प्रदेशले सम्झिएकी प्रभा भन्छिन्- समाजका दिदीबहिनीदेखि म कसरी टाढा बसुँ?

हेल्थपोस्ट नेपाल

महिला स्वास्थ्य स्वयंसेविका प्रभा पाैडेलसमाजसेवा गर्न चाहनेलाई धन नभएर रोकिँदैन मन भए पुग्छ भनिन्छ।

कपिलवस्तुकी प्रभा पौडेल पनि मनकै कारण समाजसेवामा लागिरहेकी छन्।

उनलाई धनल मात्र होइन, उमेरले पनि समाजसेवामा लाग्न बाधा पुर्याएको छैन।

असोजको १५ मा उमेरले ७० वर्ष टेक्ने पौडेल महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा २७ वर्षदेखि निरन्तर क्रियाशील छिन् ।

उनको क्रियाशिलता र सेवालाई मध्यनजर गर्दै प्रदेश ५ सरकारले संविधान दिवसको अवसरमा प्रभा पौडेललाई श्री पदकबाट विभूषित गर्ने निर्णय गरेको छ।

महिला आन्दोलन र समाजसेवाको क्षेत्रमा योगदान गरेको भन्दै प्रदेश सरकारले उनलाई उक्त पदकबाट विभूषित गर्ने भएको हो।

प्रभा पौडेलले २०५० सालमा महिला स्वास्थ्य स्वयंसेविकाबाट सेवा सुरु गरेकी थिइन्। कपिलवस्तुको वाणगंगा नगरपालिकाअन्तर्गत मोतीपुर स्वास्थ्यचौकीबाट १० दिनको स्वास्थ्य स्वयंसेविकाको तालिम लिई गाउँका दिदीबहिनीसँग जोडिएको पौडेलको भनाइ छ।

‘त्यतिबेला हामी १५ जनाले तालिम लिएका हौं,’ पौडेलले भनिन्, ‘एकजना बित्नुभयो, २ जना फेरिनुभयो, अरु सबैले स्वयंसेविकामै काम गरिरहेका छौं।’

वाणगंगाको मोतीपुर स्वास्थ्यचौकीका प्रमुख हिमलाल घिमिरेले प्रभा पौडेल उमेरले पाकी भएजस्तै काममा पनि उत्तिकै अब्बल र जाँगरिली भएको बताए।

घिमिरेका अनुसार उनको सक्रियतालाई मध्यनजर गर्दै स्वास्थ्यचौकी, नगरपालिका र जिल्लाबाट समेत पुरस्कृत र सम्मान गरिसकिएको छ। स्वास्थ्यचौकीमा १५ र नगरपालिकामा ११२ जना महिला स्वास्थ्य स्वयंसेविका छन्।

वर्ष वित्दै जाँदा महिला स्वास्थ्य स्वयंसेविकाको काम थपिँदै गएको प्रभा पौडेलको भनाइ छ।

‘अहिले त हामी २४ घण्टे जस्तै भएका छौं,‘ उनले भनिन्, ‘गर्भवती महिला, सुत्केरी महिलाको हेरचाह र परामर्श, बच्चाको स्वास्थ्य अवस्थाको रेखदेखका साथै बच्चालाई भिटामिन खुवाउने र खोप लगाउने काममा खटिने गरेको छौं।’

उनका अनुसार प्राथमिक उपचारको सेवा दिने काम र आमा समूहको बैठक राख्ने काम पनि महिला स्वास्थ्य स्वयंसेविकाले गर्दै आएका छन्। कसैलाई स्वास्थ्य समस्या देखिएमा अस्पतालसम्म पनि विरामी लिएर पुगिदिने गरेको उनले सुनाइन्।

प्रभा पौडेलको क्षेत्रमा अहिले पनि ११ जना गर्भवती महिला र त्यसमध्ये २ जना पहिलो पटक गर्भवती भएका महिला र एकजना सुत्केरी महिला छन्। ती महिलाको घरसम्म नियमित रूपमा जाने र स्वास्थ्य अवस्थाका जानकारी लिने काम गरिरहेकी उनले बताइन्।

कोरोना महामारीको यो समयमा पनि आफ्नो कामलाई निरन्तरता दिएको उनी बताउँछिन्। ‘यो कोरोनाको समयमा पनि कति हिँडेको भनेर भन्ने गर्छन् तर म आफ्नो काममा सतर्कताका साथ निरन्तर लागेकी छु,’ पौडलले भनिन्।

 

महिला स्वास्थ्य स्वयंसेविकामा खटिएवापत राज्यले के दिएको छ त भन्ने प्रश्नमा प्रभा पौडल भन्छिन्, ‘सम्मान र इज्जत।’

तर आर्थिक रूपमा हिसाब गर्ने भने त्यस्तो कुनै ठूलो तलब र सुविधा नभएको उनको भनाइ छ।

उनले भनिन्, ‘२०५० सालमा तालिमको एक दिनको ४० रुपियाँ दिन्थ्यो अहिले बढेर ४ सय पुगेको छ। त्यतिवेला पोसाक दिँदैनथ्यो तर पछि पोसाकका लागि ३ हजार दियो अहिले बढाएर १० हजार पुर्याएको छ। गत सालदेखि वर्षिक यातायात खर्च भनेर ३ हजार दिन थालेको छ।’

पैसाका लागि भन्दा पनि समाजसेवाका लागि आफूले महिला स्वास्थ्य स्वयंसेविकाको काम गरिरहेको प्रभाले बताइन्।
७० वर्षको उमेरमा हिँड्दै गरेकी उनले अझै पनि २–४ वर्ष स्वयंसेविका भएरै समाजमा हिँड्ने अठोट व्यक्त गरिन्।

‘म सुगर, प्रेसरको बिरामी हुँ, तर समाजमा दिदीबहिनीको सेवाविना म बाँच्न सक्दिनँ जस्तो लाग्छ। त्यसैले सक्दासम्म स्वास्थ्य स्वयंसेविकाको काम गर्ने छु। २–४ बर्ष त कस्सो नसकिएला र?,’ पौडेलले भनिन्, ‘सक्दासम्म गर्छु भन्ने आँट छ।’

भारतको देहरादुनमा जन्मिएर ८ कक्षासम्मको शिक्षा लिएकी उनी नेपाल स्वास्थ्य स्वयंसेविका संघकी केन्द्रीय उपमहासचिव समेत हुन्।
उनी दुई छोरा, बुहारी, नातिनातिनीसँगै वाणगंगा नगरपालिकाको मोतीपुरमा बस्दै आएकी छन्।

प्रदेश सरकारले श्री सेवा पदकबाट विभूषित गर्ने खबरपछि प्रभा पौडेललाई बधाईको ओइरो लागेको छ। छरछिमेक, साथीभाइ, नातागोता,

सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारीले उनलाई फोन गर्दै बधाई दिइरहेका छन्।

प्रदेश सरकारले दिएको विभूषण र त्यसपछि आएका बधाईले उनलाई झनै ७० वर्षको उमेरमा पनि ऊर्जा थपेको छ ।



Leave a Reply

Your email address will not be published.