समाजको दुर्व्यवहार सहेका संक्रमित डाक्टर, जसले आफैले नाबालक छोरा स्याहारे

हेल्थपोस्ट नेपाल

चितवनस्थित बहुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगाले कोरोना संक्रमणबाट मुक्त भएका छन्।

कोरोना संक्रमितको उपचार गर्दागर्दै डा. बगाले आफैलाई  संक्रमण पुष्टि भएको थियो। साउन २८ गते संक्रमण पुष्टि भएपछि उनी आफ्नै घरमा बसे।

उनीसँगै श्रीमतिलाई पनि संक्रमण भयो। नाबालक छोरालाई भने संक्रमण पुष्टि भएन।

संक्रमित भएपछि टोलवासी ‘संक्रमितको घर’ लेखिएको ब्यानर टाँस्न पुगे।

कोरोना संक्रमण भन्दा छिमेकीको यो ‘दुर्व्यवहार’ले उनको मन धेरै दुख्यो।

त्यही समुदायमा संक्रमितको उपचार गर्दागर्दै आफैलाई कोरोना सर्‍यो । अनि त्यही समुदायको दुर्व्यवहार खेप्नुपर्‍यो।

‘ममात्रै होइन, छोरा र श्रीमतीसमेत दुर्व्यवहारको शिकार भए’, उनले भने।

एकातिर आफू र श्रीमतिलाई संक्रमण अर्काेतिर समुदायको दुव्र्यवहार। तथापि उनले कोरोना परास्त गरे।

अहिले संक्रमण मुक्त भएका डा. बगालेले हेल्थपोस्ट नेपालसँग अनुभव साटेका छन्–

केही मानिसलाई कडालक्षण भाइरस देखिएर उनीहरुको मृत्युसमेत भइरहेको थियो। तर, मेरो शरीरमा कमजोर भाइरस परेछ।

संक्रमण भएपनि आफू ‘बिरामी छैन’ भन्ने सोच्नुपर्ने रहेछ। यसले आत्मबल बलियो बनाउँछ।

जो दीर्घरोगी छन्, श्वासप्रश्वासको समस्या छ उनीहरुलाई भने गाह्रो हुन्छ। यो भाइरसले बढी समस्या ल्याउने भनेकै फोक्सोमा हो।

तर, अरु समान्य मानिसले यसलाई ठूलो पीडा र चिन्ताका रुपमा लिनुपर्दैन।

यो भाइरसमा शरीरमा प्रवेश गरेपछि धेरैजसो लक्षण देखिदैँन। भाइरस देखिए पनि समान्य देखिन्छ र केही समयपछि आफैँ हराएर जान्छ।

धरेलु विधि, हर्बल औषधीको प्रयोग नेपाल र भारतमा पनि हुँदै आएको छ।

यस्ता चिजले इम्यूनिटी पावर बढाउँछन्। गुर्जो, बेसार, अदुवा र लसुन यस्ता खानेकुराले इम्यूनिटी पावर बढाउने हुँदा राम्रै हुन्छ।

मैले पनि यसबारेमा विभिन्न अनुसन्धानहरु पढेँ र प्रयोग पनि गरेँ। जसले मलाई राम्रै प्रतिफल दियो।

समान्यतया हामीले तरकारी, दालमा हालेर सेवन गरिरहेका हुन्छौँ। गुर्जोँ एक हर्बल औषधी नै रहेछ। मैले इन्टरनेटमा यसको फाइदा बारेमा पढेँ। यसले कोरोना नै निको

हुने भन्ने होइन, तर इम्यूनिटी बढाउनको लागि धेरै सहयोग गर्छ।

खाँदा त्यत्ति नमिठो पनि हुँदैन रहेछ। हामीले बिहान–बेलुका नुन पानीमा एकदुई गिलास खाने गरेका थियौँ।

भाइरसहरु धेरै जसो नाक तथा घाँटी बस्ने हुँदा नियमित रुपमा तातो पानीको वाफ लिँदा राम्रो हुन्छ।

हुनत मलाई लक्षण नदेखिएको हुनाले वाफ लिँदा सजिलो वा अप्ठयारो भन्ने भएन।

तर, रातभर सुतिरहँदा घाँटीमा, नाकपछाडी तथा श्वासनलीमा केही अप्याठारो भएको जस्तो महसुस हुन्थ्यो। तर, बिहान उठेर तातो पानीको बाफ लिँदा श्वासप्रश्वास र

श्वासनली सफा गर्नको लागि एक किसिमको फाइदा हुनेरहेछ।

धन्न नाबालक छोरालाई संक्रमण देखिएन। श्रीमतिलाई पनि संक्रमण भइसकेको थियो।

उनी पनि घरमै थिइन्। बाहिर राख्ने अवस्था थिएन। किनकि सबैले दुव्र्यवहार गरेका थिए। नाबालक छोरालाई पनि कहाँ पठाउनु?

त्यसैले घरमै थियौँ सबैजना।

संक्रमित भएर होम आइसोलेसनमा थियौँ। तर, पनि घरको काम त गर्नैपर्ने। मैले घरको सबै काम गर्दै आएको थिएँ। खाना बनाउनेदेखि सरसफाइसम्म सबै काम गरेँ।

बेला–बेला फुर्सद भएको बेला टिभी हेर्ने अनि पुस्तक पढ्ने गरको थिएँ। आइसोलेट भए पनि घरको कामले समय बितेको पत्तै भएन।

दुबैजना संक्रमित भएपनि छोरालाई खाना खुवाउने कोही थिएन। अनि उसलाई पनि आफैंले खाना बनाएर खुवाउँथे।

कोरोना भाइरसको संक्रमण भइहाले पनि यो केही होइन भन्ने सोच्नुपर्छ। आफू बिरामी नै होइन भन्ने खालको सोच ल्याउनुपर्छ।

तर, मेरो कारण अरुलाई यो भाइरस नसरोस् भन्ने कुरामा सावधान हुनुपर्छ।



Leave a Reply

Your email address will not be published.