कोरोना रोकथाम लागि खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशतसम्म भत्ता दिइने
टोखा नगरपालिकाले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ।
नगरपालिकाको ६१ औँ नगर कार्यपालिका बैठकले स्वास्थ्यकर्मीलाई २५ देखि १ सय ५० प्रतिशतसम्म भत्ता उपलब्ध गराउने निर्णय गरेको हो।
निर्णय अनुसार कोरोना नियन्त्रणमा अग्रभागमा प्रत्यक्ष खटिने मेडिकल अधिकृत सहितको टिम र स्वाब संकलनमा खटिने प्रयोगशालाकर्मीले १ सय ५० प्रतिशत भत्ता पाउनेछन्। त्यस्तै, कोरोना नियन्त्रणमा खटिने एम्बुलेन्स चालक, सुरक्षाकर्मी, कार्यालय सहयोगी र सरसफाइकर्मी १ सय प्रतिशत र अन्य सवारी चालक, स्वास्थ्य शाखामा कार्यरत कर्मचारीले ४० प्रतिशत भत्ता पाउनेछन्।
नियमित सेवा प्रवाहमा खटिने स्वास्थ्यकर्मीलाई २५ प्रतिशत भत्ता दिइने नगर कार्यपालिकाको निर्णयमा उल्लेख छ। खाइपाई आएको तलब स्केलमा आइसोलेसन सेन्टर सञ्चालन भएको मितिदेखि भत्ता उपलब्ध गराउने नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले बताए।
यसैगरी, नगरपालिकाले आइसोलेसनमा रहेका कोरोना संक्रमितका लागि खाना, खाजा खर्च बेहोर्ने निर्णय गरेको छ।