्रो हुन्छ । यदि महिलाको उमेर ३५ र पुरुषको उमेर ४० नाघिसकेको छ भने ६ महिनासम्ममा बच्चा भएन भने सम्बन्धित चिकित्सकलाई जचाउनुपर्छ । विवाहको दोस्रो वर्षपछि प्रजनन क्षमता दरमा निकै कमी आउने हुनाले चाँडै स्वास्थ्य परीक्षण गराउनुपर्छ । सामान्य जानकारी एवं सल्लाहबाट ठीक पार्न सकिने समस्याका लागि ढिलो गर्नुहुँदैन ।
पुरुषका कारण हुने निःसन्तानको जाँचपडताल
प्रभावित व्यक्तिको उमेर, विवाहित समय, पहिले विवाह गरिसकेको वा पहिले बच्चा पाउन मद्दत गरेको, धूमपान वा मद्यपान गर्ने बानी भएको सामान्य जानकारीपछि यौनरोग, हाँडे, मधुमेह, अण्डकोषवरिपरि हाल कुनै समस्या भएको वा पहिले कुनै शल्यक्रिया गरिसकेको, लामो समयसम्म तापमा बसी गर्नुपर्ने काम गरे–नगरेबारे जानकारी लिनुपर्छ । यौनसम्पर्कका दौरान यौनांग उठाउन (उत्तेजित पार्न), राम्रोसँग छिराउन तथा वीर्यस्खलनसम्बन्धी कुनै समस्या छ–छैन पत्ता लगाउनुपर्छ ।
शारीरिक जाँचका क्रममा यौनांगको पनि राम्ररी जाँच गर्नुपर्छ । त्यसपछि वीर्य जाँच (सकिन्छ भने तीन दिनसम्म सहवास नगरी) गरी शुक्रकीटको संख्या, शुक्रकीटको चाल, बनावट तथा अन्य कुनै पिप वा संक्रमण छ–छैन थाहा पाउनुपर्छ ।
कतिपय पुरुषको वीर्यको सामान्य जाँचपछि रगतमा अन्य हर्मोन (शुक्रकिट उत्पादन तथा परिपक्व बनाउन मद्दत गर्ने)सम्बन्धी जाँच, अण्डकोष तथा वरिपरिको भिडियो एक्स रे, अण्डाशयबाट थोरै मासु निकालेर गरिने जाँच (बायोप्सी) वा सियो हालेर गरिने कोषको जाँच एवं वंशाणु अंशबारे जाँच गर्नुपर्ने हुन सक्छ ।