आफ्ना बालबालिकालाई दमबाट कसरी जोगाउने ?
ठूलो मानिसमा जस्तै बच्चामा पनि दमको समस्या देखापर्छ । नेपालमा बच्चाको श्वास–प्रश्वास प्रणालीमा समस्या देखिएमा निमोनिया नै भयो भन्ने प्रचलन छ, तर यथार्थ त्यो होइन । बच्चामा देखिएको श्वास–प्रश्वास समस्या दम पनि हुन सक्छ ।
नेपालमा बालदमले भयावह रूप लिइरहेको छ । धेरैजसो बालदम उमेरअनुसार कम हुँदै जान्छ । सामान्यतया बालदम १ देखि २ वर्षको उमेरमा सुरु हुन्छ । बच्चामा लागेको दम वयष्क हुँदासम्म कम भइसकेको हुन्छ भने केहीमा भने बाँकी हुन्छ ।
पछिल्लो २–३ वर्षको तथ्यांकलाई विश्लेषण गर्दा १० वर्षमा बालदम दोब्बर हुने देखिएको छ । यसले बालदम दिनप्रतिदिन भयावह बन्दै गएको संकेत गर्छ ।
बालदमका कारण
– वंशानुगत कारण
– वातावरण प्रदूषण
– तयारी खानेकुरा (जंकफुड)को अत्यधिक प्रयोग
– केमिकलयुक्त वस्तुको अत्यधिक प्रयोग
– रुघाखोकी बिग्रिनु
– व्यक्तिगत सरसफाइको कमी
बालदम भए–नभएको पत्ता लगाउनभन्दा बच्चाका अभिभावलाई बच्चालाई दम भएको कुरा बताउन गाह्रो छ । त्यसभन्दा पनि बढी बालदम भएको बच्चालाई गरिने उपचार विधिबारे अभिभावकलाई बुझाउन गाह्रो हुने गरेको छ ।
उपचार
उपचारमा ध्यान दिएको खण्डमा बालदम पूर्ण रूपमा निको हुने रोग हो । यसको उपचारमा नेपालमा पनि अन्य मुलुकमा जस्तै नै विधि प्रयोग गरिन्छ ।
दम भएका बच्चालाई सुईको प्रयोग गरेर वा सुईविना दुवै विधिबाट उपचार गर्न सकिन्छ । इनहेलरको सहायताले बालदमको उपचार गर्न सकिन्छ । बालदमको उपचारमा शल्यक्रियाको प्रयोग हालसम्म पहिचानमा आएको छैन ।
बालदमका औषधि पनि दुई प्रकारका हुन्छन् । एउटा दम भएका वेला यसलाई कम गर्ने औषधि हुन्छ । अर्काे रुघाखोकी लागे पनि, प्रदूषण भए पनि दम हुन नदिनका लागि दिइने औषधि हुन्छ, जसलाई प्रिभेन्टर पनि भनिन्छ । यीमध्ये एउटा दम भइरहेका वेला कम गर्ने औषधि हो भने अर्को दम हुनै नदिने औषधि हो । वर्षमा एकपटक मात्रै दम हुन्छ भने आक्रमण रोक्ने औषधि प्रयोग गरिन्छ । तर, बारम्बार भइरहेको छ भने आक्रमण नै हुन नदिने औषधि दिनु आवश्यक हुन्छ ।
रोकथाम
सबैभन्दा पहिलो कुरा त बालदमबाट बच्न प्रदूषणबाट टाढा बस्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने तथा जंकफुड नखाने गर्नुपर्छ । बालदम रोकथामका लागि व्यक्तिगत तथा सरकारीतवरबाट विभिन्न उपाय अवलम्बन गर्न सकिन्छ ।
व्यक्तिगततवरबाट गर्न सकिने प्रयास–
– कोठामा चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन कसैले नगर्ने ।
– जंकफुडको प्रयोग नगर्ने ।
– व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने ।
– कोठामा कार्पेट, राडी, कम्मलजस्ता वस्तु राख्नाले त्यसले धुलो टिप्ने तथा बालस्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने काम गर्छ ।
– कुकुर, बिरालोलगायतको भुत्लाले पनि दमरोगको संक्रमण गराउने भएकाले सकेसम्म कुकुर–बिरालो नपाल्नु राम्रो मानिन्छ ।
– बाटो हिँड्दा मास्कको प्रयोग गर्ने तथा मास्क परिवर्तन गरिरहने ।
– खानेकुरा ज्यादै चिसो नभई मनतातो खाने ।
सरकारीतवरबाट गर्न सकिने प्रयास–
– वातावरणीय प्रदूषण नियन्त्रण गर्ने ।
– धेरै पुराना सवारीसाधनको प्रयोगमा रोक लगाउने ।
– खाद्य अनुगमनमा विशेष ध्यान दिई अखाद्य वस्तुको विक्री–वितरणमा रोक लगाउने ।
– केमिकलको प्रयोगमा रोक लगाउने ।
(डा. राईसित हेल्थपोस्टले गरेको कुराकानीमा आधारित)