६० वर्ष उमेरसम्म सेवा गर्ने स्वयंसेविकालाई २ लाख दिने

हेल्थपोस्ट नेपाल

नवलपरासीको बर्दघाट नगरपालिकाले ६० बर्षको उमेरसम्म सेवा गर्ने महिला स्वास्थ्य स्वयंसेविकालाई २ लाख रुपैयाँ रकम दिएर बिदाइ गर्ने कार्यक्रम अगाडि ल्याएको छ।

स्वयंसेविकालाई कामप्रति प्रोत्साहन र हौसला प्रदान गर्ने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकालक्षित कार्यक्रम ल्याएको नगरपालिकाको भनाइ छ।

६० बर्ष उमेर नपुग्दै काम छाड्ने महिला स्वास्थ्य स्वयंसेविकाले भने उक्त सुविधा पाउने छैनन्।

नगरपालिकामा पेस भएको नागरिकताका आधारमा उनीहरुको उमेर गणना हुने नगरपालिकाले जनाएको छ। ६० वर्ष उमेर पुगेपछि पनि सेवा गर्न चाहने स्वयंसेविकाले काम गर्न भने पाउनेछन्।

त्यसपछि पनि काम गरे सेवा छाड्ने समयमा उक्त २ लाख रकम प्रदान गरिनेछ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्माले नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानजनक स्वेच्छिक बिदाइ कार्यक्रम ल्याएको बताए।

उनले ६० बर्ष उमेर पुगेपछि सेवाबाट स्वेच्छिक रुपमा छाड्दा वा त्यसपछि छाडेको समयमा प्रोत्साहन रकम प्रदान गरिने जानकारी दिए। बर्दघाटमा ६० वर्षको उमेर पुगेपछि स्वयंसेविकाले सेवा छाड्ने र टोलका आमाहरु बसेर नयाँ महिला स्वास्थ्य स्वयंसेविका छान्ने प्रचलन गरेको नगर प्रमुख शर्माले जानकारी दिए।

नेपाल सरकारले भने ६० वर्षपछि स्वेच्छिक सेवा छाड्दा २० हजार रकम उपलब्ध गराउने गरेको छ। बर्दघाट नगरपालिकाको २ लाख रकम उक्त रकमभन्दा थप हो।

नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख माधव ज्ञवालीले बिशेष गरेर महिला स्वास्थ्य स्वयंसेविकाले मातृ तथा शिशुको मृत्युदर घटाउन र समुदायसम्म स्वास्थ्यको सन्देश पुर्याउनमा भूमिका भएको बताए। समुदायस्तरमा स्वयंसेवी रुपमा काम गर्ने कार्यकर्ताको उच्च मूल्याकंन गरेर कार्यक्रमको योजना गरिएको ज्ञवालीको भनाइ छ।

बर्दघाट नगरपालिकामा ४५ जना महिला स्वास्थ्य स्वयंसेविका छन् । स्वयंसेविकामध्ये कतिपय २०४६÷४७ सालदेखि काम समेत छन्। त्यसमध्ये एक जनाको उमेर ६० वर्ष पुगेको छ।

चालु आर्थिक बर्षका लागि स्वयंसेविकाको उमेर गणना गरेर २ लाख बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ। उनले स्वेच्छिक रुपमा छाडे उक्त रकम पाउनेछन् भने नछाडेको अवस्थामा उक्त बजेट पुनः अर्को आर्थिक बर्षमा पनि राखिने स्वास्थ्य प्रमुख ज्ञवालीले बताए।

बर्दघाट नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई यातातात र सञ्चार खर्चको रुपमा मासिक २ हजार उपलब्ध गराउँदै आएको छ। चालु आर्थिक वर्षमा नगरपालिकाभित्रका सबै स्वयसेविकालाई स्वास्थ्य सामग्री राख्न १÷१ वटा दराज उपलब्ध गराएको छ।

भिटामिन र पोलियो थोपाका कार्यक्रममा भने स्वयंसेविकाले नेपाल सरकारबाट आउने सुविधा पाउने गरेका छन्।

बर्दघाट नगरपालिकाले संस्थागत सुत्केरी हुने महिलालाई सुत्केरी पोषण कार्यक्रमअन्तर्गत ५ हजार रकम दिने गरेको छ। दुई बर्षअघिदेखि सुरु भएको यो कार्यक्रमलाई

गत बर्षदेखि संस्थागत सुत्केरी भएमात्र दिने व्यवस्था गरेको छ। नगरपालिकाभित्रको बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाका लागि नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने गरेको छ।

बर्दघाट नगरपालिकाका १६ वडामध्ये ८ वटा वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भइसकेका छन्।



Leave a Reply

Your email address will not be published.