केएमसीमा कोरोना संक्रमित महिलाको शल्यक्रियाबाट सुत्केरी
काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालमा कोरोना संक्रमित एक महिलाको शल्यक्रियाबाट सुत्केरी गरिएको छ । काठमाडौं असनकी २७ वर्षे महिलाको स्त्री रोग तथा प्रसूति विशेषज्ञ डा ज्योत्ना शर्माको टिमले शल्यक्रिया गरेको हो ।
शल्यक्रियापछि २ केजी ८०० ग्रामको स्वास्थ शिशु जन्मिएको छ । कोरोना नै संक्रमित भन्ने यकीन भएपछि पनि जोखिम मोलेर शल्यक्रिया गरिएको नेपालमा संभवत पहिलो घटना हो ।
अहिले संक्रमित महिला र नवजात दुबैको स्वास्थ्य अवस्था सामान्य छ ।
डा. शर्माको टिममा डा. अर्याल र एनेस्थेसियामा डा. सुशीला लामालगायतका टोली संलग्न थिए । प्रसुतिका लागि दिइएको मितिमा भर्नाका लागि पुगेकी महिलाको प्रोटोकलअनुसार पिसिआर परीक्षण गरिएको डा. शर्माले बताइन् ।
‘पिसिआर पोजेटिभ आएपछि हामीले संभावित जोखिमलाई मध्यनगर गरेर शल्यक्रियाको योजना बनायौं’ डा. शर्माले भनिन् ।
उनका अनुसार ती महिलाको पाठेघरको मुख पनि राम्रोसँग खलेको थिएन र उनलाई पनि पोजटिभ छ भन्ने भएपछि मनोवल पनि कम्जोर बन्नसक्ने देखेर शल्यक्रिया गरिएको डा. शर्माले बताइन् ।
शल्यक्रियामा संलग्न चिकित्सक तथा नर्स केही दिन आइसोलेसनमा बसेर पिसिआर परीक्षण गरिनेछ ।