३४ लाख नेपाली आँखामा स्वदेशी लेन्स, ५५ लाख उत्पादन, ७० देशमा निर्यात
दुई दशकभन्दा लामो समयदेखि आँखाको कृत्रिम लेन्स उत्पादन गर्दै आएको तिलगंगा आँखा प्रतिष्ठानले ३४ लाख नेपालीको आँखामा स्वदेशी लेन्समार्फत उज्यालो भरिसकेको छ । सस्तो मूल्यमा उच्च गुणस्तरको लेन्स उत्पादनबाट आँखा उपचारको क्षेत्रमा संसारभर देशको प्रतिष्ठा उच्च राख्न सफल प्रतिष्ठानले २२ वर्षअघि नेपाललाई दक्षिण एसियाकै पहिलो लेन्स उत्पादक मुलुकका रूपमा स्थापित गराएको थियो । प्रतिष्ठानले हालसम्म ५५ लाख लेन्स उत्पादन गरिसकेको छ । उत्पादित लेन्स झन्डै आधा विश्वमा निर्यात भइसकेको छ भने हाल १७ मुलुकमा यसका नियमित ग्राहक छन् ।
लेन्स आँखाको भित्री भागमा हुने पारदर्शी वस्तु हो । तर, आँखामा मोतियाविन्दु भएमा लेन्स अपारदर्शी हुन जान्छ । शल्यक्रियापश्चात् लेन्स राख्नुपर्ने हुन सक्छ । नेपालमा तिलगंगा आँखा प्रतिष्ठानले उत्पादन सुरु गर्नुअघि कमजोर आर्थिक अवस्थाका बिरामीको पहुँचमा कृत्रिम लेन्स थिएन ।
तिलगंगाले उत्पादन सुरु गरेपछिको २२ वर्षमा करिब ३४ लाख नेपालीले नेपालमै उत्पादित लेन्समार्फत संसार देख्न पाएका छन् । त्यसअघि महँगो मूल्यको विदेशी लेन्समाथि पहुँच नहुँदा न्यून आयस्तरका नेपालीले शल्यक्रियापश्चात् लेन्स राख्न नसक्दा अन्धकारमय जीवन बिताउनुपर्ने अवस्था रहेकोे प्रतिष्ठानअन्तर्गत लेन्स उत्पादन विभागका निर्देशक नवीनप्रकाश अधिकारी बताउँछन् ।
कसरी बन्यो नेपाल दक्षिण एसियाकै पहिलो लेन्स उत्पादक मुलुक ?
अधिकारीका अनुसार नेपाली नागरिकको लेन्समाथिको दुर्लभ पहुँचको समस्या समाधानको खोजीमा तिलगंगा लागिपर्यो । अस्पतालका डेप्युटी डाइरेक्टर डा. रोहित सैजू र उनका अस्ट्रेलियन साथी डा. फ्रेडलबीच नेपालमै आँखाको लेन्स उत्पादनका विषयमा छलफल भयो । स्वदेशमै लेन्स उत्पादन गर्न सकेको खण्डमा निम्न आयस्तरका नेपालीको समेत लेन्समा सहज पहुँच पुग्ने उनीहरूको विश्वास थियो ।
डा. फ्रेडलको नामका अस्ट्रेलियामा रहेको फ्रेडल नामक फाउन्डेसनको टेक्निकल सपोर्टमा तिलगंगा अस्पतालमा सन् १९९६ मा आँखाको कृत्रिम लेन्स उत्पादन कार्यको थालनी गरियो । यससँगै नेपाल दक्षिण एसियाकै पहिलो लेन्स उत्पादक मुलुक बन्न सफल भयो । लेन्सको सफल उत्पादनपश्चात् तिलगंगाले प्रतिलेन्स १० डलरमा लेन्स बिक्री गर्न थाल्यो । तिलगंगामा गुणस्तरीय र सस्तो लेन्स उत्पादन हुन थालेपछि विदेशी कम्पनीहरूबाट उत्पादित लेन्सको खपत कम हुन थाल्यो । नेपालीले पहिलेको तुलनामा निकै कम मूल्यमा पाउन थालेपछि लेन्समा सबैको पहुँच विस्तार हुँदै गयो ।
अहिले २४० रुपैयाँमा उपलब्ध लेन्स २५ हजारमा किन्नुपथ्र्यो
स्वदेशमा लेन्स उत्पादन हुनुअघि नेपाली बजार अमेरिकन लेन्सले लिएको थियो । त्यसवेला प्रतिलेन्स २० देखि २५ हजार रुपैयाँ मूल्य तिर्न नेपाली बाध्य थिए, जुन आमनेपालीको पहुँचमा थिएन । लेन्स महँगो भएकै कारण धेरै नेपाली संसार हेर्नबाट वञ्चित थिए । त्यसको तुलनामा अहिले स्वदेशमै उत्पादित विश्व बजारमै गुणस्तरीय मानिएको लेन्स नगण्य मूल्यमा उपलब्ध हुँदा आमनेपालीले पनि पैसा अभावमा लेन्सका कारण अँध्यारो जीवन बिताउनुपर्ने बाध्यता समाप्त भएको छ ।
१०० गुना पुग्यो उत्पादन
उत्पादनको पहिलो वर्ष नेपालमा करिब ५ हजार लेन्स उत्पादन गरिएका थियो । हाल वार्षिक करिब ५ लाख लेन्स उत्पादन हुँदै आएको छ । यस हिसाबले हेर्दा सुरुको वर्षको तुलनामा हाल तिलगंगाले लेन्सको उत्पादन १०० गुना पुर्याएको छ । हाल अस्पतालले विभिन्नप्रकार र गुणस्तरका गरी ५ वटा मोडलमा लेन्स उत्पादन गर्दै आएको छ । मोडलका आधारमा लेन्सको मूल्य पनि फरक छ ।
नेपालमा २४० रुपैयाँ, विदेशमा २० डलर, देशको आर्थिक अवस्थाअनुसार निर्यात मूल्य
तिलगंगाले नेपालका अस्पतालहरूलाई न्यूनतम २ सय ४० रुपैयाँसम्मा लेन्स बिक्री गर्दै आएको छ । अधिकारीका अनुसार २ सय ४० रुपैयाँमा बिक्री हुने लेन्स सबैभन्दा सस्तो लेन्स हो, जुन प्रायः आँखा शिविरहरूमा प्रयोग गरिन्छ ।
बाहिरी मुलुकहरूमा भने तिलगंगाले २० डलरमा लेन्स बिक्री गर्दै आएको छ । निर्यातका क्रममा देशको आर्थिक अवस्थाअनुसार लेन्सको मूल्य फरक–फरक बनाइएको छ । आर्थिक रूपमा मजबुत मुलुकहरूलाई बढीे मूल्य लगाउने गरिएको छ भने कमजोर आर्थिक अवस्थाका मुलुकलाई कम मूल्य लगाउने गरिएको छ ।
७० देशमा निर्यात, नियमित ग्राहक १७ देश
तिलगंगाद्वारा उत्पादित लेन्स हालसम्म विश्वका करिब ७० मुलुकमा निर्यात भइसकेको छ । दक्षिण एसियामै आँखाको लेन्स उत्पादन गर्ने पहिलो मुलुक भएका कारण पनि सुरुवाती समयमै नेपाली लेन्स विश्वभर लोकप्रिय हुन समय लागेन ।
चीन, पाकिस्तान, म्यानमार, थाइल्यान्ड, भियतनाम, स्पेनलगायत विभिन्न १७ मुलुक नेपाली लेन्सका नियमित ग्राहक छन् । लेन्स उत्पादन तथा बिक्री भएको दुई दशक कटिसक्दासम्म तिलगंगाले उत्पादन गरेको लेन्सको गुणस्तरमाथि विश्वले कुनै प्रश्न उठाउन सकेको छैन । यसले नेपाली लेन्सको उच्च गुणस्तरलाई दर्साउँछ ।